अन्तर्वार्ता

‘हामीसँग स्रोत छ, अब पारदर्शिता र श्रम गर्ने संस्कृति चाहिन्छ’

‘पहिला दुर्गन्धबाट देशलाई निकाल्नु छ। सुशासनका लागि काम गर्नुछ। हामी यो देशलाई नै भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन चाहन्छौँ, त्यसका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी योग्य देखिएको छ।’

नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर वियस राई केही वर्षअघि सोलुखुम्बुको नेचासल्यान वडा नं. २ स्थित गाउँतिरै फर्किए। उनी गाउँमा कृषि कर्मका साथै डेरी व्यवसायमा संलग्न छन्। पछिल्लो समय डेरी व्यवसायमा नै पूर्णकालीन समय दिइरहेका उनी साहित्य साधनामा पनि थिए। नेपाल प्रहरीमा हुँदै ‘हिउँमाझी’ कथासंग्रह प्रकाशित गरेका उनले नयाँ उपन्यासको पाण्डुलिपि लगभग तयार पारिसकेका थिए। तर उपन्यास छाप्न छाडेर अचानक उनी सोलुखुम्बुबाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार बने। त्यसका लागि उनले श्रम संस्कृति पार्टी रोजे। उनको चुनावी अभियानका विषयमा उकालोले गरेको कुराकानीः

सोलुखुम्बु मुख्यतः कांग्रेस र एकाध पटक अन्य दलले जितिरहेको ठाउँ हो। तपाईंहरू नयाँ हुनुहुन्छ, जितको आधार के हो?
अहिले जनताले वैकल्पिक शक्ति खोजेका छन्। जनताले पुराना दलको विकल्प खोजेको हुनाले हाम्रो जितको आधार नै स्वतःस्फुर्त उठेको जनमत हो।

तपाईं आफै पनि २०७९ सालको स्थानीय तह निर्वाचनमा पुरानो दल भनिएको तत्कालीन माओवादीबाट उम्मेदवार हुनुहुन्थ्यो। अहिले नयाँ पार्टीमा लाग्नुपर्ने आवश्यकता के देख्नुभयो?
राजनीतिले समयानुसारको परिवर्तन माग गर्छ। २००७ सालअघिको नेपाल र २००७ सालपछिको नेपाल एउटै होइन।  २००७ सालको क्रान्ति कांग्रेसले गर्‍यो, त्यसको जस कांग्रेसलाई नै दिनुपर्छ। त्यसैअनुसार समय–समयका परिवर्तनमा विभिन्न शक्तिको योगदान छ। त्यसैगरी, भदौ २३ र २४ भन्दा अगाडिको समय र पछाडिको समय पनि एउटै रहेन।

देशमा रूपान्तरणका लागि राजनीति गर्ने हो, त्यस अर्थमा राजनीति समाजसेवा हो। एउटा ठूलो आन्दोलनले माग गरेको परिस्थितिलाई स्वीकार गरेर हामी सबैले आफूलाई रूपान्तरण गर्नुपर्छ। तत्कालीन परिस्थितिमा सबैभन्दा क्रान्तिकारी र सुधारको पक्षमा लागेको पार्टी जे थियो, त्यसैमा लागिएको थियो। तर एउटा ठूलो आन्दोलनपछि भएको परिवर्तनलाई स्वीकार गरेर पछिल्लो समयमा देश रूपान्तरणका लागि सबैभन्दा ठूलो सम्भावना बोकेको पार्टी श्रम संस्कृति पार्टी देखिएको हुनाले म यता आबद्ध भएको हुँ।

तपाईंको पार्टीले श्रमदानको कुरा गर्छ, तर यहाँ त बेरोजगारी सबैभन्दा ठूलो समस्या छ। श्रमको मूल्य महत्त्वपूर्ण हो कि श्रमदान महत्त्वपूर्ण?
श्रम संस्कृतिको पार्टीका अध्यक्षले यसलाई स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभएको छ– हप्ताको ६ दिन श्रम गरौँ आफ्ना लागि, एक दिन चाहिँ श्रमदान गरौँ देशका लागि। श्रमदानलाई श्रमको अवमूल्यनका रूपमा हेरिनु हुँदैन। सुशासनका लागि सबैभन्दा पहिला आत्मानुशासन चाहिन्छ।

जस्तो, विभिन्न कार्यालयमा सहयोगी हुन्छन्। उनीहरूको काम कार्यालयको भौतिक व्यवस्थापनमा सघाउने हो। तर उच्च पदका बस्नेहरूले ती कार्यालय सहयोगीलाई व्यक्तिगत काम; जस्तो लुगा धुनसम्म लगाउँछन्। त्यसैले श्रमदानको अर्थ सुशासनका लागि आत्मानुशासन हो भनेर बुझ्नुपर्छ। हाकिमले पनि आफ्नो काम आफै गर्नुपर्‍यो। अनि देशका लागि एक दिन श्रमदान पनि गर्नुपर्‍यो। हाम्रो देश स्रोतमा सम्पन्न छ, अब स्रोत परिचालनका लागि आत्मानुशासन र श्रम चाहिन्छ।

अब सोलुखुम्बुका स्थानीय मुद्दामा जाऊँ। त्यहाँका जनताले तपाईंलाई भोट किन दिने? चुनावमा तपाईंका अजेन्डा के के हुन्?
मेरा व्यक्तिगत अजेन्डा वा सोलुखुम्बुका लागि सांसदले गर्ने अजेन्डा भन्ने अहिले छुट्टै केही छैन। अहिलेको चुनावको परिस्थिति र अवस्था बुझ्नुपर्छ। अहिलेको चुनाव नियमित होइन। नियमित प्रक्रियामा हुन्थ्यो भने यो चुनाव २०८४ सालमा हुन्थ्यो। अहिले दुर्घटनाबस चुनावको स्थितिमा आएका छौँ। जुन दलले लामो समय शासन गरेर यो देशलाई दुर्घटनामा पुर्‍याए, यहाँबाट निकाल्न चुनाव हुँदैछ।

संसारमा हाम्रो देश भ्रष्टाचार हुने देश भनेर चिनिन्छ। संसारभरि रहेका नेपालीले म नेपाली हुँ भनेर उभिने अवस्था छैन। पहिला यो दुर्गन्धबाट देशलाई निकाल्नु छ। सुशासनका लागि काम गर्नुछ। हामी यो देशलाई नै भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन चाहन्छौँ, त्यसका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी नै योग्य देखिएको छ। उहाँले छोटो समयमा नै सुशासन र सम्वृद्धिको आधार कस्तो हुन्छ भनेर देखाउनु भएको छ। त्यसैले अब संसद्मा गएर स्पष्ट र सही नीति बनाउन व्यक्तिगत रूपमा मलाई मात्र होइन, श्रम संस्कृति पार्टीलाई बहुमत दिनु पर्नेछ। मेरो व्यक्तिगत अजेन्डाभन्दा पार्टीको समग्र अजेन्डा स्थापित गर्न मलाई मत दिन सोलुखुम्बुका जनतालाई आग्रह गर्छु।

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङसँग वियस राई।

सोलुखुम्बु आफैमा ठूलो जिल्ला हो, विश्वको अग्लो शिखर सगरमाथा पनि यहीँ छ । तपाईं आफ्ना अजेन्डा सुनाउन सबै ठाउँमा पुग्न सक्नुभएको छ?
भौगोलिक हिसाबले निकै जटिल र जनसंख्याको हिसाबले सानो जिल्ला हो संखुवासभा। यहाँ करिब ८५ हजार मतदाता छन्। भौगोलिक रूपमा दुर्गम हुनाले, धेरै ठाउँमा पुगिसकिए पनि केही ठाउँमा पुग्न बाँकी छ। तर भौतिकरूपमा हामी पुग्नु र नपुग्नुले धेरै ठूलो अर्थ राख्दैन, हर्क साम्पाङ र उहाँको अभियानलाई देखेर माटो चुनाव चिह्नमा मतदान गर्न जनता तयार हुनुहुन्छ। हामी आफै पुग्न नसके पनि सबै ठाउँका जनतासँग हामी सम्पर्कमा छौँ। कतिले त आफै चासो गरेर पनि सम्पर्क गरिरहनुभएको छ। हामी उत्साही छौँ।

मत माग्न जाँदा जनताबाट सोधिने प्रश्न कस्ता छन्?
हामीलाई त्यति धेरै प्रश्न गर्नुभएको छैन। खाली हाम्रो जिल्लामा कस्तो उम्मेदवार बनाएछन् हर्क साम्पाङले भनेर चासो राख्ने र भेट्न वा देख्न खोज्ने धेरै हुनुहुन्छ। मेरो पृष्ठभूमिको विषयमा पनि उहाँहरूलाई चासो छ। किनभने लामो समय राजनीति गरेका उम्मेदवार चिनिएका हुन्छन्, मेरो राजनीतिक पृष्ठभूमि लामो नभएको हुँदा उहाँहरूलाई चासो छ। श्रम संस्कृति पार्टी, हर्क साम्पाङ र यस पार्टीबाट उठेका उम्मेदवारप्रति उहाँहरूलाई विश्वास छ।

तपाईंले आफू चाहिँ आफ्नो परिचय कसरी दिनुहुन्छ?
म खुला मान्छे हुँ। केही समय मैले नेपाल प्रहरी भएर सेवा गरेँ। सँगै म साहित्यमा पनि लागिरहेँ। तर यतिले मात्र मलाई सन्तुष्टि दिएन। ममा आएको जागरणका कारणले सबै छाडेर गाउँ फर्किएँ र यहीँ केही गर्नुपर्छ भनेर स्वरोजगारीका काम गरेँ। अनि पछिल्लो समय आएको राजनीतिक परिवर्तनलाई स्वीकार गरेर श्रम संस्कृति पार्टीमा लागेर उम्मेदवार भएको छु। उहाँहरूले मलाई विश्वास गरिरहेको अवस्था छ।