नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको प्रतिष्ठित अवार्ड हो।

नेपालगन्ज– वर्ल्ड रनिङको साझा संस्था 'एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस' (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको 'एम्स सोसल अवार्ड' प्रदान गर्ने निर्णय गरेको छ।

संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको प्रतिष्ठित अवार्ड हो। नर्वेको ट्रम्सोमा यही जुन १८–२० मा हुने एम्सको २५औं वर्ल्ड कंग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ। छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए।

यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्यान्ड)ले यो अवार्ड प्राप्त गरेका थिए।

विविध कारणले बीचमा केही वर्ष रोकिएको यो अवार्ड यस वर्षदेखि निरन्तर प्रदान गर्न लागिएको हो। नेपालगन्ज म्याराथनले विभिन्न अवधारणामा निरन्तर काम गरिरहेको विषयलाई मूल्यांकन गर्दै यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको भन्दै ठकुरीले खुसी व्यक्त गरे।

"हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौं" उनले भने, "यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई उर्जा दिनेछ। नेपाललाई विश्वभर चिनाउने छ।" नेपालको रनिङमा निरन्तर लागिरहेको मूल्यांकन गर्दै गत वर्ष एम्सले ठकुरीलाई नेपालका लागि आधिकारिक दूतसमेत नियुक्त गरेको थियो।

नेपालगन्ज म्याराथन २०१५ देखि सन्चालन हुँदै आएको दौड हो। कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो। माओवादी सशत्र द्वन्द्व विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा शुरू गरेको हो।

नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा रहेका छन्। स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्या, रात्रिकालीन सुरक्षा, नेपाली सम्पदाको प्रचारलगायत अनेक विषयलाई महत्व दिँदै नेपालगन्ज म्याराथनले दाैड आयोजना गर्दै आएको छ।

गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो। जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए। यसवर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइल समेत शुरू गरिँदै छ। यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ।