नेप्से परिसूचक १४.१७ अङ्कले बढ्यो

बिहीबार परिसूचक १४.१७ अंकले बढेर २७२६.१७ को विन्दुमा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १४ दशमलव १७ अङ्कले बढेर दुई हजार ७२६ दशमलव १७ को विन्दुमा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९८ अङ्कले बढेर ४७१ दशमलव ३० मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले बढेर १८६ दशमलव ५८ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अङ्कले बढेर १५९ दशमलव ७३ मा पुगेका छन्।

आज विभिन्न कम्पनीका एक करोड ७७ हजार २२२ कित्ता सेयर रु चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० बराबरमा खरिदबिक्री भएका छन्। आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा दुई वटाको घटेको छ। कुल १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज एभरेस्ट कलर लिमिटेड, स्नो रिभर लिमिटेड र अपोलो हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर र रिलाइन्स स्पिनिङ मिल्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन्।