‘केसी अनुभवी पाइलट हुनुहुन्थ्यो, कहिलेकाहीँ अपर्झट समस्या आउँछन्’

पाइलट दक्ष हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता दुःखद् घटना हुन्छन्। पाइलटको जीवन पनि आफ्नै हत्केलामा हुन्छ। त्यसैले पाइलट हरहमेसा गम्भीर हुन्छ। एक सकेण्डमा करेक्सन भएन भने के हुन्छ भन्न सकिन्न।

इन्सेटमा पाइलट कमल केसी।

पोखरा अन्तराष्ट्रिय विमानस्थलनजिक आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानका पाइलट क्याप्टेन कमल केसी थिए। काठमाडौँवासी उनी ३० वर्षदेखि जहाज उडाइरहेका अनुभवी पाइलट हुन्। उनले चलाइरहेको विमान दुर्घटनामा पर्दा पूर्वसहकर्मीहरू स्तब्ध छन्। उनीहरूमध्येका एक हुन् यती एयरलाइन्सका पूर्वपाइलट केशव सिलवाल। सिलवालले उकालोकर्मी दिपा दाहालसँग पाइलट केसीलाई यसरी सम्झिए :

कमलजी (कमल केसी)लाई मैले चिनेको लामो समय भयो। फिल्डमा हामीले सँगै पनि धेरै काम गरेका थियौँ। उहाँ पहिले नेपाल एयरलाइन्समा आबद्ध भएर जहाज उडाउनुहुन्थ्यो। त्यसपछि, यतीमा आएपछि जेडटीसी उडाउनु भएको हो। अहिले एटीआर ६९१  उडाइरहनु भएको थियो। 

उहाँ यती एयरको आईपी (प्रशिक्षक पाइलट) हुनुहुन्थ्यो। हामी पाइलटले आईपी भन्ने बित्तिकै अनुभवी र दक्ष पाइलटका रूपमा चिन्ने गर्छौं। अर्थात्, उहाँ पाइलटलाई पनि सिकाउने मास्टर हुनुहुन्थ्यो। उहाँले जहाज उडाएको ३० वर्षभन्दा बढी भएको हुनुपर्छ। यतिका वर्ष जहाज उडाएका हाम्रा साथीबारे यस्तो घटना सुन्दा म स्तब्ध भएको छु। 

हाम्रा लागि यो अनपेक्षित घटना हो। उहाँ एउटा इमान्दार र व्यवसायिक व्यक्ति हुनुहुन्थ्यो। काममा मात्रै केन्द्रित हुने र काम व्यवसायिक रूपमा गर्ने उहाँको स्वाभाव थियो। निकै असल पाइलट हुनुहुन्थ्यो। काममा सम्झौता नगर्ने उहाँको बानी थियो। 

पाइलटलाई दक्ष बनाउन उहाँको ठूलो भूमिका छ। यसै पनि पाइलटले कहिल्यै पनि सम्झौता गरेर जहाज उडाउँदैनन्। 

म पाइलटको मर्म बुझ्छु । पाइलट जहाज उडाउन लागेपछि आफ्नो यात्रु र एयरलाइन्सबारे संवेदनशील बनेको हुन्छ। आफूले गर्दा कसैलाई पनि नोक्सान नहोस् भनेर हरेक सेकेण्ड सोचेको हुन्छ। उहाँ यस्तै संवेदनशील पाइलट हो। 

तर पाइलट दक्ष हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता दुःखद् घटना हुन्छन्। पाइलटको जीवन पनि आफ्नै हत्केलामा हुन्छ। त्यसैले पाइलट हरहमेसा गम्भीर हुन्छ। एक सकेण्डमा करेक्सन भएन भने के हुन्छ भन्न सकिन्न।

जहाजमा कहिलेकाँही यस्तो समस्या आउँछ, त्यसबारे पाइलट पनि अनविज्ञ हुन्छन्। आज पोखरामा मौसम राम्रो हुँदाहुँदै पनि जहाज दुर्घटनामा पर्‍यो। यसमा हामीले केही पनि भन्न सक्ने अवस्था हुन्न। भुईंमा बस्नेले १०० वर्ष पुरानो जहाज उडाएकाले यस्तो दुर्घटना भएको भनेर आलोचना गर्नुको कुनै अर्थ छैन। 

पाइलट सक्षम छैन भनेर आलोचना गरिन्छ, त्यस्तो होइन। पाइलटले कहिल्यै सम्झौता गर्दैन। नियमअनुसार जहाजका पाटपुर्जा हेरिन्छ, जाँचिन्छ। हरेक वर्ष पाइलटको मेडिकल जाँच हुँन्छ। हरेक वर्ष तालिम हुन्छ। यस्तो हुँदाहुँदै कहिलेकाँही प्राविधकि रूपमा समस्या आउँछ।