टी–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। अमेरिकाको भने यो लगातार दोस्रो हार हो।

काठमाडाैँ– पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब (एसएससी) ग्राउण्डमा भएको खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो।

शुभम रन्जानेको अर्धशतक तथा शायन जहागिरको ४९ रन बनाएपनि अमेरिकाले जितसम्म पुग्न सकेन। अमेरिका लागि रन्जानले ३० बलमा ३ चौका र३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए। ओपनर जहांगिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए। मिलिन्द कुमारले २२ बलमा २९ तथा ओपनर विकेटकिपर आन्द्रेस गौसले १३ बलमा १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्।

पाकिस्तानका लागि उस्मान तारिकले ३, शदाब खानले २ तथा शाहिन साह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १ विकेट लए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। पाकिस्तानका ओपनर साहीबजादा फरहानले ४१ बलमा ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ७३ रन जोडे।

यस्तै बाबर अजामले ३२ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ४६ रन बनाए। शदाब खानले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे।

अमेरिका स्याडली भान स्यालवाएकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। उनले लगातार दोस्रो खेलमा ४ विकेट लिएका हुन्। यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए। उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन्।

पाकिस्तानबाट टेस्ट र ओडिआई खेलिसकेका एहसान आदिलले पाकिस्तान विरुद्ध नै टी–२० विश्वकपमा खेल्दै अमेरिकाको लागि डेब्यू गरे। तर उनले ३ ओभरमा ३९ रन खर्चेर पनि विकेट लिन सकेनन्।

समूह ए मा लगातार दुई खेल जितेर ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ। पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। अमेरिकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा अमेरिका भारतसँग पराजित भएको थियो।