ओमानमाथि नेपालको ८१ रनको जित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ।

काठमाडौँ– गुलसन झाको घातक बलिङ र आसिफ शेखको उत्कृष्ट ब्याटिङको मद्दतले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। ओमानका लागि हम्माद मिर्जाले ३४ (५१ बल) र विनायक शुक्लाले ३६ रन (४१ बल) को योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालको जितमा तीव्र गतिका बलर गुलसन झाले उत्कृष्ट प्रदर्शन गरे। उनले ९ ओभरमा मात्र ४.२२ को इकोनोमी रेटमा ३८ रन खर्चेर ५ विकेट लिए। यस्तै, करण केसी, नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले ९७ बलमा ७ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ९४ रन जोडे। उनी खेलको 'प्लेयर अफ द म्याच' समेत चुनिए।

अन्य ब्याटरमा अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए।

ओमानका तर्फबाट बलिङमा नदीम खानले ३ विकेट लिए भने शकील अहमदले २ र जितेन रामानन्दीले १ विकेट लिए।