महावीर सधैँ खुट्टामा साधारण चप्पल र कालो हाफ पाइन्ट लगाएर कलेज जान्थे। अभावलाई लुकाउन नखोज्ने उनको त्यो सादगी र विद्रोही हुलियाले सबैको आँखा उनीमाथि ठोकिन्थ्यो।
म्याग्दी– “विजय र्याली नगरौँ, यसले चुनावमा प्रतिस्पर्धा गरेका पराजित साथीहरूको मनमा चोट पुग्न सक्छ। अबको बाटो सहकार्यको हो।”
म्याग्दीको मतगणनास्थल बाहिर सयौँ समर्थक जम्मा भएका थिए। स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई झन्डै तेब्बर मतान्तरले पछाडि पारेका थिए। विजयको घोषणासँगै समर्थकहरू र्यालीसहित उत्सव मनाउने तयारीमा थिए। तर पुनले समर्थकलाई रोकेका थिए।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, नागी गाउँमा जन्मेर १५ वर्षको उमेरसम्म नागीका नुनथला, सेतोखस्रु, जलजला र हम्पालका धुरीमा गाईगोठ र घाँसदाउरा गर्दै बाल्यकाल बिताएका महावीर नीति निर्माण गर्ने सर्वोच्च थलो प्रतिनिधिसभामा पुगेका छन्।
पुनको बाल्यकाल अभाव र संघर्षमय थियो। भात खान दशैँ कुर्नुपर्ने समयमा उनले काठको पाटीमा अंगारले लेख्न सिक्दै अक्षरारम्भ गरेका थिए। उनी भन्छन्, “बाल्यकालका गोठघर गर्दाका अधिकांश क्षण धूमिल हुँदै गए पनि मेरो बाजे मैतेले भन्ने गरेको उखान चल तिग्री खा जिब्री सम्झिरहन्छु। केटाकेटी उमेरमा कामभन्दा बढी खेल्न मन लाग्ने। बाजे सम्झाइरहन्थे, तिघ्रा नचलाएपछि जिब्रोले के खान्छ?”
नागीको मगर समाजमा हुर्केका उनी ८ कक्षा पढ्न ६ घण्टा तल क्षेत्री बाहुल्य मल्लाज झरे। उनले त्यहाँ नै पहिलोपटक जातीय र सांस्कृतिक विविधताको अनुभव गरे। बाबु कृष्ण पुनको ‘छोरालाई पढाउनुपर्छ’ भन्ने दृढताले यो परिवार २०२६ माघमा पुर्ख्यौली थलो छोडेर चितवन झर्यो।
अमृत साइन्स क्याम्पसमा हाफ पाइन्ट लगाएर पढ्दा उनले सम्भ्रान्त वर्गको खिसीट्युरी सहे। त्यो माहौल आज पनि डा. सरोज धितालको मानसपटलमा ताजै छ। उनका अनुसार, त्यतिबेला विद्यार्थीको पोसाक, बोल्ने शैली र उठबसले नै उनीहरूको आर्थिक हैसियत, भौगोलिक पृष्ठभूमि र सामाजिक वर्गको स्पष्ट चित्र कोर्थ्यो। अस्कलमा आईएससी पढ्दाका महावीरका सहपाठी डा. धिताल सम्झन्छन्, “हामी लो क्लास विद्यार्थीको समूहमा थियौँ। तर त्यो समूहभित्र पनि एक जना यस्तो विद्यार्थी थियो, जसको हुलिया सबैभन्दा भिन्न र एक्स्ट्रा थियो। त्यो महावीर पुन थियो।”
जति बेला कलेजमा सुकिलो देखिने होडबाजी हुन्थ्यो, महावीर भने सधैँ खुट्टामा साधारण चप्पल र कालो हाफ पाइन्ट लगाएर कलेज जान्थे। अभावलाई लुकाउन नखोज्ने उनको त्यो सादगी र विद्रोही हुलियाले सबैको आँखा उनीमाथि ठोकिन्थ्यो। क्याम्पसभरि त्यही विशेष ‘ड्रेसअप’ का कारण उनी चिनिन्थे।
स्नातकपछि चितवनका विद्यालयमा १३ वर्ष विज्ञान पढाउँदा उनले विद्यार्थीलाई बंगुरपालनदेखि केरा खेतीसम्म सिकाए। तिनताका उनको स्व. जाग्रितप्रसाद भेटवालहरूसँग उठबस थियो। शिक्षण पेसा त्यागेर उनी काठमाडौँ हानिए। गल्लीहरूमा भौतारिँदा र बागबजारका भट्टीमा सुकुटीको स्वादसँगै भविष्यका सपना बुन्दा उनी खाडी मुलुक जाने तयारीमा लागेका थिए। तर, बाटोमा भेटिएका पूर्वविद्यार्थीले उनलाई अमेरिकन लाइब्रेरी पुर्याए, जहाँबाट उनको ‘नेब्रास्का यात्रा’को ढोका खुल्यो।
सन् १९९२ मा अमेरिकाको सुविधायुक्त जीवन त्यागेर उनी नागी फर्के। उनले जापानी मानवशास्त्री प्रा. जिरो कावाकिताले नेपालमा ल्याएको स्थानीय सहभागिताको दर्शनलाई आफ्नो ‘नागी मोडेल’मा मिसाए। गाउँको विकासका लागि जापानी विकास दर्शन र अमेरिकी प्रविधिको फ्युजन गराए।
शिक्षामन्त्री हुनुभन्दा पाँच महिना अघिसम्म पुन उनै कावाकिताले स्थापना गरेको हिमालय संरक्षण संस्था (आईएचसी)का अध्यक्ष थिए। कावाकिताले म्याग्दीको जुन भूगोलका गाउँ-बस्तीमा मानिसहरूको जीवन सहज बनाउन ‘भौतिक रोपवे’ जोडेका थिए, उनै कावाकिताको विकास दर्शनबाट प्रभावित महावीरले तिनै भूगोलका बस्तीमा ‘डिजिटल रोपवे’ (वायरलेस इन्टरनेट)ले जोडे।
साधारण घरायसी वाइफाई राउटर प्रयोग गरी ४० किलोमिटर परको पोखराबाट बादलमुनिका गाउँमा इन्टरनेट पुर्याउँदा उनले सन् २००७ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गरे। आईएचसी संस्थाका संस्थापक कावाकिता र उनको विकास मोडेलको अनुकरण गर्ने चेला महावीर दुवैले एउटै भूमिमा ‘भौतिक रोपवे’ र ‘डिजिटल रोपवे’ पुर्याएबापत रोमन म्यागासेसेबाट पुरस्कृत भए।
महावीरको सार्वजनिक छवि जति चम्किलो छ, उनको पारिवारिक पाटो उत्तिकै त्यागी छ। अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडाकी ओममाया पुर्जासँग प्रेमविवाह गरेका पुनका दुई छोरी छन्। श्रीमती पोखरामा सिलाइ-कटाइ गरी घरखर्च चलाउँछिन्।
गत भदौ २३ र २४ को जेनजी विद्रोहपछि बनेको चुनावी सरकारमा शिक्षामन्त्री बनेका महावीर चार महिनापछि राजीनामा दिएर म्याग्दी निर्वाचन क्षेत्रबाट ‘सरप्राइज इन्ट्री’ हुँदा जिल्लाको परम्परागत चुनावी गणित पूरै खलबलियो। चुनावमा पुनले २२ हजार ८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठ ७ हजार ९१९ मतमा सीमित रहे।
जितसँगै पुनमाथि प्रश्न र अपेक्षाका बढेको छ। राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्जको कृषि औजार कारखानाको भविष्यलाई लिएर धेरैको चासो छ। किनभने, राष्ट्रिय आविष्कार केन्द्र अहिलेसम्म पुनको ऊर्जा, पागलपन र क्रेजमा टिकेको छ। सहयोगीहरूलाई डर छ, यदि महावीर सिंहदरबारको फाइल र संसदीय अंकगणितमा अल्झिए भने? पुन आफै सरकारको हिस्सा बने पनि अब उनले फेरि जनतासँग चन्दा माग्लान्? महावीरको बुढ्यौली उमेर जस्तै यी संस्थाहरू पनि विस्तारै गल्दै, थाक्दै ढल्ला?
यस विषयमा महावीरका मुख्य सहयोगी तथा चुनावी अभियानका कमान्डर चित्रबहादुर तिलिजा भन्छन्, “नवनिर्वाचित सांसद पुनको पहिलो प्राथमिकता नीतिगत सुधार नै रहनेछ। संसद् बैठक बस्नुअघि पुन काठमाडौँको राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्जको कृषि औजार कारखाना पुग्ने र त्यहाँको अवस्था बुझ्ने कार्ययोजना छ। त्यसपछि मात्र उनी म्याग्दी फर्केर स्थानीय तहसँगको समन्वयमा विकासका योजनाको सूची तयार पार्नुहुनेछ।”
म्याग्दीका मतदाताको अपेक्षा छ, महावीर अब हाम्रा प्रतिनिधि भए। गाउँगाउँमा विकास पूर्वाधार बनून्, स्थानीय सुशासन मजबुत बनोस्। उता सहयोगीहरूको चाहना छ, महावीरले आविष्कार केन्द्रको प्रयोगशाला अलपत्र नछाडून्। यी दुई अपेक्षाको सन्तुलन मिलाउन महावीरले नसके उनको छवि संकटमा पर्न सक्ने खतरा छ।
झन्डै तेब्बर मतान्तरले विजयी बनाई सिंहदरबार पठाएका म्याग्दीका मतदाताको अपेक्षा गाउँमा विकास र सुशासनको छ। अर्कोतर्फ, आविष्कार केन्द्रको प्रयोगशाला अलपत्र नपरोस् भन्ने चिन्ता छ। सिंहदरबारको राजनीति, आविष्कार केन्द्रको भविष्य र मतदाताका अपेक्षाबीचको सन्तुलन मिलाउनु नै उनको वास्तविक परीक्षा अब शुरू भएको छ।
यद्यपि, विजयी भएपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा पनि पुनले आफ्नो कार्ययोजना प्रस्ट पारेका छन्। उनले भनेका छन्, “एक पटक काठमाडौँ पुगेर फर्केपछि जनताको घरदैलोमा पुग्छु। योजनाहरू सांसदले केन्द्रबाट छनोट गर्ने होइन, स्थानीय सरकारले आवश्यकता महसुस गरेका योजनाहरू नै सांसदका योजना बन्नुपर्छ। म बजेट बाँड्नेभन्दा पनि स्थानीय सरकारका योजनालाई केन्द्रसम्म पुर्याउने र बजेट व्यवस्थापनमा सहजीकरण गर्छु। सबै दल र स्थानीय सरकारसँगै मिलेर काम गर्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
