एसियन गेम्स छनोटमा चीनविरुद्ध नेपालको जित

क्वालालम्पुरमा सम्पन्न खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो।

काठमाडाैँ– एसीसी महिला टी–२० एसियन गेम्स छनोटको समूह ‘बी’ मा रहेको नेपालले चीनलाई १९ रनले हराउँदै विजयी शुरूआत गरेको छ।

मलेसियाको क्वालालम्पुरमा बुधबार सम्पन्न खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो। योसँगै २ अंक जोडेको नेपालले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

नेपालको जितमा रिया शर्माले २ विकेट लिइन् भने मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट हात पारे।

चीनका लागि कप्तान मिङयुए झुले सर्वाधिक ३० रन बनाइन् भने वाङ हुईयिङले २१ तथा वेई हाईटिङले १८ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान पूजा महतोको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। नेपालको इनिङ्समा पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रनको योगदान दिइन्। सोनी पाख्रिनले १८ तथा रुबी पोदार अविजित २२ रन बनाइन्।

चीनकी मा रुइकेले २ विकेट तथा वाङ हुईयिङ र जियापिङ लीले समान १–१ विकेट लिएका थिए।