विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिको विजयी, दक्षिण अफ्रिका २–० ले पराजित

सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको विजयी भएको छ।

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिको विजयी, दक्षिण अफ्रिका २–० ले पराजित
रोयटर्स

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको विजयी भएको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरूआत गरेको हो।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको खेलमा जुलियन क्विनोनेसले नवौं मिनेटमै गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बने। दोस्रो हाफमा राउल जिमेनेजले थप एक गोल गरेपछि मेक्सिकोले २–० को सहज जित निकाल्यो।

खेलमा गोलभन्दा बढी रातो कार्ड दिइएको थियो। दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वाने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली नौ खेलाडीमा सीमित भएको थियो। खेलको इन्जुरी समयमा मेक्सिकाका सेजर मोन्टेसले पनि रातो कार्ड पाए। 

यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा तीन अंक जोडेको छ। समूहमा मेक्सिकोसँगै दक्षिण कोरिया, चेकिया र दक्षिण अफ्रिका रहेका छन्।