राष्ट्र बैंकले बैंकिङ निर्देशन र ऐनको बर्खिलाप कार्य गरेको भन्दै एनआईसी एशिया बैंकका तत्कालीन पदाधिकारीलाई जरिबाना तथा ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सचेत गराएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंक ऐन तथा बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनविपरीत कार्य गरेको भन्दै एनआइसी एसिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन्।
“एनआइसी एशिया बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको र लिखित आदेशको समेत पालना नगरेकाले बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई जरिबाना गरिएको छ,” राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको कारबाही विवरणमा उल्लेख छ। उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम दुई लाख रुपैयाँ जरिबाना गरिएको हो।
त्यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन–२०८२ का आधारमा कैफियत देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। एकीकृत निर्देशन–२०८१ अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेकाले सिइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। निरीक्षणका क्रममा बैंकको ‘कोर बैंकिङ सफ्टवेयर’मा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’ मा राखी पुनः सिर्जना गर्न सक्ने जोखिमपूर्ण अवस्थासमेत पाइएको छ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले राष्ट्र बैंकको निर्देशन विपरीत कर्जाको सुरक्षण नहुने गरी कागजातमा ग्राहकको सहीछाप नगराएको तथा धितोको सुरक्षणले खामेभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ।
एउटै प्रकृतिका कर्जाहरूको ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ विपरीत त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जाहरू प्रवाह गरेका कारण बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
