सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट

सरकारले चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले आकार बढाएर आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट विनियोजन गरेको छ।

काठमाडौँ– सरकारले चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले आकार बढाएर आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट विनियोजन गरेको छ। 

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत छुट्याइएको अर्थमन्त्रीले बताए। “यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले बढी हो,” उनले भने।

उक्त खर्च ब्यहोर्ने स्रोतमध्ये राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ संकलन गरिने छ। यसबाट हुन आउने ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ न्यूनता पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ परिचालन गरिने बजेटमा उल्लेख छ।

चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरेको थियो। जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँको व्यवस्था गरिएको थियो।