पोखराको उडान सफल भएको भए को-पाइलट अञ्जु पाइलट बन्ने थिइन्। त्यसैले प्रशिक्षक पाइलट कमल केसीले उडान र अवतरण नियन्त्रण गर्ने बाँयातर्फको सिट उनैलाई छाडिदिएका थिए।
काठमाडौँ– पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएको करिब सात घन्टा बितिसकेको थियो। साँझ ६ बजेतिर काठमाडौँको पुरानो बानेश्वरस्थित एउटा घरबाहिर सन्नाटा थियो। भित्र शोकको अवस्था थियो। बेलाबेला बालक रोएको आवाज बाहिरै सुनिन्थ्यो।
यो घर को–पाइलट अञ्जु खतिवडाको हो। उनी पोखरामा दुर्घटनाग्रस्त भएको विमान उडाउने चालक दलको सदस्य थिइन्। अञ्जु दुर्घटनामा परेको खबरले परिवार शोकमा थियो।
अञ्जुका श्रीमान् स्तब्ध थिए। ६ वर्षीया छोरा रोइरहेका थिए। आफन्तहरू भावविह्वल थिए।
उनको घरबाहिरको वातावरण पनि शोकमय थियो। छिमेकीहरू पनि चिन्तित देखिन्थे। “असल मान्छेलाई भगवानले पनि चाँडै लैजाँदा रहेछन्,” खतिवडाका छिमेकी रोमन थापाले भने।
थापाले आफ्नो घरमा किराना पसल राखेका छन्। बिहान विमानस्थल जानुपूर्व अञ्जुले चिसो भएर आफूलाई रूघा लाग्न थालेको भन्दै सन्चो र ब्रेड किनेर लगेकी थिइन्। तर त्यसको केही घन्टापछि नै दुर्घटनामा परेको सुन्दा आश्चर्यमा परेको उनले बताए।
दुर्घटनामा पर्नुभन्दा दुई दिनअघि शुक्रबार मात्रै अञ्जुले यती एयरलाइन्समा काम गर्न थालेको १२ वर्ष पूरा भएको थियो। सधैँझैँ आइतबार पनि उनी बिहान ७ बजे नै घरबाट निस्किएकी थिइन्। उनी को–पाइलटको रूपमा अन्तिमपटक काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने ९ एनएसी एटीआर ७२ विमान उडाउँदै थिइन्।
यो उडान सफल भएको भए सोमबारदेखि पाइलट बन्ने थिइन्। त्यसैले विमानका प्रशिक्षक पाइलट कमल केसीले उडान र अवतरण नियन्त्रण गर्ने बाँयातर्फको सिट उनलाई नै छाडिदिएका थिए।
दुर्घटनामा परेकी अञ्जुको अवस्थाबारे आइतबार अबेरसम्म पनि आधिकारिक जानकारी आएको छैन। परिवारले अस्पताल, प्रहरी, सरकारी निकाय र यती एयरलाइन्सका कर्मचारीलाई निरन्तर सम्पर्क गरिरहेका छन्।
“सफल पाइलट भएर विमान उडाउने दिदीको सपना थियो। तर, जहाज दुर्घटना भएको खबर हामीलाई सपनाजस्तै लागि रहेको छ,” अञ्जुकी काकाकी छोरी सरला खतिवडाले भनिन्।
२०६३ अघिसम्म अञ्जुको परिचय गृहणीका रूपमा नै सिमित थियो। उनका त्यति बेलाका श्रीमान् दीपक पोखरेल यति एयरलाइन्समा कार्यरत थिए। दीपक पनि को–पाइलट थिए।
२०६३ जेठ २९ मा जुम्लामा भएको विमान दुर्घटनामा दीपकको मृत्यु भयो। दीपकसहित उक्त दुर्घटनामा नौ जनाले ज्यान गुमाएका थिए।
दीपकको मृत्युपछि अञ्जुले पाइलट बनेर श्रीमानको सपना साकार पार्ने अठोट लिएकी थिइन्। त्यसपछि उनले पाइलट कोर्स शुरू गरेकी थिइन्। उनले अमेरिकाबाट पाइलटको कोर्स पूरा गरेर आउनासाथ यती एयरलाइन्समै काम शुरू गरेकी थिइन्।
“श्रीमानको मृत्यु भएपछि अमेरिका गएर पाइलट कोर्स गरेर नेपाल फर्र्किएपछि यती एयरलाइन्समै काम शुरू गरेकी थिइन्”, अञ्जुका भिनाजु कृष्णमोहन कोइरालाले भने। पति वियोगमा पर्दा उनकी छोरी सानै थिइन्। अहिले भने छोरी क्यानडामा बस्छिन्।
विराटनगर महानगरपालिका–५ की अञ्जु विवाहपछि काठमाडौँस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । श्रीमानको निधनपछि पनि उनी सोही घरमा बस्थिन्। को–पाइलट भइसकेपछि अञ्जुले दोस्रो विवाह गरेकी थिइन्।
त्यसपछि जन्मिएका उनका छोरा ६ वर्ष मात्रै पुगेका छन्। छोराले बिहानदेखि आमालाई खोजिरहेका छन्। आमा घर नआएको, तर घरभरि मान्छे जम्मा भएको देख्दा छोरा रोइरहेको आफन्तले बताएका छन्।
को–पाइलटले प्रशिक्षक पाइलटसँग १०० घन्टा उडान गरेपछि मात्र पाइलट हुन योग्य मानिन्छन्। अञ्जुले आइतबार १०० घन्टा पूरा गर्दै थिइन्। यती एयरलाइन्सले दिएको जानकारीअनुसार यसअघि उनले विराटनगर, धनगढी, भद्रपुरलगायतका ठाउँमा सफल उडान गरिसकेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
