जोमसोममा निर्माणाधीन कभर्ड हल २ वर्षदेखि अलपत्र

मुस्ताङको जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल बजेट अभावका कारण निर्माणकै चरणमा अलपत्र परेको छ।

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र छ। सरकारले दीर्घकालीन महत्त्वको ‘एक स्थानीय तह, एक खेलग्राम’ सहितको कभर्ड हल पूर्वाधारका लागि बहुवर्षीय आयोजना अघि बढाएको हो।

हाल उक्त कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ। आर्थिक वर्ष २०७६/७७ मा जोमसोममा सुविधासम्पन्न दुईतले बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु गरिएको थियो। सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणाधीन जोमसोमस्थित यो हलको काम विगत दुई वर्षदेखि रोकिएको छ।

कभर्ड हलको लागत ६ करोड ५८ लाख रुपैयाँ तय गरिएको छ। इनडोर खेलमैदानलगायत विभिन्न पूर्वाधारको व्यवस्थापन गर्ने गरी निर्माण थालिए पनि सङ्घ, प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा पर्याप्त बजेट नहुँदा निर्माण सम्पन्न हुन विलम्ब भएको हो।

समयमा बजेट सुनिश्चितता नहुने र विनियोजित रकम लागत अनुपातभन्दा न्यून हुँदा कभर्ड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिए। आयोजना सुरु भएको ६ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत मात्र रहेको उनले उल्लेख गरे। निर्माणाधीन आयोजना कार्यान्वयनमा आएको पहिलो वर्ष सङ्घीय सरकारबाट ४० लाख, प्रदेशबाट ५० लाख र घरपझोङ गाउँपालिकाको समपूरक बजेट १५ लाख रुपैयाँ लागत साझेदारी गरिएको थियो।

यसैगरी आव २०७७/७८ मा प्रदेश सरकारबाट २५ लाख र स्थानीय तहबाट १७ लाख गरी ४२ लाख रुपैयाँ बजेट विनियोजन भएपछि निर्माणलाई निरन्तरता दिइएको थियो। "आव २०७८/७९ मा सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी ३२ लाख रुपैयाँ विनियोजन भएको थियो। आव २०८०/८१ मा पनि सङ्घीय सरकारबाट ३२ लाख र स्थानीय तहको समपूरक बजेट २० लाख गरी ५२ लाख रुपैयाँ बजेट विनियोजन भयो," इन्जिनियर बमले भने। पछिल्लो समय घरपझोङमा निर्माणाधीन कभर्ड हलमा २ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए।

निर्माण सुरु भएको ६ वर्ष पुग्दा कभर्ड हलमा प्यारापिट र भुइँतलाको स्ट्रक्चर निर्माण भएका छन्। समग्रमा कभर्ड हलको दुई तलाको संरचना तयार भइसकेको छ। हलको भित्र र बाहिर विभिन्न कक्षका कोठाहरू निर्माण भएका छन् भने फलामे ढोका पनि जडान गरिएको छ।

जोमसोम खेल मैदानमा ७०० देखि ८०० दर्शक अट्ने गरी निर्माण भइरहेको इन्जिनियर बमले जानकारी दिए। दुई तले कभर्ड हलको नमुना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको थियो।

उनका अनुसार यसको लम्बाइ ४५ मिटर र चौडाइ २५ मिटर हुनेछ। जोमसोममा निर्माणाधीन कभर्ड हलमा इनडोर भलिबल खेल मैदान, अफिस कोठा, चेन्जिङ रुम, प्यारापिट, भीआईपी कक्ष, मेडिकल हल र शौचालयलगायत पूर्वाधार निर्माण हुने योजना छ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माण सम्पन्न गर्न सङ्घीय र प्रदेश सरकारसँग बजेट माग गरिए पनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेको बताए। स्थानीय तहले चाहेर मात्र कभर्ड हल निर्माण सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ।

मुस्ताङका पाँच स्थानीय तहमा सुविधासम्पन्न इनडोर खेल मैदान (कभर्ड हल) नहुँदा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्न कठिनाइ हुँदै आएको छ। समुद्री सतहबाट २,७०० मिटर उचाइमा अवस्थित जोमसोममा दिउँसो १२ बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउटडोर खेल सञ्चालन गर्न कठिन हुन्छ।