‘नन–जेरो–सम गेम’ अवसरवादीहरूको खेल हो। किनभने प्रतिस्पर्धी समूहहरू परस्पर अन्तर्विरोधी र परिपुरकीय दुवै खालका स्वार्थहरूबाट निर्देशित हुन्छन्।
महाभारतको युद्धको लागि ठाउँठाउँबाट योद्धाहरू ससैन्य हस्तिनापुर आउने क्रम जारी थियो। पाण्डव बन्धु नकुल, सहदेवका मामा मद्रराज शल्य पनि भाञ्जाहरूलाई सहयोग गर्न मद्रदेशबाट हस्तिनापुरको बाटो लागे। शल्य अलि सोखसयल र आनन्द, मोजमस्ती रुचाउने प्रवृत्तिका व्यक्ति थिए। शल्यको यो स्वभावबारे सबै जानकार नै थिए। दुर्योधनलाई थाहा नहुने कुरै भएन।
तत्कालीन समयका औँलामा गन्न सकिने महान् योद्धाहरूमध्ये शल्य एक थिए। युद्धमा शल्यको सहभागिताले ठूलो अर्थ राख्थ्यो। शल्यलाई आफ्नो पक्षमा पार्न खोज्नु युद्ध गर्न तयार कौरव, पाण्डव दुवैको उद्देश्य थियो नै। त्यसबाहेक पनि रथ हाँक्ने कुशलतामा शल्यलाई कृष्णजत्तिकै निपुण पनि मानिन्थ्यो। स्वाभाविक रूपमा दुर्योधन शल्यलाई आफ्नो पक्षमा पार्न चाहन्थे। तर थिए, पाण्डवका मामा!
दुर्योधनले शल्यको स्वभावको हतियार शल्यमाथि न प्रहार गर्ने योजना बनाए। शल्यलाई बाटोमा ठाउँठाउँमा आरामको राम्रो बन्दोबस्त गरिदिए। शल्यले रुचाउने भोजनदेखि उनले के चाहन्छन्, त्यसको उचित व्यवस्थापन गर्न दुर्योधनले मानिसहरू खटाए। ठाउँठाउँमा स्वागतद्वारदेखि खानपान र सारा कुराको उच्च प्रबन्ध देखेर शल्य गद्गद् भए। यस्तो व्यवस्था भान्जाहरूबाहेक अरू कसैले गर्यो होला भन्ने शंका पनि उनको मनमा पलाएन। त्यसैले उनले जसले यस्तो आवभगतको सुव्यवस्था गर्यो, त्यसको पक्षमा अन्तिम साससम्म लड्ने सार्वजनिक प्रण गरे।
एकपछि अर्को स्वागतद्वार र आश्रयस्थल हुँदै शल्य हस्तिनापुर आइपुगे। अन्तिम आश्रयस्थलमा उनलाई स्वागत गर्न उपस्थित थिए दुर्योधन१ बाटोमा सारा सुव्यवस्था र सत्कार दुर्योधनले गर्न लगाएका रहेछन् भन्ने बुझ्न शल्यलाई बेर लागेन। कुनै सोधपुछ नगरी भेटेको सुविधाको उच्च भोग गर्दै त्यसको रापतापमा आफूले गरेको प्रण सम्झेर शल्य एकपटक खिन्न पनि भए। तर प्रणमा चुकिसकेका र दुर्योधनको स्वागत स्विकारिसकेकाले उनले युद्धमा दुर्योधनको साथ छोड्न मिलेन। दुर्योधनकै पक्षबाट मैदानमा उत्रिए र शत्रु (पाण्डव) पक्षको पराजयको लागि योगदान पनि गरे।
नेपालको राजनीतिमा पछिल्लो समय दृश्यमान केही असामान्य परिघटनाले महाभारतको यो कथा सम्झना गराउँछ। संसद्को गणितमा एमाले समर्थित माके अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा भारी मत थियो। विश्वासको मत पास हुन चाहिनेभन्दा धेरै नै मत थियो प्रचण्डको पक्षमा। प्रचण्डलाई नेपाली कांग्रेसको सहयोग चाहिएको थिएन। नेपाली कांग्रेसले विश्वासको मत नदिँदा सरकार ढल्ने अवस्था पनि थिएन। तर नेपाली कांग्रेस दाहाललाई आफ्नो पक्षमा पार्ने गरी ‘फकाउने’ मनसायले संसद्मा प्रकट भयो। प्रचण्ड हिँड्ने बाटोमा ‘फूल ओछ्याउन’ होस् वा ‘स्वागतद्वार निर्माण गर्न’ उपयुक्त अवसरको खोजीमा थियो नेपाली काङ्ग्रेस।
विश्वासको मतको प्रस्तावले कांग्रेसलाई यो अवसर प्रदान गर्यो। जसरी पनि पद प्राप्त गरी छाड्ने र प्रम बनेरै छाड्ने प्रचण्डको कमजोरीलाई छामेको कारण नेपाली कांग्रेसलाई त्यो उत्साह पलाएको हुनसक्छ। नेकालाई लागेको हुनसक्छ, आधा कार्यकालको साटो पुरै कार्यकाल प्रम बन्न पाउने अवसर आए प्रचण्डको एमालेप्रतिको ‘बफादारिता’ फर्कनसक्छ।
शल्य पाण्डवको मामा भएकोले युद्धको दौरान कतै घात हुनसक्छ भन्ने अलिकति पनि सोचाइ दुर्योधनको मनमा उब्जेन। शल्य सुखसयल र मोजमस्तीका लागि भाञ्जाहरूलाई पनि बिर्सन्छन् भन्ने विश्वास थियो दुर्योधनलाई। साथै राजा पाण्डुले मद्रदेशमा आक्रमण गरेर मद्रराजकुमारी माद्रीलाई युद्ध सन्धिको साटो जबरजस्ती विवाह गरेका थिए। शल्यलाई यो कुरा चित्त बुझेको थिएन। शल्यजस्तो बलवान राजा यसरी हस्तिनापुर नरेश पाण्डुसँग दबिनुपरेको थियो। यसकारण शल्यको पाण्डवसँग राम्रो सम्बन्ध थिएन। महाभारतको कथामा यो स्पष्ट देखिन्छ। वनवासको समय र कैयौँ अप्ठेरो अवस्थामा पनि पाण्डवहरूले शल्यको सहयोग याचना गरेका थिएनन्।
न शल्यले नै सहयोगको हात बढाए। एकप्रकारले भन्दा उनीहरूबीच अघोषित द्वन्द्व नै थियो। यसैबीच युद्ध हुने भएपछि कृष्णको सल्लाहबमोजिम नकुल, सहदेवले मामाको सहयोगको लागि अनुरोध गरेका थिए। यो परिस्थितिसँग जानकार दुर्योधनलाई पाण्डवले बोलाउँदैमा वा पाण्डवपक्षबाट युद्ध लड्ने मनसाय राख्दैमा शल्य पाण्डवकै भइहाल्छन् भन्ने विश्वास हुने कुरा पनि भएन। मौका पाए शल्यले पाण्डवहरूलाई घात नै गर्छन् भन्ने विश्वास थियो दुर्योधनमा। पाण्डवहरूबाट त्यस्तो स्वागत सत्कार हुने सम्भावना पनि थिएन। योद्धालाई युद्धको लागि मैदानमा उत्रिने अवसरको खोजी भइरहन्छ। कुन पक्ष भन्ने कुरा गौण हुन्छ।
युद्धलाई क्षेत्रीय धर्म मानेर युद्ध मैदानमा उत्रिनेको हकमा जसको पक्षमा लडेको छ, उसको पक्षमा इमानदार हुने नैतिकता नै प्रधान हुन्छ। पाण्डवपक्षबाट पहिला हात अघि बढेकोले शल्य पाण्डवको पक्षमा लागेका हुन सक्छन् भन्ने दुर्योधनले ठान्नु अन्यथा पनि थिएन। ढिलो भए पनि गल्तीलाई सुधार गर्न स्वागत र आवभगतको अतिरिक्त लगानी गर्दा लाभ हुनसक्छ भने किन नगर्ने भन्ने दुर्योधनको निर्णय गलत पनि थिएन।
यता नेका र माके एमाले तथा यसका अध्यक्ष ओलीविरुद्ध दुई वर्षभन्दा अघिदेखि मोर्चाबन्द थिए। स्थानीय, प्रदेश र संघीय तीनै चुनावमा सिट बाँडफाँड गरेर एकार्कालाई भोट दिएका यी दुई पार्टी मिलेरै सरकार बनाउने लगभग निश्चित थियो।
तर कांग्रेसले मौकामा प्रचण्डको मागको सम्बोधन गर्न सकेन। प्रचण्ड जसरी पनि प्रधानमन्त्री हुने आकांक्षाले निर्देशित थिए। एमाले र ओलीकहाँ प्रचण्ड पुग्न सक्छन् भन्ने थोरै मात्र पनि अनुमान कांग्रेसवृत्तमा थिएन। यद्यपि प्रचण्डको त्यस्तो इतिहास नभएकै भने चाहिँ होइन। पाँच वर्षअघि मिलेमतोमा स्थानीय तहको निर्वाचन लडेका पनि थिए। तर संघीय चुनावमा माके देउवा नेतृत्वको सरकारमै बसेर एमालेसँग मोर्चाबन्दी गरेर भाग लिएको थियो। तर यसपटक त्यो सम्भावना नेका र देउवा समूहले देखेन। अथवा देख्न चाहेन। त्यसैले देउवा रणनीति प्रचण्डलाई गलाउने नियतले निर्देशित रह्यो। प्रचण्डको मनोविज्ञानलाई सम्बोधन गरिहाल्ने चटारो कांग्रेसलाई परेन।
शल्यलाई स्वागत गरिसकेपछि दुर्योधनलाई ढुक्क भयो। शल्यको लागि आवश्यक प्रबन्धको निर्देशन दिएर दुर्योधन अन्य व्यवस्थापनमा लागे। तर दुर्योधनका मान्छेले शल्यको सत्कार र रेखदेखमा पर्याप्त ध्यान दिएनन्। दुर्योधनले पनि नियमित पछ्याएनन्। युद्ध हुन समय अझै थियो। शल्यलाई अवकाश प्राप्त भयो। दुर्योधनले पर्याप्त चासो दिन सकेनन्, आफ्नो क्याम्पमा आइसकेपछि त्यसमा अतिरिक्त मिहिनेत गर्न सायद जरुरी पनि ठानेनन्।
क्याम्पबाट निस्किएका शल्य युधिष्ठिरकहाँ पुगे।
युधिष्ठिरले उचित स्वागत सत्कारमा कुनै कमी हुन दिएनन्। शल्यले नै मुख फोरे आफू दुर्योधनको पक्षबाट युद्धमा भाग लिनुपर्ने बाध्यतामा परेको बारे। शल्यले बाध्यता र नैतिकताको दुहाइ दिए। तर, आमोदप्रमोदको सट्टेबाजी थियो यो बाध्यता र नैतिकता भन्ने कुराचाहिँ बताएनन्, यद्यपि युधिष्ठिरलाई यो राम्रो ज्ञात थियो। यो बीचमा पनि आवश्यक सहयोग गर्न परे कुनै एक सहयोग गर्न शल्य तयार भए। कृष्ण पनि साथै थिए। उनलाई दुर्योधनका तर्फबाट भइरहेको युद्धको तयारीको सारा अवस्था जानकारी नै थियो। युद्धको उत्कर्ष अर्जुन र कर्णको युद्धमा हुने पनि प्रस्ट थियो। अर्जुनको लागि कुशल सारथि कृष्ण स्वयं थिए।
उता दुर्योधनको पक्षमा कर्णको लागि सारथि बन्ने कृष्ण सरहको योग्य व्यक्ति शल्यबाहेक कोही थिएन। दुर्योधनले शल्यलाई त्यसको लागि कसै गरी तयार पार्नेछन् भनेर सोच्न कृष्णलाई बेर लागेन। त्यसैले उनको सल्लाहबमोजिम युधिष्ठिरले शल्यसँग त्यो अवस्था आइपरेमा कर्णलाई निरन्तर निरुत्साहन गरिरहन अनुरोध गरे। आखिर त्यो दिन पनि आयो। शल्यले कर्णको सारथि बन्नैपर्ने भयो। राजा भएर ‘सुतपुत्र’ कर्णको सारथि बन्नुमा ग्लानि त छँदै थियो। त्यो कार्यमा बाध्य पार्ने दुर्योधनसँग पनि शल्य खुशी भएनन्। व्यर्थै दुर्योधनको पक्षमा लागेछु भनेर दुःख मनाउ पनि गरे। कम्तीमा भाञ्जाहरूको पक्षबाट लडेको भए लोकले राम्रो त मान्थ्यो पनि लाग्यो। त्यसैले शल्यले त्यो समयलाई युधिष्ठिरको आग्रहबमोजिम सहयोग गर्ने विचार गरे र सारथ्य गरिरहँदा बारम्बार कर्णलाई होच्याउने र अर्जुनको गाथा गाउने काम गरिरहे।
कर्ण आफैँ सक्षम र कुशल योद्धा थिए। युद्धको लागि शल्यलाई कर्णको सारथि बन्न बाध्य गरिनु हुन्नथ्यो। पहिलो कुरा शल्य मद्रदेशबाट निस्कँदै गर्दा पाण्डव पक्षबाट लड्न संकल्पित भएर निस्किएका थिए। शल्यलाई संकल्पच्युत पार्ने प्रयास गर्नु रणनीतिक हिसाबले ठिक देखिए पनि अन्ततः त्यो नोक्सानदायी हुन सक्थ्यो। भयो पनि। बीचमा सेवासत्कार र सुखसयल उपलब्ध गराएको मूल्यस्वरूप दुर्योधनले शल्यबाट आफ्नो स्वार्थपूर्ति गराउन खोज्नुले दुर्घटना निम्त्याउन सक्थ्यो। निम्त्यायो पनि। रथको पाङ्ग्रा भासिएपछि कर्णले जति अनुरोध गरे पनि पाङ्ग्रा उठाउन शल्य रथबाट ओर्लेनन्। त्यसको सट्टा कर्णको निन्दा गर्न छोडेनन्। शल्य त्यो समयको केही बलवान व्यक्तिहरूमध्ये एक थिए।
भीम, जरासन्ध, बलराम, शल्य र किचक पाँच बलवानमध्ये किचक र जरासन्धको मृत्यु भैसकेको थियो। बलराम तीर्थ गएका थिए। शल्यले चाहेको भए रथको पाङ्ग्रा सजिलै उठाएर रथलाई सही बाटोमा ल्याउन सक्थे। तर कर्ण आफैँ ओर्लिनु पर्यो। र त्यो समय नै कर्णको लागि काल बन्यो। नत्र निहत्था नहुँदासम्म कर्णको वध हुन सक्दैनथ्यो। दुर्योधनले शल्यले नमागेको आमोदप्रमोदसहितको सुविधा दिएर त्यसको मूल्य माग्दा यो परिणति भएको दृष्टान्त महाभारतमा पढ्न पाइन्छ।
संसदीय गणितमा एमालेसहितको गठबन्धन बनेर प्रचण्ड प्रधानमन्त्री नियुक्त भैसकेका थिए। समयमा प्रचण्डको मागको सम्बोधन नगर्दा प्रचण्डले मोर्चा फेरेका थिए। विश्वासको मतको लागि कांग्रेसको साथ चाहिएको थिएन। अनौपचारिक भेटघाटमा भएको कुरालाई टेको लगाएर नेकाले प्रचण्डलाई नमागिएको विश्वासको मत दियो। विश्वासको मत दिँदै गर्दा पनि कुनै लेनदेन वा सौदाबाजी नभएर ‘संविधानको रक्षार्थ’ भन्ने कवच पहिरेको थियो कांग्रेसले। तर विश्वासको मतमा चिनु लगाएको मसी सुक्न नपाउँदै कांग्रेसले सभामुख चुनावमा प्रचण्डको सहयोगको अपेक्षा गरेको समाचार सार्वजनिक भयो। नेकाभित्रको गैर–देउवा समूहका नेता शेखर कोइरालाले समेत राष्ट्रपति चुनावमा माओवादीको सहयोगको अपेक्षा गरेर नमागिएको र नचाहिएको विश्वासको मत दिएको कुरा सार्वजनिक गरे।
नमागिएको र नचाहिएको मत दिनु एकातिर र लगत्तै त्यसको मूल्यको माग पनि गरिहाल्नुलाई नेपाली कांग्रेसको राजनीतिक कुशलता भन्न कदापि मिल्दैन। नमागिएको मत दिएबापत नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षी हैसियत पनि धरापमा परेको छ। भोलि यसको विरुद्ध अदालतको राय मागिने सम्भावना पनि प्रबल देखिइसकेको छ। आज प्रचण्ड सरकारले नमागेको र उनीहरूलाई नचाहिएको सहयोग हौसिएर गर्दैमा भोलि त्यसको मूल्य चुक्ता गर्न प्रचण्डलाई बाध्य पार्न खोज्दा कुनै दुर्घटना त निम्तिँदैनरु स्वेच्छाले गरेको दानबापतको प्रतिदानको अपेक्षा गर्दा प्रतिदानको लागि थप मूल्य के चुक्ता गर्ने योजना छ कांग्रेसकोरु एमालेलाई ‘देखाइदिन’ राष्ट्रपतिमा सहयोग गरे पाँचै वर्ष प्रधानमन्त्री बन्न दिने बकपत्र गर्ने भित्री योजना त होइन?
सवाल शल्य को हो भन्ने होइन। सवाल शल्यलाई कसले र कुन नियतले प्रयोग गर्छ भन्ने हो। सवाल शल्यको उद्देश्य के हो भन्ने पनि हो। माथि भनिसकियो, शल्य एक सेनापति हो, एक महारथी हो। महारथीलाई युद्ध मैदान चाहिन्छ। सवाल महारथीलाई कसले मैदानमा ओराल्छ, कुन हैसियतमा ओराल्छ भन्ने पनि हो। साथै, शल्य महारथीको अलावा एक व्यक्ति पनि हो। व्यक्तिको आकांक्षा हुन्छ, कामना हुन्छ। शल्यको पनि थियो। माके र नेका दुई वर्षभन्दा बढिदेखि सहकार्य गर्दै धेरै अघि पुगिसकेका थिए। एकार्कालाई भोट हालाहाल गरेका पनि थिए।
प्रचण्ड त्यही गठबन्धनको एक महारथी हुन्। स्वागतद्वार र भड्किलो आवभगत देखेर आफ्नो क्याम्प छोडेर विरोधी क्याम्पमा प्रवेश गर्ने महारथीलाई पुरानो गठबन्धनको नैतिक बन्धन कति मजबुत हुन्छ त्यो यसै भन्न सकिन्न। नेकाले त्यही नैतिक बन्धनलाई नासोमा लिएर विश्वासको मत मात्र दिएन, प्रतिदानको अपेक्षा पनि सार्वजनिक गरिसक्यो। दुर्योधन पक्षबाट लडे पनि शल्यले निर्णायक मोडमा युधिष्ठिरको लागि डटेर कर्तव्य निर्वाह गरे। तर एउटा कुरा के पनि सत्य हो भने महारथीलाई युद्धमा प्रधानसेनापति हुने लालसा रहन्छ। शल्यलाई पनि थियो। कर्ण तगारो बनेर तेर्सिएका थिए। कर्णपछि प्रधानसेनापति बने पनि। जित–हार भनेको त युद्धको एउटा परिणति न हो। पाण्डव पक्षमा भएको भए शल्यलाई त्यो अवसर आउने थिएन।
शल्यबाट युद्धकै दौरान युधिष्ठिरको कुनै काम फत्ते हुनसक्छ भन्ने दुर्योधनलाई भन्को थिएनरु महाभारतको कथाले त्यो अनुमान गर्ने अवकाश दिँदैन। त्यसो भए किन शल्यलाई भित्र्याए तरु शल्यजस्तो महारथीले रणमैदानमा उत्रिसकेपछि शत्रुपक्षको ठुलै संहार गर्ने पक्का भएकैले सम्भावित जोखिम लिएका हुनसक्छ दुर्योधनले। साथै त्यति संहार आफ्नो पक्षमा हुनबाट पनि जोगियो। तर दुर्योधनले सबभन्दा बढी भर गरेको र युद्धको पासा पल्टाउन सक्ने सेनापति कर्णकै निर्णायक युद्धमा शल्यले दगा गरिदिए। यो अवस्थामा दुर्योधनले शल्यमार्फत प्राप्त उपलब्धिलाई सोचेर सन्तुष्टि लिने कि निर्णायक पराजयमाथि दुखी हुनेरु अन्तमा शल्यको वध त युधिष्ठिरकै हातबाट भयो।
कृष्णका अनुसार यो नियति पूर्वनिर्धारित नै थियो। हाम्रो संसदीय खेलमा पनि दुर्योधन, शल्य र युधिष्ठिर आ–आफ्नो भूमिकाअनुसार सही नै ठहरिएलान्। पात्र साटफेर हुनसक्छ, तर भूमिका दोहोरिन्छ। जे हुन्छ, त्यसलाई नियतिको खेल ठाने भैगयो। महाभारतको युद्ध शल्यको हकमा भने ‘नन–जेरो–सम गेम’ हो। हाम्रो संसदीय खेल पनि ‘नन–जेरो–सम गेम’ नै हो। प्रतिस्पर्धी समूहबीच प्रतिस्पर्धा मात्र हुन्न, सहयोग र सहकार्य पनि हुन्छ। ‘नन–जेरो–सम गेम’ मा यही नै सर्वस्वीकार्य रणनीति भन्ने हुन्न।
ठेट भाषामा भन्दा ‘नन–जेरो–सम गेम’ अवसरवादीहरूको खेल हो। किनभने प्रतिस्पर्धी समूहहरू परस्पर अन्तर्विरोधी र परिपुरकीय दुवै खालका स्वार्थहरूबाट निर्देशित हुन्छन्। ‘नन–जेरो–सम गेम’ वास्तवमा ‘विन–विन गेम’ हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
