इन्धनको खरिद मूल्य बढे पनि उपभोक्ता मूल्य यथावत्

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि आन्तरिक बजारमा बिक्री मूल्य यथावत् राखेको छ।

फाइल तस्वीर

काठमाडौँ— नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि आन्तरिक बजारमा बिक्री मूल्य यथावत् राखेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि निगमले तत्कालका लागि मूल्य नबढाउने निर्णय गरेको हो। 

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले हाल कायम रहेको साबिककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा २.९ रुपैयाँ, डिजेलमा २.४७ रुपैयाँ र हवाई इन्धनमा ५.९८ रुपैयाँ वृद्धि भएर आएको थियो। यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँ मूल्य बढेको छ। 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा लागत वृद्धि भए पनि आन्तरिक बजारमा मूल्य स्थिर राख्ने नीति निगमले लिएको छ। यद्यपि, पोखरा र भैरहवाको हकमा भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य नाफा–नोक्सान बराबर हुने बिन्दु (ब्रेक इभन प्वाइन्ट)मा कायम गरिएको निगमले जनाएको छ।