बहुवर्षीय धानको बिउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।

काठमाडौँ– हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बिउ रोप्दै आएका छन्। तर अब यो परम्परा बदलिने संकेत देखिएको छ।

चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ।

चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा दीर्घायु जीन पहिचान गरेको हो। उनीहरूले उक्त जीनलाई आधुनिक खेती गरिने धानमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन्। यसबाट धानको यस्तो नयाँ प्रजाति तयार भएको छ, जुन फसल काटिसकेपछि पनि मर्दैन।

चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ। धान पाकेर काटिसकेपछि पनि बोट सुकेर जानुको सट्टा फेरि नयाँ पालुवा र मुनाहरू पलाउने गरेका छन्।

यस अनुसन्धानका प्रमुख वैज्ञानिक हान बिन भन्छन्, "हाम्रो धानले वर्षमा दुई देखि तीन पटकसम्म उत्पादन दिन्छ। अहिलेसम्मको परीक्षणमा एउटै बोट दुई वर्षसम्म जीवित रहन सफल भएको छ। धानको बाला पाकेपछि, त्यसको छेउबाट फेरि नयाँ मुनाहरू निस्कन्छन्। यसमा रहेको दीर्घायु जीनले यसलाई सधैं जवान राख्न मद्दत गर्छ।"

वैज्ञानिकहरूका अनुसार यो बहुवर्षीय धान विशेषगरी पहाडी र भिरालो जमिनका लागि निकै उपयोगी हुनेछ, जहाँ ठूला कृषि मेसिनरीहरू लैजान कठिन हुन्छ। यसले किसानको लागत र मिहिनेत दुवै बचाउने अपेक्षा गरिएको छ।

यस सम्बन्धी अध्ययन प्रतिवेदन मार्चको अन्त्यमा प्रसिद्ध वैज्ञानिक जर्नल साइन्समा प्रकाशित भएको थियो। यो सफलताले भविष्यमा विश्वको खाद्य सुरक्षामा ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ। –सीसीटीभी