नेप्से परिसूचकमा ३८ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार

नेप्से परिसूचक ३८.१९ अंकले बढेर २,७८३.८५ को बिन्दुमा पुगेको छ भने चार अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८.१९ अंकले उकालो लागेर २,७८३.८५ मा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १.३९ प्रतिशतको वृद्धि हो।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ६.०८ अंकले बढेर ४७३.४१ मा पुग्यो। आज कारोबार भएकामध्ये कुल २४७ कम्पनीको शेयर मूल्य बढ्यो भने १८ कम्पनीको मूल्य ओरालो लाग्यो। यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज कुल १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता हेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँमा कारोबार भयो। उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहे।

यस्तै, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। अर्कातर्फ, त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैंकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन्।