नेप्से परिसूचकमा १६.३८ अंकको सुधार, ४ अर्ब ४९ करोडको शेयर कारोबार

शुक्रबार नेप्से परिसूचक १६.३८ अंकले उकालो लागेर २,७५८.४९ को बिन्दुमा पुगेको छ भने ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.३८ अंकले उकालो लागेर २,७५८.४९ बिन्दुमा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.४० अंकले उकालो लागेर ४७१.८९ मा पुगेको छ।

आज कुल ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँ‍मा खरिद–बिक्री भएको छ।

कारोबार भएकामध्ये २०३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने ५७ कम्पनीको मूल्य ओरालो लागेको छ। बाँकी ८ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। त्यस्तै रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

आजको कारोबारबाट क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुङ्गल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।

यता एनआइसी एशिया ब्यालेन्स फण्ड, ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर–२०९१, सानिमा बैंक डिबेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्।