नेप्से परिसूचक २० अंकले घट्यो, ८ अर्ब ३६ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा ओर्लिए पनि कारोबार रकम भने ८ अर्ब ३६ करोड नाघेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २०.७५ अंकले गिरावट आएसँगै २६४२.१५ विन्दुमा कायम भएको हो।

परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ। नेप्सेका अनुसार आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँको शेयर कारोबार भएको थियो।

आज म्युचुअल फन्ड ०.५६ प्रतिशत र व्यापार समूह ०.२२ प्रतिशतबाहेक अन्य सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। सबैभन्दा बढी वित्त समूह २.११ प्रतिशतले घटेको छ। यस्तै, जलविद्युत् १.६३, होटल तथा पर्यटन १.१९ र विकास बैंक १.१८ प्रतिशतले ओरालो लागेका छन्। बैंकिङ, लगानी, लघुवित्त र बीमा समूहमा पनि सामान्य गिरावट देखिएको छ।

आजको बजारमा सलपा विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा भने गिरावट आई नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज रिडि पावर कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ५३ करोड ३६ लाख १४ हजार ८४२ रुपैयाँ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।