लगातार दोस्रो दिन पनि घट्यो शेयरबजार

आज नेप्से ४६.७८ अंकले घटेर दुई हजार ७९६.५७ विन्दुमा झरेको छ।

काठमाडाैँ– निरन्तर दोस्रो दिन शेयरबजार घटेको छ। सोमबार उच्च अंकले बढ्दै तीन सर्किट ब्रेक लागेर बन्द भएको र मंगलबार ३२ अंकले घटेको शेयरबजार परिसूचक नेप्से आज बुधबार ४६.७८ अंकले घटेर २,७९६.५७ विन्दुमा झरेको छ।

बुधबार सेन्सेटिभ इन्डेक्स ८.३२ अंक घटेको छ भने फ्लोट इन्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३२९ स्टकको १ लाख १५ हजार ५५० पटकको कारोबारमा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कालिका पावर कम्पनीको शेयरमूलय यस दिन सर्वाधिक ८.४७ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।