राजधानीको जीवन असहज बनाउँदै किन चाँडै सुत्छ काठमाडौँ?

काठमाडौँ शहरबासीका लागि रातिको ८ बजे बासस्थानतिर लाग्ने निर्णायक घण्टी हो। सडकमा सवारीको चाप घट्दै जान्छ। पसलका सटरहरू बिस्तारै ओर्लन्छन्। बाटो रित्तो हुन्छ। र, शहर सुत्ने तयारीमा जुट्छ।

न्यूरोड क्षेत्र। तस्वीरहरू अमित मचामसी/उकालो

काठमाडौँ– बढ्दो शहरीकरणसँगै आधुनिक जीवनशैलीप्रति उत्सुक र आकर्षित पुस्ता काठमाडौँ शहरभित्र रात्रिजीवनको आनन्द र सुविधा उपभोग गर्न चाहन्छन्। तर जब ८ बजेपछि पसलका ढोका र सटरहरू बन्द हुन थाल्छन्, तब उनीहरूका रहर र आवश्यकतामा पनि ताल्चा लाग्न पुग्छ।

शहरमा उपलब्ध विभिन्न पेशा र व्यवसायमा संलग्नहरूले भिन्नाभिन्नै 'सिफ्ट'मा काम गर्ने अवसर त पाएका छन् तर जब रातमा कामबाट थाकेर तिर्खाउँदा पानी किन्ने सुविधाबाट समेत वञ्चित हुन्छन्, शहर रात्रिजीवनले भिज्नुपर्छ भन्ने चाहना राख्छन्।

सञ्जीता यूटुब कन्टेन क्रिएटर हुन्। एक साँझ काम सकेर पौने नौ बजे जब आफ्नो कोठमा पुगिन्, तीर्खाले उनका आँखा नीलो जारमाथि पर्‍यो। पिँधमा थोरै पानी देखिन्। हत्तपत्त भाँडामा खन्याएर खाली जार बोकेर सधैँ पानी ल्याउने पसलमा पुगिन्। तर पसल बन्द भइसकेको थियो। हतारिदै पसल खोज्दै कुदिन् कहीं भेटिनन् पानी। रित्तो जार बोकेर घर फर्किन्। 

उनको प्रतिक्रिया थियो ‘लाग्छ काठमाडौँ शहर कुनै दूर्गम गाउँजस्तै छ” तर उनी पानी खोज्न भौतारिरहँदा रातमा खुला एक मात्र ठाउँ देखिन् ‘दारु र दबाई’ दोकान।
शहरभित्र पसल खुला हुने पछिल्लो समय ९ बजे हो। वस्ती र टोलका पसल त ८ बजेदेखि बन्द हुन थाल्छन्।  

कलेजको प्रोजेक्ट सकेर फर्केका पवन सिंह कोठमा पुग्दा पौने ९ भइसकेको थियो। भान्साको त्यो रातो सिलिण्डिर ग्याँसविहीन पाए। नयाँ बानेश्वरस्थित संघीय संसद भवन पछाडिको टोलमा डेरा गरी बसेका उनी केही खान पाइन्छ कि भनेर एक चक्कर लगाए। लुगा सिलाउने एक पसल मात्र देखे। “लुगा पसल पनि काम विशेषले नै खोलेको जस्तो लाग्यो”, उनले भने। त्यो रात सिंह कोठामा भएको चाउचाउ खाएर भोक मेटाए। 

नयाँ बानेश्वर।

९ बज्दानबज्दै नयाँबानेश्वर रित्तिन थाल्छ। रक्सी र खाजा पसल कहीँकही भेटिन्छ। 

सिभिल अस्पताल अगाडि अण्डाको परिकार, चिया/चुरोट र गुट्खाबाहेक केही पाईंदैन। फाट्फुट् औषधी पसल, त्यही पनि बन्द हुने तरखरमा गरिरहेका। 

जनकपुरबाट काठमाडौँका लागि साँझ सात बजे उड्नुपर्ने जहाज उड्यो ८ बजे। भरत साह जहाजबाट ओर्लेर सिधै गौशाला साथीकहाँ पुगे। रिफ्रेस हुन पुरानो बानेश्वर पुगेका उनी एक सेकुवा कर्नरमा छिर्न के खोजेका थिए साहुले ‘बन्द भयो हजुर’ भने। त्यसपछि मध्यबानेश्वरको एक होटेलमा पुग्दा साहुले ‘बढीमा आधा घण्टा बस्न पाउने’ पहिल्यै शर्त राखे। त्यहाँ एक बोतल बियर पिउन नभ्याउँदै ‘प्रहरी आउने बेला भयो’ भन्दै छिटो उठ्न साहुजीले अनुरोध गरे। 

“म पनि होटेल चलाउँछु, जनकपुरमा। रातको १२ बजेसम्म खुला राख्छु। यदि कोही १२ बजेपछि आएभने सेवा दिएर मात्रै होटेल बन्द गर्छु। उनले भने “काठमाडौँमा एक बोतल बियर खानलाई पनि ठमेलै पुग्नुपर्ने?”

सातदोबाटोबाट थापाथली जानुपर्दा भोगेको अत्यास लाग्दो दिन अनिशाले भुलेकी छैनन्। रातको साढे ८ बजिसकेको थियो उनी बस कुरिरहेकी थिइन्। तर बस पाउने आश मरिसकेको थियो। रात चढ्दै थियो। 

अनिशा भन्छिन् “म यति अत्तालिएँ, कलंकीतिरबाट हुँइकिदै आइरहेको चक्रपथको बस चढ्न पुगेँ।” 

“यही यो लास्ट गाडी, अब आउने बिहान मात्रै” खलासीले भनेपछि खड्का तीनकुनेसम्मका लागि बस चढिन्। “त्यहाँदेखि हिँडेरै थापाथलीसम्म जसोतसो पुगिन्। त्यो गाडी पनि नचढेको भए हिँड्दै रात बित्ने थियो होला।” उनी भन्छिन् “साँझ हुनेबित्तिकै चराचुरुङी झैँ घर पस्छन् यहाँ सबै।”

काठमाडौँ बन्द हुने समय साँझ ८ बजे!
काठमाडौँ शहरबासीका लागि रातिको ८ बजे बासस्थानतिर लाग्ने निर्णायक घण्टी हो। सडकमा सवारीको चाप घट्दै जान्छ। पसलका सटरहरू बिस्तारै ओर्लन्छन्। बाटो रित्तो हुन्छ। र शहर सुत्ने तयारीमा जुट्छ।

नयाँबानेश्वर, माइतीघर, पुतलीसडक, डिल्लीबजार, नक्साल, न्यूरोड, कालीमाटी, त्रिपुरेश्वर, कंलकी, थापाथली, शंखमूल र कोटेश्वरजस्ता चोक साढे ९ नबज्दै सुनसान हुन पुग्छ। 

ठाउँठाउँमा सडक चेकजाँच गरिरहेका प्रहरी भेटिन्छन्, त्यो पनि १० बजेसम्म मात्र। टोल र बस्तीका गल्लीहरूमा कुकुरले राज जमाइसकेका हुन्छन्। केही रेष्टुराँमा थोरै मान्छे भेटिन्छन्।

वसन्तपुर क्षेत्र।

काठमाडौँलाई कुनै समय शासकहरूले नै रात पर्नेबित्तिकै ‘घरभित्र थुन्ने’ गरेका थिए। २०१२ सालताका काठमाडौँमा राति १० बजे र बिहान ४ बजे तोप पड्कने गरेको र रातिको तोप पड्काउँदा सुत्नुपर्ने तथा बिहानको तोप पड्काएपछि मात्र उठ्न पाइने भूपालमानसिंह कार्कीले आफ्नो पुस्तक ‘मेरो जीवनयात्रा’मा उल्लेख गरेका छन्। यसरी तोप पड्काउने चलन भने राणाकालदेखि नै चलेको हो।

यदि, कोही मानिस अबेर राति घरबाहिर निस्कनुपर्यो भने अग्रिम पास बनाउनुपर्ने नियम थियो। त्यस्तो पासलाई प्यारोल भनिन्थ्यो। प्यारोलमा त्यसलाई प्रयोग गर्ने मान्छेका संकेत–शब्द दिइन्थ्यो। त्यो संकेत सैनिक, प्रहरी र अड्डातिर कमिश्नरमार्फत दिइन्थ्यो। कसैले संकेत-शब्द भन्न सकेन भने पक्राउ गरिन्थ्यो।

दिनहुँ आधुनिक जीवनशैली पछ्याउँदै गएका शहरी समाज रात्रिजीवनको मज्जा र मस्तीमा मग्न हुन चाहन्छन् तर अहिले राति १० बजेपछि काठमाडौँको दरबारमार्ग र ठमेलबाहेक अन्त मान्छे कमै देख्न पाइन्छ।

मध्यबानेश्वर।

‘डेड सिटी’ बनेको काठमाडौँ
बजारका अधिकांश पसलहरू सम्साँझै बन्द हुन्छन्। दबाबले होइन स्वेच्छाले। 

बानेश्वरमा मासु पसल गर्दै आएका सनोज खड्गी राति ८ बजे पसल बन्द गरिसक्छन्। यही रुटिनमा चलेको पाँच वर्ष भइसक्यो “मासु लैजानेहरू साँझै लान्छन्, होटेलवालाले सबेरै। ७–८ बजे  फाट्फुट् मात्रै आउँछन्। उनीहरू आउने नआउने ठेगान नै हुँदैन। त्यसैले ८ बजे बन्द गरिसक्छु”, खड्गी भन्छन्, “प्रहरीले होइन, आफ्नै स्वेच्छाले बन्द गर्छु।”

मैतीदेवीस्थित आठ वर्षदेखि किराना पसल गर्दै आएका सुशील श्रेष्ठ बढीमा साढे ८ बजेसम्म पसल खुल्ला राख्छन्। उनी भन्छन्, “दिनभरि पसलमा बस्दाबस्दा दिक्क लाग्छ। आराम चाहिन्छ नि। केही समय परिवारलाई पनि दिनुपर्यो”

विश्वेश्वर महरा साइकलमा तरकारी राखी टोलटोलमा पुगी बेच्छन्। बारादेखि काठमाडौँ आएका उनको डेरा शान्तिनगरमा छ। “हामीले तरकारी बेच्ने बिहान र बेलुकी हो। बेलुकी त अझै साढे ७ बज्नेबित्तिकै गाहकी पाउनै गाह्रो हुन्छ। सबै घर पसिसकेका हुन्छन्” उनी भन्छन्, “साढे ७ हुनासाथ डेरै सोझिन्छु।”

काठमाडौँमा रातको ९ बजेपछि दैनिक उपभोग्य वस्तु पाउन गाह्रो छ। 

धेरै देश घुमिसकेका राजीवधर जोशी भन्छन्, “जर्मनीमा पेट्रोल पम्प नजिक ग्रोसरी पसल हुन्छ, जुन चौबीसै घण्टा खुल्ला हुन्छ। तर यहाँको ग्रोसरी पसल ९ बजे नै सबै बन्द हुन्छ। अलि ढिलासम्म खुला हुने दरबारमार्ग र ठमेल मात्रै रहेछ।”

अन्य मुलुकहरूमा राति १२–१ बजेसम्म सारा बजार खुलेका हुन्छन्। मान्छेको चापअनुसार विस्तारै बन्द गर्दै जान्छन्। तर सार्वजनिक यातायातभने रातभरि सुचारु हुन्छ। त्यहाँ यातायात सुविधा नपाएर कोही अलपत्र पर्दैनन्। रातिसम्म मेट्रो नै पाइन्छ। जोशी भन्छन् “बिच्चलीमा पर्ने चिन्ता हुँदैन्।” 

कालीमाटी।

समाजशास्त्री मिना उप्रेतीको धारणा भने अलि फरक छ। काठमाडौँ सम्साँझै बन्द हुनुमा हाम्रै दोष हो। “राति ८ बज्नासाथ पसल बन्द भइसक्छ भन्ने हाम्रो मनोदशाले गर्दा पनि खोल्न चाहने पसलेहरू चाँडै बन्द गर्न बाध्य भएका हुन्” उनी भन्छिन्, “अर्को, हाम्रो समाजले राति खोल्ने बजारलाई राम्रो नजरले हेर्दैन। राति ‘रेडलाइट’ एरियाहरू मात्र खुल्ला हुन्छ भन्ने मानसिकता छ।”

व्यापारी दुर्गाराज श्रेष्ठ काठमाडौँ साँझ नपर्दै बन्द हुनुमा– सुरक्षा, र बिहान ९ देखि ११ र बेलुकी ४ देखि ८ बजेसम्म ट्राफिकले सामान ढुवानीका गाडी चल्न नदिनु हो भन्छन्। “सरकारले नै निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न नदिएपछि पसल कसरी अबेर रातिसम्म खुलोस् ?” उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन् “व्यवसायलाई संकुचन त सरकारले गरेको हो।”

पुरानै शैलीमा पसलहरू चल्ने गरेको उनको बुझाइ छ। पसल पनि अफिसजस्तै समय पूरा हुनासाथ बन्द गरिहाल्छन्। 

तर अतिरिक्त प्रहरी महानिरिक्षक दिवेश लोहनी रेष्टुँरा, रक्सी पसल, दोहोरीघर र क्लबबाहेक अन्य पसललाई समय नतोकिएको बताउँछन्। महानगरीय इन्चार्ज लोहनी भन्छन् “पहिला प्रहरीले बन्द गराउँथे अचेल पसलेहरू आफै बन्द गर्छन्। दैनिक उपभोगका वस्तु बेच्ने पसलहरू बन्द नगर्न भनेका छौं।” 

शहरको चरित्र छैन काठमाडौँको
काठमाडौँमा ७७ जिल्लाका मान्छेहरूको बसोबास त छँदै छ, त्यसबाहेक अन्तर्राष्ट्रिय जगतका मानिसहरूको पनि बसोबास छ। 

सबै वर्गका मान्छेहरूको बसोबास रहेको देशको केन्द्रीय राजधानी काठमाडौँमा सबैले रेष्टुँरामा गएर खानै हैसियत राख्दैनन्। त्यसैले दैनिक उपभोगका वस्तुहरू किन्न बिहान साँझ पसल पसल धाउनु पर्ने हुन्छ। ती वर्गलाई साँझमा छिटो पसल बन्द हुँदा समस्या खेप्नुपरिरहेको छ।

“थाइल्याण्ड, भियतनाम र हङकङमा खाना पकाउने संस्कृति नै छैन। यहाँजस्तो घरमा पकाएर खाँदैनन्। उनीहरू बाहिरै स्ट्रिटमा खान्छन् वा ‘टेक अवे’ मार्फत आफ्नो खानाको जोहो गर्छन्, विदाको दिन फुर्सदमा मात्रै उनीहरू घरमा पकाउँछन्”, जोशी भन्छन्, “यहाँजस्तो पानी र ग्याँसको चिन्ता उनीहरूलाई हुँदैन। 

त्रिपुरेश्वर।

विकसित देशहरूको शहरमा कति बेला रात पर्छ, कति बेला बजार खुल्छ थाहा नहुने समाजशास्त्री उप्रेती बताउँछिन्। “त्यहाँ शहरको परिकल्पना नै बजार खुल्लै हुनुपर्छ भन्ने भएर राति आठै नबजी घर पसिसक्दैनन्। शहरलाई सकेसम्म चौबीसै घण्टा गतिशील बनाउँछन्, उनी भन्छिन्, “तर अविकसित मुलुकहरूमा शहरको त्यस्तो परिकल्पना नै गरिएको छैन। 

एक वर्ष भारतको नयाँ दिल्ली बसेर काठमाडौँ फर्केका गौतम झा पनि ‘काठमाडौँ चाँडै निदाउँछ’ भन्नेमा सहमत छन्। “दिल्लीमा रातिको १२–१ बजेसम्म पनि मान्छेको चहलपहल हुन्छ। दिल्लीको जस्तो ‘नाइट लाइफ’ छैन काठमाडौँमा। यहाँ त साँझ नहुँदै बाटो सुनसान हुनथाल्छ,। पसलहरू बन्द हुनथाल्छ, जसले धेरैलाई सास्ती खेप्नु परेको छ”, झा भन्छन्, “दिल्लीमा राति कसैलाई डुल्न मन लाग्यो भने यहाँजस्तो प्रहरी लाठी देखाएर धपाउन आउँदैनन्। मान्छेको स्वतन्त्रतालाई पनि ख्याल गर्छन् त्यहाँ।” 

कसरी राति खुल्ला राख्ने शहर?
गत मंसिर १५ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। समितिको बैठकले रात्रिकालीन व्यवसायलाई राति खुला राख्ने समय तोक्नेबारे छलफल गरेको थियो। 

बैठकले रक्सी पसलहरू (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउने, रेस्टुँरा राति १२ बजेसम्म, डान्स, दोहोरी रेस्टुरेन्ट, लाउन्ज र बारहरू राति २ बजेसम्म र क्लबहरू बिहान ४ बजेसम्म सञ्चालन हुन पाउने निर्णय गरेको थियो। तर अन्य पसलको हकमा समितिले कुनै निर्णय गरेन। 

तीनकुने, कोटेश्वर।

“रमाइलो भनेको रेष्टुँरा र क्लब जानुमात्रै हो ? मलाई परिवारसँग ११ बजे राति स्वयम्भू जान मन लाग्यो भने पाउने कि नपाउने ? काठमाडौमा यतिका सम्पदाहरू छन् तर राति १० नबज्दै प्रहरीले सबैलाई धपाउँछन्।”, जोशी भन्छन्, “यहाँ नाइट लाइफको अभ्यास नै भएको छैन। हुनेखानेलाई जति बेला जे पनि उपलब्ध भइहाल्छ, सास्ती भनेको सर्वसाधरण नागरिकलाई न हो।”

प्रमुख जिल्ला अधिकारी उपाध्याय भने अन्य पसल पनि राति अबेरसम्म खोल्न दिन सकारात्मक रहेको बताए। 

उनका अनुसार पीडित पक्षले हालसम्म त्यस्तो सास्ती वा दुःख पायौं भनी उजुरी गर्न आएका छैनन्। आएमा हामी सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न तयार छौँ। 
तर अबेर राति सार्वजनिक स्थानमा जान पाउनेबारे भने छलफल चलाउने बताए।

“कुनै ठाउँ शहर भइसकेपछि चौबीसै घण्टा चलायमान हुनुपर्छ” समाजशास्त्री उप्रेतीको तर्क छ “काठमाडौँ अझै पूर्ण रुपमा शहर भइसकेको छैन। रात परेपछि सार्वजनिक सवारी नपाउनु बजार बन्द हुनुको एक कारण हो। सरकारले त्यसमा ध्यान दिनुपर्छ। सवारी चलिरह्यो भने शहर नचल्ने कुरै आउँदैन।” 

महानगर र जिल्ला प्रशासन कार्यालयले सुरक्षाको प्रत्याभूति दिई शहरलाई चौबीसै घण्टा चलायमान बनाउनुपर्ने जोशीको तर्क छ। झा भन्छन् “शहर अबेर रातिसम्म जाग्दा शहरलाई नै फाइदा हुन्छ”

“निम्न वर्गले पठाओ, इनड्राइभ वा टुटल सधैँ चढ्न सक्दैनन्। सिमित आयस्रोतमा दैनिकी चलाउनुपर्छ। हरेक दिनजसो राति सार्वजनिक यातायात नपाएर सास्ती खेपीरहेको साँझ परेपछिको भीड हेरेर अनुमान लगाउन सकिन्छ” अनिशा भन्छिन्।