गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धिमा प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
फाइल तस्वीर

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ। नयाँ सरकार गठन भएलगत्तै गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो।

चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विन्टल र २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको हो। यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो। 

१८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ। गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विन्टल ५५ रुपैयाँ ८० पैसा वृद्धि भएको हो। 

गत आर्थिक वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धानको २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विन्टल रुपैयाँ थियो। सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धिमा प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।