गर्मी छल्न लेक उक्लिँदै म्याग्दीका घुम्ती पशुगोठ

गर्मी बढेसँगै म्याग्दीका किसानहरू हिउँदयामभरि बेँसीमा राखिएका आफ्ना घुम्ती पशुगोठलाई हिमाली भेगका लेकतर्फ सार्न थालेका छन्।

म्याग्दी–  गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशुगोठहरू हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ।

हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटहरूमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ अहिले लेकतर्फ लैजान थालिएको हो। धवलागिरि गाउँपालिका–३ हुुचिन र सोलवाङमा पाँच महिना राखिएको गोठ अहिले लेकतर्फ लैजाने क्रममा मुनाको जौबारीमा सारिएको स्थानीय किसान यामप्रसाद पुनले बताए।

“बेँसीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता–दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,” उनले भने, “पाँच हजार मिटर उचाइको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेँसी झार्ने गर्छौँ।” बेँसीबाट उकालो लागेका गोठ भदौमा हिमालको फेदीका बुकी पाटनमा पुर्‍याउने र असोजमा बेँसी झार्ने चलन छ।

गोठालाहरूले गोठ राख्ने ठाउँलाई ‘खर्क’ भनिन्छ भने लेकका चरन क्षेत्रलाई ‘बुकी पाटन’। खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेस्र्याएर त्रिपाल वा पालको मद्दतले अस्थायी गोठ बनाइन्छ। बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने परम्परा पनि छ। ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण र धवलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ। हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दूधालु हुने धवलागिरि गाउँपालिका–५ मल्कवाङका देवान छन्त्यालले बताए।

धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ; रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी; र अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्धार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले लेकतर्फ लैजानुअघि पशुहरूलाई महामारीविरुद्धको खोप लगाइएको जानकारी दिए। खोरेत, पिपिआर, भ्यागुते, चरचरे र रेबिज रोगबाट बचाउन गण्डकी प्रदेशको ‘पशुमा पूर्णखोप कार्यक्रम’ मार्फत निःशुल्क खोप लगाइएको उनले बताए।

प्रदेश सरकार र स्थानीय तहले घुम्ती गोठ निर्माणका लागि अनुदानको व्यवस्था गरे पनि नीतिगत समस्याका कारण किसानले सुविधा पाउन सकेका छैनन्। युवा पुस्ताको बेवास्ता र वैदेशिक रोजगारीका कारण परम्परागत पशुपालन सङ्कटमा परेको छ।

लेकाली क्षेत्रमा व्यक्तिगत जग्गा नभएको र सार्वजनिक जग्गामा संरचना बनाउँदा हुने खर्चमा महालेखा परीक्षक तथा अख्तियारको चासो रहने भएकाले विनियोजित बजेट परिचालन गर्न कठिन भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।