कोलोराडोमा ‘नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा आगामी जेठ ८ देखि ११ गतेसम्म नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ।

कोलोराडो (अमेरिका)– आगामी जेठ दोस्रो साता अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ। आयोजक संस्था अनेसासले शनिबार कोलोराडोमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले नेपाली भाषा र साहित्यको प्रवर्द्धन, संरक्षण र विश्वव्यापीकरण गर्ने उद्देश्यले दुई-दुई वर्षमा यस्तो सम्मेलन गरिँदै आएको बताए। उनले डायस्पोराका युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे।

सम्मेलन आयोजनाका लागि करिब ५० हजार डलर खर्च हुने अनुमान गरिएको छ। सम्मेलन कोलोराडोको वेष्टमिनिष्टरस्थित ‘होटल ड्रुरी इन प्लाजा’ मा चार दिनसम्म सञ्चालन हुने अनेसास बोर्ड अफ ट्रष्टी (बीओटी) का सभापति पदम विश्वकर्माले जानकारी दिए। उक्त सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका नेपाली र अङ्ग्रेजी साहित्यका लेखकहरूको सहभागिता रहनेछ। नेपाली भाषाका साथै विभिन्न समुदायका मातृभाषाको जगेर्नामा पनि सम्मेलनले जोड दिने सभापति विश्वकर्माले बताए।

अनेसासका महासचिव राजु सिटौलाका अनुसार सम्मेलनमा विश्वका ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने अपेक्षा गरिएको छ। नेपाली साहित्यका साथै विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा पनि त्यहाँ छलफल गरिनेछ।

सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ। च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलन सफल पार्न नौ वटा उपसमिति गठन गरिएको जानकारी दिए। उनले सम्मेलनका लागि आवश्यक बजेट स्थानीय नेपाली समुदाय, विभिन्न संघसंस्था र स्रष्टाहरूको सहयोगबाट जुट्ने बताए।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चार दिनसम्म चल्ने सम्मेलनको तीन दिन विभिन्न साहित्यिक सत्रमा छलफल हुनेछ भने अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको भ्रमण गराइनेछ।