श्रवण मुकारुङको उपन्यास ‘सलह’ लोकार्पण

कवि तथा गीतकारका रूपमा स्थापित श्रवण मुकारुङले पहिलो उपन्यास 'सलह' बजारमा ल्याएका छन्।

काठमाडौँ– साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ लोकार्पण गरिएको छ। कवि र गीतकारका रूपमा चर्चित मुकारुङ यसपटक आख्यानकारका रूपमा प्रस्तुत भएका हुन्।

शनिबार बिहान नेपालयको आरशालामा आयोजित एक विशेष समारोहबीच आफ्नो पहिलो उपन्यास सार्वजनिक गर्दै मुकारुङले सुरुमै हलबाहिर बसेर सुन्नेहरूलाई सम्बोधन गरे। उनले भने, “म बाहिर पारिएकाहरूको लेखक, सीमान्तको लेखक; सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु।” लोकार्पणमा पाठकहरूको अत्यधिक उपस्थिति भएपछि आयोजकले थप स्थानको व्यवस्था गर्नुपरेको थियो।

उनले कार्यक्रममा आफ्नो ४० वर्ष लामो साहित्यिक यात्रा स्मरण गर्दै आफू सुरुदेखि नै विभिन्न विधामा छरिएको बताए। “निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास 'सलह’ लिएर आएको छु। लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दा रहेछन्। यो विषयले नै मलाई उपन्यास 'सलह’ लेखायो,” उनले भने।

आफ्नो बाल्यकालको स्मृति सुनाउँदै मुकारुङले थपे, “स्मृति र कल्पनाले नै मानिसलाई बचाउने गर्छ। उदयपुरको झोडामा रहँदा टुकीको उज्यालोभन्दा ठूलो उज्यालो खोज्ने क्रममा मैले झुपडी नै जलाएको थिएँ।” २०६२/०६३ को जनआन्दोलनताका ‘बिसे नगर्चीको बयान’मार्फत चर्चामा रहेका उनले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै राजनीतिक आन्दोलनतर्फ पनि सङ्केत गरे।

नेपालयका सम्पादक विमल आचार्यले मुकारुङको आगमनले नेपालय र नेपाली आख्यान क्षेत्र थप गरिमामय बनेको विचार व्यक्त गरे। उनले भने, “साहित्यलाई विचार र शैली दुवै हिसाबले गरिमामय बनाउने श्रवण मुकारुङको ‘सलह’ले उनलाई आख्यानकारका रूपमा पनि स्थापित गर्नेछ।”

मुकारुङले आफ्नो पुस्तक सङ्गीतकार कालीप्रसाद बाँस्कोटा, निर्देशक रामबाबु गुरुङ र श्रीमती गीता थापा मगरलाई उपहार दिएर लोकार्पण गरेका थिए। ४३६ पृष्ठको ‘सलह’को मूल्य ९९५ रुपैयाँ तोकिएको छ। यो पुस्तक देशका प्रमुख पुस्तक पसलहरूका साथै ‘थुप्रै डट कम’ वा अमेजनमार्फत पनि किन्न सकिने नेपालयका अर्पण शर्माले जानकारी दिए।

चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता सङ्ग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीतसङ्ग्रहलगायत प्रकाशित छन्। मुकारुङ पाँच वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृङ्खला 'ई–कविता' पनि संयोजन गरिरहेका छन्।