प्रचण्डपथ: सत्र हजारको विरासतदेखि सत्र सिटको 'हिरासत'सम्म

१७ सिटे संसदीय उत्तीर्णाङ्क, प्रचण्डपथको सामान्य असफलता मात्र होइन; रगतको जगमा उभिएर बालुवाटारको महल रोज्नेहरूलाई इतिहासले बुझाएको अन्तिम 'राजीनामा पत्र' हो।

इतिहास अक्सर ती कृतघ्न विजेताहरूको पक्षमा लेखिन्छ, जसले भव्य महल ठड्याएपछि जगको ढुङ्गालाई फोहोर ठानेर माटोमुनि पुरिदिन्छन्। यसैको दृष्टान्तका रूपमा हेर्दा, हालै सम्पन्न निर्वाचनले नेपालको शक्ति सन्तुलनलाई यसरी उल्टाइदियो कि हिजोका महाबलीहरू आज इतिहासको बगरमा मिल्काइएका काम नलाग्ने कसिङ्गर जस्ता देखिएका छन्। यो निर्वाचन अङ्कगणितको खेलमा मात्र सीमित थिएन। यो त एउटा युगको 'मृत्यु दर्ता' जस्तो देखिन्छ, जहाँ दशकौँदेखि नेपाली राजनीतिलाई आफ्नो मुठ्ठीमा नचाउने पात्रहरू आज दर्शक दीर्घामा धकेलिएका छन्।

​यो राजनीतिक सुनामीको बीचमा एउटा अनुहार सबैभन्दा बढी छायामा परेको छ- पुष्पकमल दाहाल 'प्रचण्ड'। सत्र हजार आत्माहरूको रगतले सिञ्चित सपनाका ती कमान्डर आज १७ सिटको सुक्खा अंकमा खुम्चिएका छन्। 'विरासत' देखि 'हिरासत' सम्मको यो यात्रा केवल एउटा नेताको व्यक्तिगत पराजय होइन, बरु एउटा क्रान्तिकारी विचार कसरी संसदीय 'गुलियो विष' मा घुलेर स्वादहीन बन्न पुग्छ भन्ने कुराको वियोगान्त महाकाव्य हो।

​साझा रगत र राज्यको जबाफदेहिता
​जब हामी जनयुद्धकालिन त्यो भीषण रगतबाजीको मूल्यबारे छलफल गर्छौँ, त्यसलाई केवल तत्कालीन माओवादीको 'राजनीतिक पुँजी' मात्र मान्न सकिँदैन। ती त सत्र हजार भान्साहरूमा निभेका चुल्हो हुन्; सत्र हजार आमाका कहिल्यै निको नहुने घाउ हुन्। तीमध्ये कोही प्रचण्डले देखेको 'नयाँ संसार' निर्माणका लागि बन्दुक बोक्ने विद्रोही थिए भने कोही त्यही बन्दुकलाई रोक्न राज्यले खटाएका बफादार सिपाही। यद्यपि, माटोमा मिसिएपछि सबैको रगतको रङ्ग एउटै भयो।

​प्रचण्डको एउटा ठूलो दार्शनिक गल्ती के भयो भने, उनले 'साझा बलिदान' लाई आफ्नो 'व्यक्तिगत पेवा' जस्तो व्यवहार गरे। यसो भनिरहँदा, यो १७ हजारको भार प्रचण्डको काँधमा मात्र थोपर्नु पनि ऐतिहासिक अन्याय हुनेछ। त्यो युद्धमा राज्य पक्षबाट भएका दमन र हत्याकाण्डका नाइकेहरू पनि उत्तिकै जिम्मेवार छन्। सिंहदरबारले चलाएको 'अपरेसन' मा मारिएका निमुखा नागरिकको रगतको हिसाब प्रचण्डले मात्र होइन, तत्कालीन सत्ता सञ्चालकहरूले पनि दिनुपर्छ। आजको १७ सिटको लाचारी वास्तवमा त्यो बेलाको अहंकार र दुवै पक्षको 'अधुरो न्याय' माथिको जन-प्रहार हो।

​बुलेट, ब्यालेट र प्रविधिको प्रहार
​प्रचण्डले २०६३ सालमा हतियार बिसाएर शान्ति प्रक्रियामा आउनु नेपालको आधुनिक इतिहासको सबैभन्दा ठूलो 'जुवा' थियो। उनले जुन संसदीय व्यवस्थालाई 'खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो' भन्थे, अन्त्यमा उनी आफैँ त्यही पसलको सबैभन्दा 'बफादार सेल्सम्यान' बन्न पुगे। उनले कांग्रेस र एमाले जस्ता पुराना ढिट शक्तिलाई स्वाद दिन कहिले एकातिर त कहिले अर्कातिर ढल्किने जुन 'धनियाँ' प्रवृत्तिको अस्थिर राजनीति गरे, त्यसले उनलाई केही समयका लागि 'किङमेकर' त बनायो, तर उनको 'नैतिक धरातल' भने पूरै भत्काइदियो।

​साथै, उनको चारित्रिक पतनमा बाह्य कारक पनि उत्तिकै बलिया छन्। सूचना प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको युगले नेपाली युवाको चेतनालाई 'वर्ग संघर्ष' बाट 'ग्लोबल मार्केट' तिर मोडिदियो। टिकटक र एआईको युगमा बन्दुकको कथाभन्दा अवसर र सुशासनको खोजी बलियो भयो। आजको डिजिटल पुस्ता केवल आश्वासनको 'सफ्टवेयर' मा होइन, डेलिभरीको 'हार्डवेयर' मा विश्वास गर्छ, जसलाई प्रचण्डको 'एनालग' राजनीतिले ठम्याउनै सकेन। फलस्वरूप, 'जेनजी' विद्रोह भयो र नतिजा सबैमाझ छ। 

​ओडारको चेतना र महलको मोह
मार्क्सवादले भन्छ- "मान्छेको भौतिक अवस्थाले उसको चेतना निर्धारण गर्छ।" कुनै बेला रोल्पाका ओडारमा 'सर्वहारा' का कुरा गर्ने प्रचण्ड जब बालुवाटारका महलमा छिरे, उनको पाइला तिनै भुईँ मान्छेहरूसँग छुट्टियो। महलको विलासिता र बिचौलियाहरूको घेराबन्दीले उनको 'विद्रोही चेतना' लाई भुत्ते बनाइदियो। आश्चर्य, यो चुनावमा सोही 'सल्बार्टनहरू' ले उनको विरासत लिलामी हुनबाट बचाए। सायद, रुकुमका जनता बताउन चाहन्छन्- प्रचण्डको साध्य ठिक थियो, साधन गलत रोजे; अपेक्षा मरेको छैन, कम भएको मात्र हो। 

​माओले भनेका थिए- "पार्टीभित्रै नयाँ राजा र सामन्तहरू जन्मन्छन्, तिनलाई सधैँ बढारिरहनुपर्छ।" विडम्बना नै मान्नुपर्छ, जुन माओवादको जगमा जनयुद्ध लडे ठिक त्यसैको विपरीत प्रचण्डले पार्टीभित्र हुर्केका ती 'नव-धनाढ्य' हरूलाई बढार्नुको सट्टा संरक्षण गरे। जब नेताको सम्बन्ध जनताको भान्सासँग टुट्छ र व्यापारीको गोदामसँग जोडिन्छ, तब विचारको मृत्यु निश्चित हुन्छ। सत्रौँ हजारको बलिदानबाट प्राप्त विशाल जनमत आज खुम्चिएर केवल ७.५ प्रतिशतको 'पपुलर भोट' मा झर्नु त्यसैको प्रतिफल हो।

​पुनरागमनको झिनो आशा
​१७ सिटको आपत्कालीन संकटलाई 'स्थायी मृत्यु दर्ता' मान्नु राजनीतिमा हतारो हुन सक्छ। प्रचण्ड ती पात्र हुन्, जो खरानीबाट पनि नयाँ अवतार लिन सिपालु छन्। यो राजनैतिक संकुचन उनको अन्त्य नभएर, 'संसदीय भुलभुलैया' बाट बाहिर निस्कने एउटा कठोर 'वेक-अप कल' पनि हुन सक्छ।

​यो वियोगान्त अन्त्यबाट बच्न अब उनीसँग एउटै विकल्प छ- वैचारिक शल्यक्रिया। उनले 'सहिद परिवार' र 'बेपत्ता' का मुद्दालाई सत्ताको कार्ड होइन, आफ्नो अस्तित्वको आधार बनाउनुपर्छ। यदि उनी राजनीतिक पुनरागमन चाहन्छन् भने, अब उनले आफूलाई भोट नदिने आफ्नै कार्यकर्तालाई कारबाही गर्छु भनेर स्याल रुवाई गर्नुको सट्टा, 'रचनात्मक सल्लाहकार' को भूमिका मात्र निर्वाह गरेर नेतृत्वको लगाम नयाँ र प्रविधिमैत्री पुस्तालाई हस्तान्तरण गर्ने साहस देखाउनुपर्छ।

​निष्कर्ष: इतिहासको निर्मम न्याय
​अन्ततः पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली राजनीतिका ती पात्र हुन्, जसले आफैँलाई गलाएर देशलाई गणतन्त्रको 'अमृत' त दिए, तर विडम्बना- आज त्यही अमृत पिएर हुर्किएको नयाँ पुस्ताले उनलाई नै 'विषालु' देख्न थाल्यो। प्रचण्ड वास्तवमा त्यो एउटा 'ऐतिहासिक पुल' हुन्, जसले एउटा युगबाट अर्को युगमा देशलाई तारिदिए। खैर, पुलको एउटै महा-त्रासदी हुन्छ- मान्छेहरू यसलाई टेक्छन् र पारी पुगेपछि हठात् बिर्सिन्छन्। कोही पनि पुलको बीचमा घर बनाएर बस्दैन।

​एउटा विद्रोहीका लागि भौतिक मृत्यु भन्दा कठोर सजाय त्यहीँनेर हुन्छ, जब विस्मृतिको अँध्यारोमा हराएर असान्दर्भिकताको भुमरीमा रुमल्लिनु पर्ने बाध्यता आइलाग्छ। यसैबीच, प्रचण्ड आज १७ सिटको मधुरो दियोमुनि आफ्नो राजनीतिक शवयात्रा हेर्न विवश छन् वा नयाँ जन्मको प्रतीक्षामा, त्यो त समयले भन्ला। यद्यपि, एउटा तितो यथार्थ उनको सामुन्ने तेर्सिएको छ- इतिहासले अवसर त दिन्छ, तर अहंकार, चलाखी र विलासितालाई कहिल्यै माफी दिँदैन। तसर्थ, यो १७ सिटे संसदीय उत्तीर्णाङ्क, प्रचण्डपथको सामान्य असफलता मात्र होइन; रगतको जगमा उभिएर बालुवाटारको महल रोज्नेहरूलाई इतिहासले बुझाएको अन्तिम 'राजीनामा पत्र' हो।

(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)