'इज्जत फाल्ने महिला'को पक्षमा डा. पौडेलको साहस

समाजको सांस्कृतिक चरित्र खासै नबदलिए पनि जनसाङ्ख्यिक वितरण पहिलेभन्दा धेरै फरक हुन थालिसकेको छ। उतिखेर गाउँ र शहरबीच एउटा सीमारेखा खिच्न सकिन्थ्यो। देखिने र बुझिने त्यो सिमाना अहिले हराउँदै गएको छ।

आवरण देख्दा कतै 'मोटिभेसनल' पुस्तक झैं लाग्ने! पुस्तकको नाम 'साहस'ले पनि त्यस्तै बुझिने! आफ्नो विद्यावारिधिका क्रममा लेखेको थेसिसलाई मिना पौडेलले अंग्रेजीलगायत विश्वका पाँच भाषामा पहिल्यै किताबका रूपमा छपाउनुभएको थियो। पछिल्लो पटक यो आएको छ नेपाली पाठकका लागि।

'चेलीबेटी बेचबिखन'
महिला बेचबिखनसम्बन्धी यसअघि पढेको पुस्तक थियो-सोल्ड, जो सार्‍है 'क्याप्टिभेटिङ' थियो। पेट्रिसिया म्याककर्मिकको सो पुस्तक वास्तविक घटनामा आधारित उपन्यास थियो भने स्वभावैले यो ननफिक्सन। खासगरी मानव अधिकार र गरीमामा चासो लाग्नेका लागि यो पुस्तक पनि उत्तिकै महत्वको छ। 

मानव बेचबिखनबारे हामीले बाल्यकालमा रेडियो नेपालबाट बारम्बार सुनेको दुई 'शब्द जोडी' हो–चेलीबेटी बेचबिखन र 'माइती नेपाल'। आफ्नो जिल्ला (नुवाकोट) 'चेलीबेटी बेचबिखन'मा 'बदनाम' भए पनि हाम्रा गाउँठाउँ र आसपास कोही पनि बेचिएको थाहा पाएनौँ। कुनै उदाहरण देखेनौँ। रेडियोको प्रभावले, मान्छे बेच्ने त्यस्तो धन्दाप्रति बाल्यकालमै क्रुद्ध हुन्थ्यौँ हामी। नेपालका सबैजसो गाउँठाउँमा पुगेको खुला राजनीतिक व्यवस्थाले हामीलाई राजनीतिक चेतना दिँदै पनि थियो। हामीमा पनि त्यो पर्ने नै भयो।

पुस्तकमा उल्लेख भएझैँ हामी जन्मे ताकको समय नेपाली महिलालाई भारततिर लगेर बेच्ने अभ्यास व्यापक रहेको बुझिन्छ। पञ्चायतका शक्तिशाली राजनीतिज्ञ तथा दरबारका निकट एउटा शक्तिशाली राजनीतिज्ञले सिन्धुपाल्चोकमा हेलिकोप्टर नै पुर्‍याएर गाउँबाट महिलालाई काठमाडौँ ल्याएर रोजगारीका लागि छिमेकी देश पठाउन गरेको एउटा दृश्य लेखकको प्रसंग पुस्तकमा छ। (तथापि, यस अध्ययनका अधिकांश घटना बहुदलीय व्यवस्था आएपछिका छन्।)

हामी हुर्कँदै गर्दा रेडियोले घन्काउने समाचारहरूका कारण, हामीले उतिखेर बुझ्ने सत्य यस्तो हुन्थ्यो–ललाइफकाइ गाउँकै आफन्तले केटी/महिलालाई बम्बइको कोठीमा लगेर बेच्छन् र त्यसबापत पैसा लिएर नेपाल फर्कन्छन्। र, माइती नेपाल नामको संस्था बम्बई पुगेर अनेक उपायबाट ती महिलालाई नेपाल फर्काएर ल्याउँछ र आफ्नो संस्थामा राखेर ती महिलाको उद्धार गर्छ र 'सुधार्छ'। सालाखाला यस्तै अवधारणा हुन्थ्यो हाम्रो मनमा। तर पुस्तक पढ्दै जाँदा थाहा लाग्यो–जति ख्याति कमाए पनि, माइती नेपाल नामक गैरसरकारी संस्थाको महिलाको 'उद्धार'मा भूमिका रहे पनि बेचिएर फर्केका महिलालाई 'पुनर्स्थापना'का क्रममा त्यसले गर्ने व्यवहार र 'पब्लिक पोट्रेयल' बिलकुलै गलत रहेछ। 

पुस्तक पढ्दा थाहा लाग्छ–माइती नेपाल मात्रै नभएर केही अन्य संस्थाको सोच र व्यवहार पनि उस्तै रहेछ। अझ कतिपय सरकारी निकाय र प्रहरी/प्रशासनले समेत बेचबिखनमा परेर स्वदेशमा गरीमा र रोजगारी खोज्दै फर्कने नेपाली महिलाप्रति गर्ने व्यवहार समेत उत्तिकै आपत्तिजनक रहेछ। महिलाप्रति भालेसत्ताले आजका दिनसम्म जेजस्ता अपराध गरेका छन्, अन्यायमा परेकाको न्यायको लागि भनेर स्थापित सरकारी गैरसरकारी संस्थाले समेत तिनै कृत्यलाई थप मलजल गर्दा रहेछन्।

किताबमा उल्लेख गरिएको यो प्रसंग पढौँ: 

यता उषा बेचिएर फर्किँदा बालक छोरा लिएर आएकी थिइन्। मैले यस अनुसन्धानका लागि भेट्दा नेपाल फर्केर गरेको विवाहबाट जन्मेकी छोरी काखमा थिइन्।

उषाको भनाइ थियो: “म समूहमा फर्किएँ। नेपालको एयरपोर्टमा जन्मिनासाथ सुन्नुपर्‍यो– ‘बम्बइबाट आएका वेश्याहरू’, ‘एड्सकी पोका हुन्।’ अनि यस्तो भन्नेचाहिँ एयरपोर्टका प्रहरी मात्र होइनन्, बाहिर बसेका पत्रकार पनि। एउटा पत्रकारले हेर, यी दूषित आइमाईहरू भन्यो अनि अरू गलल्ल हाँसे। अनि पत्रकार र प्रहरी आपसमा कुरा गर्दै थिए र भन्दै थिए– "यी आइमाई हरू वेश्यावृत्ति गरेर आएका हुन्। अब यिनले काठमाडौँमा पनि त्यही गर्छन्।’ यो सुन्दा कति नराम्रो लाग्यो। रुन मन लाग्यो अनि रिस पनि उठ्यो।”

हामी हुर्कँदै जाँदा, समय क्रममा महिलाको शरीर, शरीरको स्वायत्तता, श्रम, बेरोजगारी हुनुका पीडा, सानै उमेरमा बिहे गरेर लोग्नेका घर जान विवश किशोरीहरूले लोग्नेबाट भोग्ने हिंसाका जटिलता बुझ्ने चेष्टा गरियो। डा. पौडेलेझैँ सानैदेखि 'कम्युनिस्ट राजनीति'मा जोडिँदै जाँदा अलिअलि भए पनि महिला अधिकारका कुरा पढियो। महिलाको शरीरलाई परिवार र कुलको 'इज्जत'सँग जोड्ने भाले सत्ताको अवधारणाको विरोधाभास बुझ्ने प्रयास गरियो। पछि थाहा हुँदै गयो–अनेक खालका उत्पीडनबाट उम्केर स्वतन्त्रता र रोजगारी खोज्ने क्रममा महिलाहरू यौन बजारसम्म पुग्न बाध्य र विवश हुँदा रहेछन्। कतिपयलाई झुक्क्याएर बेचिने रहेछ। त्यो सबै अवधारणाका बीच पुस्तक पढ्दा सबै कुरा सहजै 'सिंक' भए। 

यौन श्रम गरी देश/गाउँ फर्केर पहिलेकै आत्मसम्मानसहित स्थापित हुन संघर्ष गरिरहेका महिलाको कथाको विवेचना हो यो पुस्तक। पौडेल स्वयं राजनीतिक आन्दोलनबाट 'इभल्भ' भएको विद्वान भएका कारण उहाँको स्पष्ट दृष्टि पुस्तकमा प्रकट हुन्छ। लेखक स्वयं 'भालेसत्ता'का परम्परागत मान्यतासँग भिड्ने लडाकु भएका कारण विषयले पुस्तकमा न्याय पाएको देखिन्छ।

तथाकथित इज्जत 
दक्षिण एसियाली समाजमा 'इज्जत' प्राय: महिलाको ठेक्का हो। यता मात्र नभएर, धार्मिक र परम्परागत मान्यतालाई अक्षुण्ण राख्न खोज्ने विश्वका अधिकांश समाज र परिवारमा महिलाको शरीर र यौनिकतालाई इज्जत र प्रतिष्ठासँग जोडिन्छ। साहसमा पौडेलले यो विषय बारम्बार उठाउनुभएको छ। उहाँ यौनिकतालाई इज्जतसँग जोड्ने कुराको विपक्षमा हुनुहुन्छ।

बेचबिखन अपराध हो, तर जीवन धान्नलाई कसैले यौन कर्म गर्ने कुरा 'इज्जत जाने' विषय होइन, तर समाजले भने त्यसलाई उल्टै अपराधीकरण गरेको छ। जसका कारण कतिपय महिला अहिले पनि बहिष्करणमा परेका छन्। अध्ययनका क्रममा पौडेलले कुराकानी गर्नुभएका सबै (२८ महिला) अनेक प्रलोभनमा पारेर या अन्य काममा लगाइदिने भन्दै अन्त्यमा विदेशी यौन बजारमा बलजफ्ति झुक्क्याएर बेचिएका महिला हुन्। मानव बेचबिखनबाट प्रभावित १८ जिल्लाका युवा महिला समेटिएबाट सबैजसो क्षेत्र र भेगका पात्रलाई समेट्ने प्रयास ठान्न सकिन्छ अध्ययनलाई। 

अध्ययनले पितृसत्ता, गरिबी, बेरोजगारी र असहज सामाजिक–आर्थिक सम्बन्धले नै महिलाको बेचबिखनमा भूमिका खेलेको विश्लेषण पौडेलले गर्नुभएको छ। अर्को कुरा, मानव तस्करहरूले धेरैजसो सीमान्तकृत समुदायलाई सहजै बेचबिखनको पासोमा पार्ने गरेका छन्। जो पहिल्यै अप्ठ्यारोमा छ, उही नै पीडित! त्यसो हुँदाहुँदै पनि सबैजसो समुदायका महिलालाई विभिन्न परिबन्दमा पारेर बेचबिखनमा पार्ने गरेको तथ्य पनि पुस्तकबाट बुझ्न सकिन्छ।

बलजफ्ति बेचिएका या यौन श्रममा गएर घर/गाउँ/समाजमा ससम्मान फर्कने, आफ्नो पहिचान (नागरिकतासहितको परिचय) र रोजगारी पाउने विषय अति नै कष्टकर रहेको ठहर पुस्तकले गरेको छ। यस सन्दर्भमा महिलाले अपनाएका ट्याक्टिस र रणनीतिहरू पढ्दा मन अमिलो हुन्छ। नचाहेरै पनि केबल कागजपत्र र 'इज्जत'का लागि कसैसँग बिहे गर्नुपर्ने बाध्यता पुरुष जातिले सायदै कहिल्यै भोग्छ। तर 'इज्जत सक्काएर फर्केका महिला'ले भने त्यसै गर्नुपर्ने रहेछ। 

त्यससँगै 'बिटुलिएकी, चरित्रहीन, छाडा'लगायत अनेकन् अपमानका विशेषण महिलालाई बोकाउँछ भालेसत्ता। अनि ती महिलाका आफ्नै बाआमा, दाजुभाइ र दिदीबहिनीसमेत यस्तो हिंसाका 'एजेन्ट' बन्छन्। इज्जत र चरित्रको भूत यति कडा छ कि आफू जन्मिएकै घरमा महिलाहरू सहजै छिर्न पाउँदैनन्। विचित्र के हुन्छ भने महिलाले पैसा कमाएर परिवार वा परिवार मूलीलाई पैसा दिएको केही हप्ता महिनासम्म भने उनको 'इज्जत'को विषय खासै महत्त्वपूर्ण हुन्न। पैसा सकिएसँगै 'इज्जत र चरित्र'को मामला प्रखर रूपमा उठ्न थाल्छ। 

केही सीमा, केही सुझाव
यस पुस्तकको लागि अनुसन्धान भइरहँदा नेपालमा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको थियो। त्यसयता नेपाली राजनीतिमा आमूल परिवर्तन आइसकेको छ। समाजको सांस्कृतिक चरित्र खासै नबदलिए पनि जनसाङ्ख्यिक वितरण पहिलेभन्दा धेरै फरक हुन थालिसकेको छ। उतिखेर गाउँ र शहरबीच एउटा सीमारेखा खिच्न सकिन्थ्यो। देखिने र बुझिने त्यो सिमाना अहिले हराउँदै गएको छ।

पहिले नेपालीका रोजगारीका मुकाम मूल रूपमा राजधानी काठमाडौँ, छिमेकी देशका दिल्ली र बम्बई (मुम्बई) हुन्थे भने अहिले पश्चिम एसिया, मलेसिया मात्र नभएर जापान, कोरिया र युरोपका देशसम्म नेपाली निरन्तर फैलिरहेका छन्। साहस हाम्रै दुःखको कथा हो। र, हामी फैलिएसँगै हाम्रा दुःखहरू पनि फैलिएकै छन्। बेचबिखनका स्वरूप पक्कै बदलिँदै होलान्। आजको दिनमा साहसको अर्को संस्करण निकाल्ने हो भने यी आयाम पनि समेटिन सक्दो हो। 

बेचिएर या स्वेच्छाले यौन श्रमका लागि पुग्ने सहरका रूपमा पहिले मुम्बई र दिल्ली बदनाम थिए भने साना र छोटेमोटे बजारहरूमै यौन श्रम जारी छ। तर दुई दशक पहिलेकै स्तरमा महिला बहिष्करण र अपमान आज नहोला। साहस-२ लेखियो भने सम्भवतः 'विस्तारित नेपाल' र नेपालभित्रैका छोटेमोटे सहरका कथा पनि समेटिन सक्ला। त्यसमाथि, धेरैजसो पुरुषहरू वैदेशिक रोजगारीका लागि बिदेसिएसँगै पुरुष चालक र महिला सहचालक रहेको भालेसत्ता तुलनात्मक रूपमा आज कमजोर भएको पनि हुनसक्छ। यो आफैँमा अर्को अध्ययनको विषय हुनसक्छ।

पौडेल स्वयं सक्रिय रहेर, बेचबिखनमा परेका महिलाहरूसँग मिलेर स्थापना गरेको 'शक्ति समूह'को सन्दर्भले किताबलाई थप महत्त्वपूर्ण बनाएको छ। अंग्रेजी पुस्तकबाट नेपालीमा अनुवाद गरेको भएर होला, नेपाली लेखककै भएर पनि कतैकतै वाक्य र अनुच्छेद भने असहज लाग्छ। पुस्तकले नेपालबाट हुने मानव बेचबिखनका बहुआयमिक पक्ष समेटेको छ। मानव गरिमा र सामाजिक न्यायमा आधारित अनुसन्धानका लागि पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्री बनेको छ। आप्रवासन, लैंगिकता, श्रमको र संरचनाको विभेदबारे उल्लेख गरिएको यो पुस्तक समता र आत्मसम्मानको आन्दोलनमा ठुलो प्राप्ति हो। किताब पब्लिसर्सले छापेको, २१७ पेजको यो पुस्तकको मूल्य ५५० उल्लेख छ।