९ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कूल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो।

काठमाडौँ- नेपालमा स्मार्टफोनको आयातमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ।

भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कूल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो। यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। गत आवको सोही अवधिको तुलनामा यस वर्ष स्मार्टफोन आयातको ग्राफ निकै माथि देखिएको छ। विभागका अनुसार गत वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो।

उक्त समयमा १५ लाख ८४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका थिए। गत वर्षको तुलनामा यस वर्ष स्मार्टफोन आयातको संख्यामा करिब ९० हजार थानले वृद्धि भएको छ भने मूल्यका आधारमा झन्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ।

तथ्यांकलाई हेर्दा नेपाली बजारमा महँगा र आधुनिक स्मार्टफोनको माग बढ्दै गएको देखिन्छ। सरकारले विलासिताका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटेसँगै र बजारमा नयाँ मोडलका फोनहरूको उपलब्धता बढेसँगै स्मार्टफोन आयातको तथ्यांक उकालो लागेको हो।