राजनीतिमा वाद र दर्शन आवश्यक हुन्छ भन्ने ज्ञान प्राप्तिका लागि करिब १५ वर्ष लाग्यो।
करिब १० वर्षअघि विवेकशीलमार्फत राजनीतिक यात्रा शुरू गर्दा मैले 'यो वाद' वा 'त्यो वाद' बुझेकी थिइनँ। समाजको लागि केही गर्नुपर्छ भन्ने भावना थियो र राजनीति नै सबैभन्दा उपयुक्त माध्यम हो भन्ने निष्कर्ष मेरो थियो । उसो त बुझी नबुझी मैले २०५५ साल भदौ १७ गते पाँच रुपैयाँ तिरेर कांग्रेसको साधारण सदस्यताको चिर्कटो लिएको रहेछु। उतिखेर गिरिजाप्रसाद कोइराला कांग्रेसका पार्टी सभापति थिए। यसरी हेर्दा राजनीति बुझ्ने चाहना ममा सायद धेरै अघिदेखि नै थियो भन्न मिल्छ।
तर त्यति बेला सक्रिय राजनीतिमा नलागेर ‘कल्याण गृह’ नामक गैरसरकारी संस्था खोलेर समाजसेवातिर लागियो। अभिभावक नभएका बालबालिकालाई काठमाडौँमा हेरचाह र पठनपाठनको व्यवस्था गराउन जुटियो। संस्था थालेको करिब १२ वर्षपछि समाजसेवा सामाजिक परिवर्तनको लागि एउटा राम्रो बाटो भए पनि राजनीति जस्तो व्यापक रूपमा प्रभावकारी नहुने भएकोले राजनीतिमा नै छिर्नुपर्ने सोच आयो। केही सय मात्र होइन, हजारौँ र लाखौँ बालबालिका पढाउनु पर्छ भन्ने लाग्यो।
यो सबै कथा सुनाउनुको कारण छ। हामी कुनै विषय बुझ्दैनौँ वा बुझ्न चाहँदैनौँ भने त्यो कुरालाई ‘यो चाहिँदैन’ वा ‘यसको काम छैन’ भनेर पन्छाउने गर्दा रहेछौँ। राजनीतिमा वादको मुद्दा उठ्दा प्राय: यही हुन्छ। यो ज्ञान प्राप्तिका लागि आफैँलाई करिब १५ वर्ष लाग्यो। यस बीचमा राजनीति त हो तर कस्तो राजनीति गर्ने भन्नेबारे प्रष्टता चाहिन्छ भन्ने सिकियो। विवेकशीलको शुरूआती समयमा यसमा संलग्न धेरै जना अभियानकर्ता 'अभियान-अभियान' भन्दै सडकमा जान बढी रुचाउँथे। आफूले भने उतिखेर भर्खर राजनीति शास्त्रको पढाई शुरू गरेको थिएँ र विभिन्न राजनीतिक सामाजिकवाद र दर्शनबारे सिक्दै थिएँ। केही समयपश्चात् विवेकशील नेपाली दल दर्ता भएपछि ‘तिमीहरूको राजनीतिक विचारधारा के हो ? कुन वाद हो ?’ भन्ने प्रश्न उठ्न थाले। त्यसपछि हामीलाई यससम्बन्धी केही न केही भन्नुपर्ने वा स्पष्ट पार्नुपर्ने बाध्यता आयो।
तर त्यतिखेर हाम्रो समाजलाई के चाहिएको छ भन्ने थाहा थियो : आर्थिक विकास, समानता, जवाफदेही र व्यावहारिक (pragmatic) नेतृत्व। तर त्यो कसरी गर्ने भन्नेबारे पत्ता लगाउनु थियो। दुनियाँलाई स्पष्ट पार्ने क्रममा हामीले आफूहरूलाई ‘मध्यमार्गी’ र ‘आधुनिक उदारवादी’ भनेर लेख्यौँ। त्यसमा धेरै छलफल भएपश्चात् २०७१ तिर विवेकशील नेपालीको राजनीतिक धारलाई ‘समयसापेक्ष सुधार मार्ग’ (pragmatic reforms) भन्न थाल्यौँ। हामीले नारा बनायौँ, ‘शान्त र समृद्ध नेपाल हाम्रै कालमा’। नागरिक र समाजका कुनै पनि माग सम्बोधन गर्न सबैभन्दा पहिले शान्ति र समृद्धिबीच सह-अस्तित्व, सन्तुलन र सहकार्य चाहिन्छ। समृद्ध नेपाल बनाउने क्रममा विवेकशील नेपालीले व्यक्ति र समाज दुवैको हितलाई सन्तुलित र सुधारोन्मुख तरिकाले अगाडि बढाउँछ भन्ने दाबी गर्यौँ।
हाम्रो पार्टीबारे अरूलाई बुझाउँदा हामीले आफूलाई ‘मध्यमार्गी’ भन्न थाल्यौँ। तर त्यो बाटो गलत साबित भयो। धेरैले ‘यिनीहरू न लेफ्ट न राइट, केही पनि होइन’ भने। सायद त्यसै कारण होला, विवेकशील साझाको एउटा कार्यक्रममा रवीन्द्र मिश्रले ‘हामी सेन्टर लेफ्ट हो’ भने। उज्ज्वल थापाले ‘हामी लेफ्ट राइट गर्दै अघि बढ्छौँ’ भने। पछि, विवेकशील र साझाको विभाजनपश्चात् हामीले फेरि दस्ताबेजलाई परिष्कृत गराउने क्रममा विचारधारालाई ‘गतिशील मध्यमार्ग’ को नाम दियौँ। ‘मध्यमार्ग’ भन्नु अङ्ग्रेजीमा ‘मोडरेट’ हो। त्यो भनेको कुनै कुरामा चरम (extreme) पक्ष नलिने भनिएको हो। तर ‘गतिशील मध्यमार्ग’मा पनि अजेन्डाअनुसार चरम पक्षमा पनि उभिनु पर्ने अवस्था आइपर्छ। शिक्षा र स्वास्थ्यमा लेफ्टतिर ढल्किन्छ भने व्यक्तिगत अधिकारको विषयमा राइटतिर ढल्किन्छ। समग्र रूपमा धेरै विषयहरूमा ‘नव उदारवाद’ पनि भन्न मिल्छ किन कि अभिव्यक्ति स्वतन्त्रता 'गतिशील मध्यम वर्ग'को एउटा मुख्य आधार हो।
दोस्रोपटक भएको विवेकशील साझाको एकीकरणमा नगएका हामीले नेपाल विवेकशील पार्टी दर्ता गर्ने क्रममा फेरि दस्ताबेजमा काम गर्यौँ। आफ्नो अहिलेसम्मको वैचारिक अध्ययन र अनुभवको मिश्रणमा विचारधारालाई ‘र्याडिकल सेन्ट्रीजम’को नाम दियौँ। यसको नेपाली नाम ‘रूपान्तरणकारी मार्ग राख्यौँ’। यसलाई ‘अग्रपथ’ पनि भन्न सकिएला वा अरू कुनै नाम दिन सकिएला। नेपाली नामकरणको प्रयास रहिरहन्छ। कम्युनिजममा पनि ‘साम्यवादी’ भन्दा पनि ‘कम्युनिस्ट’ भन्ने शब्दले अर्थ राख्छ। यो दश वर्षे अन्तर्दृष्टिलाई बटुल्दै अध्ययन र अध्यापनको निम्ति ‘र्याडिकल सेन्ट्रीजम’को निम्न छोटो विवरण तयार गरेको छु।
१. र्याडिकल सेन्ट्रीजम गुट (blind partisanship) का विरुद्ध छ
कुनै बेला गुट चाहिन्छ तर त्यो मुद्दा/विषय/विचारमा आधारित हुनुपर्छ, कुनै व्यक्ति विशेष होइन। तसर्थ, ‘गुट’ भन्दा पनि ‘वैचारिक समूह’ भन्दा ठिक हुन्छ। पार्टीको पक्षमा बोल्नुपर्छ तर नेता विशेषको हनुमान गिरी या चम्चागिरी हुनु भएन। आफूलाई लागेको कुरा बोल्नुपर्छ, चाहे त्यो हाललाई पार्टी लाइन विपरीत किन नहोस्। यसले पार्टीलाई गलत बाटोमा जानबाट रोक्छ।
२. र्याडिकल सेन्ट्रीजम सधैँ सिक्न तत्पर छ
अरू सिद्धान्तहरूले के बोल्छ, त्यो पनि जानी राख्नुपर्छ। निरन्तर अध्ययन गर्नुपर्छ। अरूले गरेको कामबाट र विशेष गरी अरूको गल्तीबाट सिक्नुपर्छ। अरूबाट सिक्दैमा, मद्दत लिँदैमा, सहकार्य गर्दैमा गलत भइँदैन। यद्यपि, आफू आफ्नो कुरामा स्पष्ट हुनुपर्छ। आफ्नो मूल्य-मान्यतामा अडिग रहनुपर्छ।
३. र्याडिकल सेन्ट्रीजमले समस्याको समाधान खोज्दा रचनात्मक ‘out of the box’ प्रक्रिया अपनाउँछ
हामीले सधैँ यस्तै गर्दै आएको हो र यस्तै हुनुपर्छ भन्ने कट्टर विचार राख्नुहुन्न। समय र प्रविधिले नयाँ ज्ञान दिए, नयाँ तरिकाले अघि बढ्न तयार रहन्छ। प्रयासहरू शान्तिपूर्ण चाहिँ हुनुपर्छ। अभियान र कार्यक्रमहरू रचनात्मक र सन्देशमूलक हुनुपर्छ।
४. र्याडिकल सेन्ट्रीजम बीचको बाटो होइन
‘सेन्ट्रीजम’ शब्दले गर्दा ‘र्याडिकल सेन्ट्रीजम’ राजनीतिक दायरा (political spectrum) मा बीच (centre) तिर हो कि भन्ने भ्रम पर्छ। त्यो होइन। त्यसलाई त ‘मध्यम’ (moderate) भनिन्छ। र्याडिकल सेन्ट्रीजमले वामपन्थी र दक्षिणपन्थी दुवैको उत्कृष्ट संश्लेषण अपनाउँछ। मुद्दामा आधारित निर्णय लिन्छ। सामाजिक मुद्दाहरूमा र्याडिकल सेन्ट्रीजम बढी बामतिर ढल्किन सक्छ भने, वित्तीय मुद्दामा दक्षिणतिर ढल्किन सक्छ। ‘र्याडिकल’ भनेकै समस्याको जडमा गएर समाधान खोज्नु हो। यसको लागि प्रतिमान रूपान्तरण (paradigm shift) समेत ल्याउनु हो।
५. र्याडिकल सेन्ट्रीजम सन्तुलित र व्यावहारिक राजनीति गर्छ
कतिपय समस्याको एउटा मात्रै समाधान हुँदैन। फरक-फरक दृष्टिकोणबाट हेर्न आवश्यक पर्छ। तसर्थ, निर्णयहरू लिँदा व्यावहारिक र सन्तुलित हुनुपर्छ। जस्तै, शिक्षा नि:शुल्क त हुनुपर्ने हो तर कसरी व्यवस्थापन गर्ने? शिक्षा पहिला नि:शुल्क गर्ने कि स्वास्थ्य? पहिलो वर्ष शिक्षालाई प्राथमिकता राखेर अर्को वर्ष स्वास्थ्यमा ध्यान दिने कि? अर्को उदाहरण, आमाको योगदान ठूलो कि बुबाको योगदान ठूलो? यस्ता बहसमा भाग लिनुको कुनै तुक छैन।
६. र्याडिकल सेन्ट्रीजम विज्ञान र अनुसन्धानमा विश्वास गर्छ
काम गर्दा वैज्ञानिक तरिकाले र अनुसन्धानमा आधारित हुनुपर्छ। र्याडिकल सेन्ट्रीजमको सदस्यले (आदर्शको रूपमा मतदाताले पनि) समाज र राजनीतिबारे राम्रो जानकारी राखेको हुन्छ र विवेक प्रयोग गर्छ।
७. र्याडिकल सेन्ट्रीजम कानूनलाई मान्छ
र्याडिकल सेन्ट्रीजम विधि र पद्धतिलाई मान्छ। तसर्थ, देशको संविधानलाई मान्छ र त्यसको रक्षाका लागि पनि लागिपर्छ। तर, संविधानभित्र रहेको कमीकमजोरीलाई सुधार्दै अघि बढ्छ।
८. र्याडिकल सेन्ट्रीजम उत्तरदायी अभिव्यक्ति स्वतन्त्रताप्रति कटिबद्ध छ
सबै अभिव्यक्ति उत्तरदायी हुँदैनन्। बोल्नु पाउँदैमा जथाभाबी बोल्नु वा समाजले घिनलाग्दो ठानेका शब्द प्रयोग गरेर कसैको अपमान गर्नु उत्तरदायी हुनु होइन। भ्रम र गलत सूचना फैलाउनु पनि उत्तरदायी चरित्र होइन। त्यसो नगरीकन हरेक व्यक्तिले निष्पक्ष, इमानदार र रचनात्मक रूपमा आफ्नो कुरा राख्न पाउनुपर्छ। हरेक विषयमा आलोचना गर्न पाउनुपर्छ।
अन्त्यमा, र्याडिकल सेन्ट्रीजम राजनीतिक विचारधारा भन्दा पनि राजनीतिक दर्शन हो। यो व्यावहारिक जीवनशैली हो। कुनै पनि आधुनिक समावेशी संस्थाले अनुसरण गर्नसक्ने दिशानिर्देश हो।
नेपाल विवेकशील पार्टीकी संस्थापक अध्यक्ष कर्मा तामाङ युनिभर्सिटी अफ बर्मिङघम, बेलायतबाट राजनीतिशास्त्रमा विद्यावारिधि गर्दैछिन्।
Twitter : @karmatamang
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
