गान्तोकमा ‘माटो कवि’ जीवन थिङको मूर्ति अनावरण

भारतको गान्तोकमा कवि तथा साहित्यकार जीवन थिङको मूर्ति स्थापना गरिएको छ।

काठमाडौँ- भारतको गान्तोकमा कवि तथा साहित्यकार जीवन थिङको मूर्ति स्थापना गरिएको छ। गान्तोकस्थित जीवन थिङ मार्गमा निर्माण गरिएको मूर्तिको अनावरण गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया ले गरेकी हुन्।

अखिल सिक्किम तामाङ बौद्ध संघको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले जीवन थिङले नेपाली साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। कार्यक्रममा कवि तथा पत्रकार प्रवीण खालिङले थिङले छोटो जीवनमै अन्तर्राष्ट्रिय स्तरको साहित्यिक पहिचान बनाएको बताए।

समारोहमा नेपाली साहित्य परिषद् सिक्किम, सिक्किम एकेडेमी तथा विभिन्न साहित्यिक–सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।