वर्षाले प्रभावित गरेको खेलमा ओमानसँग नेपाल पराजित

वर्षाका कारण खेल रोकिएपछि डीएलएस नियमका आधारमा नेपाल १०२ रनले पराजित भएको हो।

काठमाण्डाैँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ। वर्षाका कारण खेल रोकिएपछि डकवर्थ-लेविस-स्टर्न (डीएलएस) नियमका आधारमा नेपाल १०२ रनले पराजित भएको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए भने ओमानका नदीम खानले ३ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएयो। ओमानका कप्तान जतिन्दर सिंहले शतक जोडे। नेपालका सोमपाल कामीले ४ विकेट लिए।