नासाले सार्वजनिक गर्‍यो बृहस्पतिका रोमाञ्चक तस्वीर

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहका नयाँ तस्वीरहरू सार्वजनिक गरेको छ। नासाले जेम्स वेब टेलिस्कोपबाट ती तस्वीर खिचेको हो।

काठमाडौं- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहका नयाँ तस्वीरहरू सार्वजनिक गरेको छ।  नासाले जेम्स वेब टेलिस्कोपबाट ती तस्वीर खिचेको हो। जेम्स वेब विश्वमा अहिलेसम्म बनेको सबैभन्दा शक्तिशाली र जटिल टेलिस्कोप हो। नासाका अनुसार वेबले सौर्यमण्डलका रहस्यहरू खोतल्ने छ र धेरै टाढा रहेका तारामण्डलभन्दा परको संसार नियाल्ने छ।

बृहस्पतिमा धेरै वेगमा चल्ने हावा र विचित्र आभा रहको छ। यो ग्रहमा अति गर्मी र अति चिसो दुवै हुन्छ। वायुमण्डलको दबाब पनि अति नै हुन्छ। वेब टेलिस्कोपका तस्वीरहरूले वैज्ञानिकलाई बृहस्पति ग्रहको आन्तरिक जीवनबारे धेरै जानकारी दिएको छ।

“(यी तस्वीरहरू) यति धेरै राम्रा होलान् भनेर हामीले सोचेका पनि थिएनौं,” वर्केलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका खगोलविद् इम्के दि पेटर भन्छिन्। उनले पेरिस वेधशालाका थिएरी फुसेसँग मिलेर बृहस्पतिलाई नियालेकी थिइन्। “हामी वृहस्पतिमा रहेका घेरा, साना उपग्रह र आकाशगंगा पनि एउटै तस्वीरमा देख्न सक्छौं। यो साँच्चिकै उल्लेखनीय कुरा हो,” उनले भनेकी छिन्।

यो तस्वीर अलि चौँडा छ। यसमा बृहस्पतिका हल्का घेराहरूका साथै दुई चन्द्रमा, अमाल्थेया र एड्रास्टेया देखिन्छन्। तस्वीरका छेउछाउमा रहेका ससाना विन्दुहरू आकाशगंगा हुन्।

हालै नासाको युनो अन्तरिक्ष यानले बृहस्पतिको विविध रंग, संरचना तथा बादल नियालेको छ। २०७९ असार २१ गते युनो यान बृहस्पतिको नजिकै पुगेको थियो र यसले खिचेको तस्वीर नासाले २०७९ भदौ १५ गते सार्वजनिक गरेको थियो। बायाँको तस्वीर मानव आँखाले जस्तो देख्छ त्यस्तै उतारिएको छ भने दायाँतिरको तस्वीर बुझ्न सजिलो हुने गरि सुधारिएको छ।