इरानले विश्वकप खेल्ने, अघि सार्‍यो १० शर्त

इरानले सुरक्षा र कूटनीतिक चासोलाई सम्बोधन गरिनुपर्ने १० वटा शर्तअघि सार्दै सन् २०२६ को फिफा विश्वकपमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।

फाइल तस्वीर

इरानको फुटबल संघले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ। इरानी टोलीले मध्यपूर्वको वर्तमान तनावपूर्ण अवस्थालाई संकेत गर्दै आयोजकले आफ्ना केही शर्त सम्बोधन गर्न तयार हुनुपर्नेसमेत उल्लेख गरेको छ।

इरानी संघका अध्यक्ष मेहदी ताजको सम्बन्ध इरानको सेनाको वैचारिक शाखा 'इस्लामिक रिभोलुसनरी गार्ड कोर' (आईआरजीसी)सँग रहेको भन्दै क्यानाडाले गत महिना फिफा कंग्रेसमा उनलाई प्रवेश अनुमति दिन अस्वीकार गरेपछि अन्योल सिर्जना भएको थियो। सोही अन्योलबीच इरानको यो भनाइ सार्वजनिक भएको हो।

जुन ११ देखि जुलाई १९ सम्म हुने प्रतियोगितामा इरानको उपस्थिति अमेरिका र इजरायलको द्वन्द्वपछि फेब्रुअरीमा मध्यपूर्वमा शुरू भएको युद्धका कारण अनिश्चिततामा परेको थियो।

“हामी सन् २०२६ को विश्वकपमा अवश्य सहभागी हुनेछौँ, तर आयोजकले हाम्रा चिन्तालाई मनन गर्नुपर्नेछ,” इरानी महासंघले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ, “हामी विश्वकपमा भाग लिनेछौँ, तर आफ्नो आस्था, संस्कृति र मान्यताबाट पछि हट्ने छैनौँ।”

इरानी फुटबल महासंघ (एफएफआईआरआई)का अध्यक्ष ताजले शुक्रबार सरकारी टेलिभिजनसँग कुरा गर्दै तेहरानले विश्वव्यापी प्रदर्शनमा भाग लिनका लागि १० वटा सर्त राखेको बताए। ती शर्तहरूमा राष्ट्रिय टोलीका सबै कर्मचारीलाई भिसा प्रदान गरिनुपर्ने, प्रतियोगिताका क्रममा टोलीको झन्डा र राष्ट्रिय गानको सम्मान गरिनुपर्ने तथा विमानस्थल, होटल र रंगशाला जाने मार्गमा उच्च सुरक्षा हुनुपर्ने माग समावेश छन्।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबिओले प्रतियोगितामा इरानी फुटबलरहरूलाई स्वागत गरिने बताएका छन्। उनले भने, “अमेरिकाले आतंकवादी संगठनका रूपमा घोषणा गरिएका र अहिले पनि आईआरजीसीसँग प्रत्यक्ष सम्बन्ध भएका प्रतिनिधिमण्डलका सदस्यहरूलाई भने प्रवेशमा रोक लगाउन सक्छ।”

इरानी फुटबल प्रमुख ताजले सबै खेलाडी र प्राविधिक कर्मचारीहरू, खासगरी आईआरजीसीका तर्फबाट सैन्य सेवा पूरा गरेका मेहदी तारेमी र एहसान हजसाफीलाई बिनाकुनै अवरोध भिसा दिइनुपर्ने माग गरेका छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले इरानका खेलहरू निर्धारित तालिका अनुसार नै अमेरिकामा हुने स्पष्ट पारेका छन्। विश्वकपका लागि एरिजोनाको टक्सनमा रहने इरान समूह ‘जी’मा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँगै रहेको छ। इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग खेल्नेछ।

शनिबार इरानले पुनः जोड दिँदै भनेको छ, “कुनै पनि बाह्य शक्तिले योग्यताका साथ छनोट भएको इरानलाई विश्वकपमा सहभागी हुनबाट वञ्चित गर्न सक्दैन।”