भक्तपुरमा आजदेखि बिस्का जात्रा शुरू

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि शुरू हुँदैछ।

भक्तपुरमा आजदेखि बिस्का जात्रा शुरू
फाइल तस्वीर

काठमाडौँ-भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि शुरू हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथ घट्खा टोलतर्फ लगिँदै भैरवनाथको रथ (भैलखः) तानातान गरेर जात्राको औपचारिक शुरूआत गरिन्छ।

नौ दिन आठ रातसम्म चल्ने यस जात्रामा भैरवनाथ र भद्रकालीका रथ तान्ने, यसींद्योः (लिङ्गो) उठाउने तथा नयाँ वर्षको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने परम्परा छ। जात्राको मुख्य आकर्षण भैलखः तानातान र भेलुखेलस्थित ल्यसिङखेलमा यसींद्योः उभ्याउने कार्यक्रमलाई मानिन्छ।

यस अवधिभर भक्तपुरका विभिन्न टोलमा देवी–देवताका जात्रा, पूजा र सगुन कार्यक्रम सञ्चालन हुनेछन्।

जात्रालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सम्भावित झडप र दुर्घटना रोक्न यस वर्ष दिउँसो रथ तान्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।