नेप्से परिसूचक ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार

नेप्से परिसूचकमा मंगलबार ३२.०८ अंकको गिरावट आए पनि साढे २१ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ को बिन्दुमा कायम भएको छ। यो १.११ प्रतिशतको गिरावट हो।

मंगलबार ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई लाख पाँच हजार ६११ पटक खरिद–बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा जीवन बीमा ०.५१, म्युचुअल फन्ड १.३४ र निर्जीवन बीमा ०.४७ प्रतिशतले बढेका छन् भने अन्य सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ १.२७, विकास बैंक १.१६, वित्त २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५ र लगानी समूह १.४८ प्रतिशतले घटेका छन्। उत्पादन तथा प्रशोधन १.८२, लघुवित्त ०.१७, व्यापार २.१२ र अन्य समूह १.४० प्रतिशतले घटेका छन्।

रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमस्टार ऊर्जा रहेको छ, जसको शेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ।

कारोबार रकम र संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै ङादी ग्रुपको एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको २४ लाख नौ हजार ९८९ कित्ता शेयर कारोबार भएको छ।