७ महिनाको वैदेशिक व्यापार: ११ खर्बको आयात हुँदा पौने २ खर्बको मात्र निर्यात

चालु आर्थिक वर्षको सात महिनामा ११ खर्बभन्दा बढीको आयात र करिब पौने दुई खर्बको मात्र निर्यात हुँदा मुलुकको व्यापार घाटा नौ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको सात महिनामा नेपालको कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ। यससँगै मुलुकले सात महिनामै ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको विभागले जनाएको छ।

छिमेकी मुलुकसँगको व्यापार भारतसँगको व्यापारमा ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र १ खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात भएको छ। भारतसँग मात्रै मुलुकले ४ खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ। त्यस्तै, चीनसँग २ खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र ९० करोड १ लाखको मात्र निर्यात हुँदा २ खर्ब ३४ अर्ब ४८ करोड २२ लाख रुपैयाँ घाटा भएको देखिन्छ।

विभागको विवरण अनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड, युएईसँग ३९ अर्ब ७७ करोड र इन्डोनेसियासँग १२ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा छ। व्यापार नाफा भएका मुलुकमा रोमानिया (५ करोड ५२ लाख), नर्वे (३ करोड ३३ लाख) र आइसल्याण्ड (२ करोड ५७ लाख) रहेका छन्।

आयात र निर्यातका मुख्य वस्तु नेपालमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। सात महिनामा ६९ अर्ब ९१ करोडको डिजेल, ३८ अर्ब १३ करोडको पेट्रोल र ३१ अर्ब ८५ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। यस्तै, ३१ अर्ब ९ करोडको फलाम, २१ अर्ब ३२ करोडको स्मार्टफोन, ५९ अर्ब १३ करोडको कच्चा सोयाबिन तेल र २१ अर्ब २० करोडको सुन आयात भएको तथ्यांकले देखाउँछ।

निर्याततर्फ सोयाबिन तेल सबैभन्दा अगाडि छ, जसको निर्यात ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबर भएको छ। यसैगरी, ८ अर्ब ६१ करोडको अलैँची, ५ अर्ब ७८ करोडको सूर्यमुखी तेल र ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको विभागले बताएको छ।