यती विमान दुर्घटना : सरकारले दिएको शोक–बिदाको किन भयो आलोचना?

सरकारले सोमबार अचानक सार्वजनिक बिदा घोषणा गर्दा धेरै नागरिकको तत्काल गर्नुपर्ने काम सरकारी तथा सार्वजनिक कार्यालयबाट हुन सकेन। यसरी बिदा दिइनु गलत भएको पूर्वप्रशासकहरूसमेत बताउँछन्।

काठमाडौँ- नवराज थपलिया पछिल्लोपटक झापाबाट काठमाडौँ आएको हप्ता दिन नाघिसक्यो। उनी काठमाडौँ आउने-जाने गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा त्रुटि भएपछि सच्याउन उनी परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खु धाइरहेको लामो समय भयो। गएको शुक्रबार पनि उनको काम हुन सकेन र सोमबारका लागि बोलाइएको थियो। तर सोमबार अचानक सार्वजनिक बिदा भयो।

“एक त पनिकाभित्रको बेथितिले मलाई महिनौँदेखि दौडाइरहेको छ। सरकारको अनावश्यक बिदाले म थप पिरोलिएको छु। केही दिन काठमाडौँ अझै बस्न पर्ने भयो”, थपलिया भन्छन्, “एउटा सानो कामका लागि म हप्ता दिनदेखि होटेल र यातायात खर्च बेहोरिरहेको छु।”

आइतबार बिहान काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनाको शोकमा सरकारले आज (सोमबार) बिदा दिएको हो।

वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन धनुषाबाट बैजु मण्डल शनिबार बिहानै काठमाडौँ पुगेका थिए। आइतबार सार्वजनिक बिदा भएको उनलाई पहिल्यै थाहा भएको हुनाले उनी एक दिन आफन्तकहाँ बस्ने र तीन दिन होटेलमा बस्ने तयारीका साथ काठमाडौँ आएका थिए। तर, अचानक अर्को दिन पनि बिदा थपिएपछि उनी पिरोलिएका छन्। “अब एक दिनमा मेरो के नै काम होला र? खर्च बढ्ने भयो। बरु दुई-तीन दिन अझै आफन्तकै घरमा बस्नुपर्ने भयो”, मण्डल भन्छन्, “सोमबारको बिदाले मेरो सारा योजना चौपट बनायो।”

सोमबार अचानक दिइएको बिदाले सुरेश पोखरेल पनि रुष्ट छन्। पोखरेलले सवारी अनुमतिपत्र झिक्नका लागि शुक्रबार नै अफिसबाट सोमबारका लागि बिदा लिएका थिए। “यस्तो गम्भीर दुर्घटना भएपछि सरकार अझै काम गर्नुपर्ने होइन र?, झन् गम्भीर भएर दुर्घटनाको कारण खोतल्न कर्मचारीलाई अह्राउन छोडेर बिदा दिने हो?", पोखरेल भन्छन्, “नेपाल सरकारले दिने भनेकै त बिदा हो नि, अरू के आस गर्न सकिन्छ र?”

आइतबार विमान दुर्घटनापछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

पूर्वप्रशासक भन्छन्- बिदा दिनु गलत
सरकारले विमान दुर्घटनाको शोकमा दिएको बिदाको कतिपयले आलोचना गरेका छन्। पूर्वसचिव विद्याधर मल्लिक सरकारले बिदा दिएर क्षमा मागेको बताउँछन्। सरकारलाई गल्तीको महसुस भएपछि बिदा घोषणा गरेको मल्लिकको तर्क छ।

“सरकारले शोकको नाममा दिएको बिदा आफैँ अपराधी भएको महसुस गर्नु हो। यत्रो मान्छे मरेपछि सरकार डराएर बिदा घोषणा गरेको हो। पहिला पनि दुर्घटना भएको थियो, तर छानबिन निष्पक्ष ढंगबाट नभएको भन्दै त्यसको क्षतिपूर्तिका लागि दिइएको बिदाजस्तो लाग्छ”, मल्लिक भन्छन्, “दुर्घटना त जस्तोसुकै अवस्थामा हुनसक्छ, त्यो यकिन हुँदैन। तर विगतमा भएको दुर्घटनाहरूपछि हाम्रो प्रणालीले कुनै ठोस कदम चालेन। सरकारले जनताको ध्यान भट्टकाउन शोक बिदा दिएर सहानुभूति प्रकट गरेको हो।”

आइतबार पोखराको दुर्घटनासहित नेपालको हवाई उड्डयन इतिहासमा हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको 'एभीएसन सेफ्टी रिपोर्ट'अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा भएको यो ५०औँ दुर्घटना हो। त्यस्तै, नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा जहाज दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवाका विमान दुर्घटना भएका छन्। 

सरकारले संरचनागत सुधारलाई बेवास्ता गर्दै अनावश्यक बिदाको घोषणा गरेर देशलाई नै दुर्घटनातिर धकेलेको गृह मन्त्रालयका पूर्वसचिव आत्माराम पाण्डे बताउँछन्। पाण्डेका अनुसार सरकारले पीडितलाई राहत प्रदान गर्दै तत्काल थप सक्रियता देखाउनुपर्थ्यो। तर सरकारले बिदा दिएर छुटकारा पाउने प्रयासमा रहेको उनी बताउँछन्।

“दुखी त हामी सारा नेपाली नै छौँ नि, तर शोकका नाममा अरू जनतालाई दुःख दिनु गैरजिम्मेवारीको पराकाष्ठा हो, बिदा दिँदैमा कोही संवेदनशील हो या होइन भनेर तर्क गर्नुको कुनै तुक छैन”, पाण्डे भन्छन्, “हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुकलाई यस्तो बिदाले झन् घाटा पुर्‍याउँछ। यो त दुर्घटना भुलाउन दुर्घटना निम्त्याउनुसरह हो। सरकारले बिदाको साट्टो आवश्यक कामकारबाही तत्काल अगाडि बढाओस्।”

शोक बिदा दिए पनि सरकारले अत्यावश्यक कामकारबाहीमा रोक नलगाएको यता गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेल बताउँछन्। "दुर्घटनामा मृत्यु भएकाहरूप्रति समवेदना प्रकट गर्ने हाम्रो चलन नै हो", प्रवक्ता पोखरेल भन्छन्। 

सामाजिक सञ्जालमा पनि आलोचना
सरकारले सोमबार बिदा दिने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा चर्को असन्तुष्टि देखिएको थियो। गंगालाल अस्पतालमा कार्यरत चिकित्सक डा. रामेश कोइरालाले दुर्घटनाको नाममा दिइएको शोक बिदाको निर्णयलाई लक्षित गर्दै ट्विटरमा आलोचना गरे। कोइरालाले लेखेका छन्, “ए प्रचण्डजी, हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि सात वटा मुटुका अपरेसन क्यान्सिल गर्नु पर्छ। भएन सर, पटक्कै भएन।”

पत्रकार नारायण अमृतले पनि सरकारको निर्णयको आलोचना गर्दै राज्यले दुर्घटनाको कारण नखोजेर, दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन नगरेर बिदा दिएको कुरा बुझ्न नसकेको बताएका छन्। अमृत लेख्छन्, “सबै दुर्घटनाहरू दुखद हुन्। हवाई होस् या सडक होस्। दुर्घटनामा गुम्ने ज्यानहरू समान हुन्। राज्यले दुर्घटनाको कारण पहिल्याउने हो। दुर्घटना न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्ने हो। सुरक्षित आकाश र सडकको प्रत्याभूति दिलाउने हो। तर बिदा दिएर के सन्देश दिन खोजिएको हो, बुझिएन।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा उम्मेदवारी दिएर निकटतम प्रतिस्पर्धी बनेका सागर ढकाल पनि देशैभरि बिदा दिनु दुःखदायी भएको बताउँछन्। उनले ट्विटर लेख्छन्, “पहिले शुरू दुर्घटना आफैँमा दुःखदायी। दोस्रो, यही चाला हो भने अर्को दुर्घटना पनि छिट्टै हुने संकेत। सधैँ यही चक्र हुने निश्चित। हाम्रो १ घण्टादेखि लिएर १ वर्षसम्मको रिस्क म्यानेजमेन्ट प्रोटोकल खोइ? रिसर्च खोइ? देशभरि बिदा दिनु झन् दुःखदायी।”  

त्यस्तै, कान्तिपुर दैनिकका पूर्वसम्पादक नारायण वाग्लेले पनि सरकारको ध्यान दुर्घटना रोक्न नभई बिदामा मात्र भएको भन्दै ट्विट गरेका छन्। वाग्ले लेख्छन्, “कस्तो दुखद यतीको विमान खसेर कम्तीमा ६४ जनाको निधन भयो।बस होस् कि विमान, सार्वजनिक यातायातको सुरक्षाको चासो केही दिनपछि सेलाउँदै जान्छ। सरकारको ध्यान बिदा दिनेमा छ। अब यस्तो दुर्घटना रोक्न झन् काम गर्नुपर्ने होइन ?” वाग्लेले सरकारलाई बिदा रद्द गर्नसमेत आग्रह गरेका थिए।