नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब २९ करोडमा सीमित

बिहीबार शेयर बजार परिसूचक नेप्से १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा झरेको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट देखियो। नेप्से १०.०७ अङ्कले ओरालो लागेर २७३०.१७ को विन्दुमा खुम्चिएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.३४ अंकले घटेर ४६७.२० मा सीमित भयो।

बजारमा आज ३३७ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँमा खरिद-बिक्री भए। नेप्सेका अनुसार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा रहे।

आजको कारोबारमा युनियन हाइड्रोपावर, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआइबीएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाए। त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सज लाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्।