सिन्धुलीबाट पहिलोपल्ट जनकपुर आउँदा समथल मधेश देख्दा 'पहाड नभएको पनि ठाउँ हुँदो रहेछ' भन्दै अचम्भित भएको मलाई पारि किनारा नदेखिने जलाशय पनि हुँदो रहेछ भन्ने कुराले बेग्लै रोमाञ्चकता दियो।
सन् १९९१ मा सोभियत संघ टुक्रिएपछि युक्रेन गणराज्यअन्तर्गत पर्न गएको, सन् २०१४ देखि रुसी गणराज्यले आफूमा गाभेको तर गाभेको विषयलाई धेरै देशले मान्यता नदिएको सन्दर्भमा अहिले क्रिमिया प्रायद्वीप चर्चामा छ। कुनैबेला म क्रिमिया भ्रमणमा पुगेको थिएँ र त्यसका सम्झना अहिले पनि ताजै छन्। यो प्रायद्वीप (तीनतिरबाट पानीले घेरिएको जमिन) कृष्ण सागरको उत्तरी तटमा रहेको र रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण र प्राकृतिक रूपमा सुन्दर क्षेत्र हो। यसैकारण क्रिमियाले इतिहासमा धेरै सैनिक एवं भूराजनीतिक उथलपुथल भोगेको छ।
सन् १९८६ को जुलाईमा हाम्रो कलेजले क्रिमिया भ्रमण आयोजना गर्ने र सहभागी हुन इच्छुकलाई नाम टिपाउन सूचना दियो। म उतिखेर बेलोरसियन पोलिटेक्निक इन्स्टिच्युटमा पढ्थेँ। यो तत्कालीन सोभियत संघको बेलारुसिया गणराज्य (अहिले बेलारुस)को राजधानी मिन्स्कमा रहेको छ।
नयाँ ठाउँ घुम्ने विषय सबैका लागि रोमाञ्चक हुन्छ नै। त्यसमाथि क्रिमिया र त्यस वरपरको कृष्ण सागरको सुन्दरताबारे पहिलेदेखि नै धेरै बयान सुनिएको थियो। त्यहीकारण पनि मैले त्यसमा आफ्नो नाम लेखाएँ।
हाम्रो यात्रा मिन्स्क शहरका दुई 'नागरिक एयरपोर्ट'मध्ये शहरभित्रको एयरपोर्ट-१ बाट शुरू भयो। मिन्स्कको दोस्रो एयरपोर्टचाहिँ शहरबाहिर करिब ४० किलोमिटर टाढा पर्थ्यो। त्यसबाहेक अरू सैनिक एयरपोर्ट पनि छन् रे त्यहाँ भन्ने उतिखेर सुनिएको थियो तर कति वटा छन् भन्नेबारे थाहा हुने कुरा भएन। हाम्रो टोलीमा १० जना जति विभिन्न देशका विद्यार्थी र दुई शिक्षक सामेल थिए। क्रिमियाका लागि हाम्रो हवाईजहाज समयमै उडेको थियो।
उडानका क्रममा बाटोमा हवाईजहाजका झ्यालबाट हरिया फाँटहरू देखिए। धेरै उत्पादकत्व भएको माटोले भरिपूर्ण युक्रेनका विशाल फाँट थिए ती। मसँग उतिखेर 'रिलवाला' क्यामेरा भएकाले अहिलेजस्तो अन्धाधुन्ध फोटो लिनूपूर्व धेरै सोचविचार गर्नुपर्थ्यो। जम्मा ३६ वटा मात्र फोटो आउने 'फोटो फिल्म' किफायती तरिकाले प्रयोग गर्नुपर्ने बाध्यता थियो। आधाउधी बाटो पार गरेपछि हाम्रो जहाज युक्रेनको कुनै सैन्य संवेदनशील ठाउँ हुँदै उड्दै रहेछ। त्यहाँ पुगेपछि पाइलटले ‘यस क्षेत्रमा कुनै पनि क्यामेरा वा बाइनाकुलर प्रयोग गर्न प्रतिबन्ध गरिएको’ घोषणा गरे। त्यसो हुँदा हवाईजहाजबाट जमिनका फोटो खिच्ने मौका मिलेन।
मिन्स्कबाट उडेको करिब दुई घण्टामा हाम्रो जहाज क्रिमियाको राजधानी सिम्फेरोपोल उत्रियो। उत्रनेबित्तिकै मिन्स्कको तुलनामा एकदमै गर्मी र ओसयुक्त मौसमको अनुभव भयो। हामी आ–आफ्ना झोलाहरू लिएर वासस्थानका लागि बस चढ्यौँ। बसमा चढेर हामी सफा र सुन्दर फराकिला सडक, हरियाली पार्क र 'बुलभार'हरू हुँदै अघि बढ्यौँ। प्रशस्त जग्गाजमिनसहित उच्चस्तरका योजनाबद्ध शहर निर्माण गरिने भएकोले सोभियत संघका सबै शहरहरू निकै फराकिला र आकर्षक हुन्थे। शहरमा हरियाली क्षेत्र यति धेरै हुन्थ्यो कि शहरभित्र पार्क हो कि पार्कभित्र शहर बसेको हो, छुट्याउन गाह्रो परेझैँ हुन्थ्यो। बसबाट ओर्लेर हामी कुनै कलेजको होस्टल पुग्यौँ। बाँकी सात दिनको हाम्रो वासस्थान यही थियो।
भोलिपल्ट हामी क्रिमियाको दक्षिणी समुद्री तटमा रहेको याल्टा शहर घुम्न थाल्यौँ। सिम्फेरोपोलबाट याल्टाको दूरी झन्डै ९० किलोमिटर रहेछ। सिम्फेरोपोलको रेलवे स्टेसन नजिकको बसपार्कबाट बस चढ्यौँ। यति लामो दूरीमा चल्ने सो बस बिजुलीबाट चल्ने (ट्रलीबस) रहेछ। काठमाडौँको त्रिपुरेश्वरदेखि सूर्य विनायकसम्मको जम्मा १३ किलोमिटर ट्रलीबस मात्र देखेको मलाई त्यति लामो दूरी, अझ त्यस्तो पहाडी भू-बनोटमा पनि ट्रलीबस चलाउन मिल्ने रहेछ भन्ने जानेर अचम्म लाग्यो। पछि आएर मात्रै मलाई थाहा भयो कि यो त संसारकै सबैभन्दा लामो ट्रलीबस लाइन पो रहेछ।
सिम्फेरोपोल र याल्टा एउटै पहाडी शृंखलाको उत्तरपट्टि र दक्षिणपट्टि रहेकाले पहाडी भन्ज्याङ पार गरेर याल्टा जानुपर्थ्यो। 'अंगार्स्की' नामको त्यस भन्ज्याङ र त्यस सडकको उच्चतम बिन्दुमा पुगेपछि एकछिन् आराम गर्न वा खाजा खान यात्रुलाई केही समय उपलब्ध गराइँदो रहेछ। भन्ज्याङको उचाइ जम्मा ७ सय ५० मिटर मात्रै हो तर भन्ज्याङको टुप्पोमा पुग्दा स्थानीय यात्रीहरू कत्रो न उपलब्धि हासिल गरेझैँ निकै हौसिएका देखिन्थे। काठमाडौँको १३-१४ सय मिटरको उचाइमा जीवन बिताउने हाम्रा लागि उनीहरूको 'हौस्याइ' अनौठोलाग्दो हुने नै भयो।
निकै लामो रुटमा चल्ने भएकोले ट्रलीबसलाई बिजुली लाइनसँग जोड्ने तारको छेउमा हुने कार्बन ब्रस निरन्तरको घर्षणले धेरै खिइने रहेछ। त्यसैले कार्बन ब्रस दिनको एकपल्ट फेर्नुपर्ने हुँदो रहेछ। यात्रुहरूलाई खाजा खान दिइएको समय छेकेर चालकले ब्रस फेर्ने काम त्यही भन्ज्याङमा गर्दा रहेछन्। यो भन्ज्याङ कटेपछि जीवनमा पहिलोपटक समुद्रको दृश्य देख्न पाइनेछ भन्ने मनमा कौतुहल थियो। भन्ज्याङ कटेपछि ओरालो झर्न शुरू भयो। लगत्तै अगाडि दक्षिणतर्फ विशाल र सुन्दर कृष्ण सागर देखियो।
सिन्धुलीबाट पहिलोपल्ट जनकपुर आउँदा समथल मधेश देख्दा ‘पहाड नभएको पनि ठाउँ हुँदो रहेछ’ भन्दै अचम्भित भएको मलाई पारि किनार नदेखिने जलाशय पनि हुँदो रहेछ भन्ने कुराले बेग्लै रोमाञ्चकता दियो। पहाडको दक्षिण काखबाट शुरू हुने कालो रङको समुद्र अनि त्यहाँ तैरिरहेका सानाठूला जहाजहरूको दृश्य निकै रोमाञ्चक देखियो। सल्फरको मात्रा बढी भएकोले यो समुद्रको पानी अलि बढी कालो रहेछ, त्यसैले ब्ल्याक सी (कृष्ण सागर) नाम दिइएको रहेछ।
विकसित देशहरूले आफ्ना जलमार्गहरूको निकै लोभलाग्दो तरिकाले भरपूर उपयोग गरेका छन्। सोभियत संघको लागि त कृष्ण सागर जलमार्गहरूको 'हब'कै रूपमा रहेको छ। यातायातसम्बन्धी इन्जिनियर भएको नाताले मलाई सोभियत संघको जलमार्ग प्रणाली निकै चाखलाग्दो लागेकोले कृष्ण सागरसँग जोडिएका जलमार्ग प्रणालीहरूको सरसर्ती वर्णन गर्न मन लाग्यो।
कृष्ण सागरको पूर्वोत्तर कुनामा आजोभ समुद्र छ। आजोभमा दोन नदी आएर मिसिन्छ। त्यस नदीको अलि मास्तिर पुगेपछि भोल्गा नदी दोनको निकै नजिक आएर क्यास्पियन समुद्रमा गएर खस्छ। यही दुई नदी नजिकिएको ठाउँमा इन्जिनियरहरूले 'भोल्गा-दोन' नामको कृत्रिम जलमार्ग बनाएर दुई नदीलाई जोडिदिएका छन्। उत्तरी दिशाबाट बग्दै आएको भोल्गालाई यसको मुहानबाट फेरि यस्तै अर्को कृत्रिम जलमार्ग बनाएर उत्तरमा रहेको बाल्टिक सागरसँग पनि जोडिएको छ। यस प्रकार बाल्टिक, क्यास्पियन र कृष्ण सागरहरू एक आपसमा जलमार्ग हुँदै महासागरसँग जोडिएका छन्। यसैगरी पश्चिम दिशाबाट बगेर आउने युरोपको प्रसिद्ध नदी डेन्युब पनि कृष्ण सागरमै प्रवेश गर्छ। डेन्युबलाई पनि कृत्रिम जलमार्गकै सहायताबाट युरोपकै अर्को प्रसिद्ध राइन नदीसँग जोडेर बेलायत र युरोपीय प्रायद्वीपको बीचमा पर्ने उत्तरी सागरसँग जोडिएको छ।
अंगार्स्की भन्ज्याङबाट हिँडेको केहीबेरमा पहाडको फेदीमा रहेको आलुस्टा शहर पुग्यौँ र दिउँसोको खाना खायौँ। अत्यन्त सुन्दर समुद्री तट (बिच) भएको 'रिसोर्ट शहर' हो आलुस्टा। केहीबेर आलुस्टाको समुद्री किनारामा गयौँ। किनाराको बालुवामा लुगा फुकालेर घाम ताप्ने मानिसहरूको भीड थियो। सही अर्थमा भन्दा खुट्टा राख्ने ठाउँ पनि थिएन त्यहाँ। रोचक के थियो भने समुद्री किनाराबाट ४०-५० मिटरको दूरीमा रातो धर्को तानिएको थियो। समुद्री किनारामा लगाइने अर्धनग्न पोसाक लगाएर त्यस धर्को नाघेर शहरतर्फ आउन निषेध रहेछ। नियम तोडे १५ रुबल जरिबाना लाग्ने सूचना ठाउँठाउँमा राखिएको थियो। समुद्र किनारा घुमेपछि हाम्रो यात्रा पुनः याल्टातर्फ जारी रह्यो।
आलुस्टाबाट बस चढेको एक डेढ घण्टामा याल्टा पुगियो। याल्टा संसारकै प्रसिद्ध र अत्यन्तै रमणीय समुद्री किनाराको 'रिसोर्ट शहर' हो। याल्टालाई प्रकृतिले पहाड, पानी र वनको उत्कृष्ट संयोजन गरेर बनाएको अनुपम सृष्टिको नमुनाभन्दा फरक नपर्ने रहेछ। यसका साथै, दोस्रो विश्वयुद्धको अन्त्यतिर युद्धपश्चात् जर्मनी र समग्र युरोपका देशहरूका क्षेत्रलाई कसरी व्यवस्थापन वा भागबन्डा गर्ने भनेर उतिखेर विजेता हुन आँटेका महाशक्ति राष्ट्रहरू, सोभियत संघ, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका प्रमुखहरूको साझा सम्मेलनसमेत त्यहाँ भएकोले शहरको ऐतिहासिक महत्त्व छ। उक्त सम्मेलन रुसी जारको गृष्मकालीन आराम गृह र निकै आकर्षक लिभाडिया दरबारमा भएको थियो। अहिले संग्रहालयका रूपमा विकसित भएको रहेछ लिभाडिया। सम्मेलनताका तीन देशका तीन प्रमुखहरूलाई तीन आलिसान दरबारहरूमा बस्ने व्यवस्था गरिएको रहेछ।
अत्यन्त फरासिली र पेशामा दक्ष गाइडले हामीलाई याल्टा घुमाइन्। याल्टाको वर्णन गर्ने क्रममा गाइडले भनेकी थिइन्, "मानिसले यो पृथ्वीमा जम्मा एकपटक मात्र जन्मन पाउँछ, यस्तो अमूल्य जीवन किन यति सुन्दर क्रिमियाको याल्टामा नै नबिताउने?" हामीमध्ये कसैले प्रतिप्रश्न गर्यो, “त्यो कसरी सम्भव छ त?" उनले भनिन्, "त्यसो गर्न के नै गाह्रो छ र? संसारकै अत्यन्त असल सुन्दरीहरू यहाँ पाइन्छन्। बिहे गरेर मज्जाले घरजम गरेर यहीँ बसे त भइहाल्यो नि!" म्युजियम भ्रमणपछि हामी याल्टामा नै रहेको प्रसिद्ध 'गौँथलीको गुँड' नाम दिइएको घर हेर्न गयौँ। समुद्र किनाराको लगत्तै ठाडो र निकै अग्लो चट्टानमा बनाइएको त्यो घर-संरचना निकै मनमोहक थियो।
भ्रमणको अर्कोदिन हामी क्रिमियाको पुरानो राजधानी बख्चेसराइ गयौँ। पहाडमाथिको समथर भूभागमा पुरानो राजा (खान)को दरबार रहेछ। त्यहाँसम्म जान हामी उकालो बाटो पैदल नै गयौँ। बाटोमा चट्टानमा बनेका प्राकृतिक गुफाहरू रहेछन्। त्यहाँ पुग्नेले चट्टानमा कुँदेर आफ्नो नाम लेख्ने चलन रहेछ। मैले पनि चक्कुले ‘१९८६ को जुलाई ८ मा नेपालका राजेन्द्रराज शर्मा यहाँ आएका थिए’ भनेर चट्टानमा कोरेँ। यसो गर्दा मलाई बडो आनन्दको महसुस भयो।
भोलिपल्ट, १९८६ को जुलाई ९, मेरो जन्मदिन। बिहानै सिम्फेरोपोलबाट रेल चढेर क्रिमियाको पश्चिम दिशामा पर्ने समुद्री किनारा 'एभ्पातोरिया'मा हामी घाम ताप्न गएका थियौँ। तुलनात्मक रूपमा बढी जाडो हुने मिन्स्कबाट न्यानो समुद्री किनारातर्फ गएर कहिले मज्जासँग लुगा खोलेर घाम ताप्न पाइला भनेर हामी प्रतीक्षामा थियौँ। खास गरेर हाम्रा शिक्षिकाहरू त्यसका लागि व्यग्र थिए। अत्यन्त फराकिलो र सफा यो किनारा घाम ताप्नका लागि मात्र नभएर विविध खनिजयुक्त पानीहरूको स्रोत पनि भएकाले स्वास्थ लाभ गर्नका लागि बनाइएका 'स्यानाटोरियम'हरूका लागि प्रसिद्ध रहेछ।
दिनभर समुद्रमा पौडी खेल्दै र बालुवामा घाम ताप्दै बित्यो। समुद्रको पानी निकै नुनिलो हुँदो रहेछ। सोही कारणले गर्दा होला, पौडिन निकै सहज थियो। लगभग बिनापरिश्रम नै पानीमा उत्रेर अड्न सकिन्थ्यो। किनाराबाट समुद्रको गहिराइ नदीको भन्दा निकै छोटो दूरीमा ह्वात्तै बढ्ने हुँदो रहेछ। त्यसबाहेक समुद्रको तातो पानीमाथिको सतहबाट किनारातिर आउने र चिसो पानी किनाराबाट पानीको तल्लो तहबाट समुद्रतिर जाने भएकोले मान्छेलाई पानीले समुद्रतिर तान्न खोज्दो रहेछ। समुद्रमा पौडिँदा यी तथ्यबारे सचेत र सावधान हुनुपर्ने रहेछ। समुद्रमा ज्वारभाटा आउँछ भन्ने मैले सुनेको थिएँ। मलाई चाख लाग्ने विषय पनि भएकोले ज्वारभाटा हेर्न पाइएला भनेर मैले यात्रा गर्नुअघि चन्द्रमाको 'पोजिसन' समेत टिपेर गएको थिएँ । तर महसुस गर्ने गरी ज्वारभाटा आएको देखिएन।
हामी समुद्र किनारामा रहेको सानो 'खुला बियर बार'मा बसेर पिउँदै थियौँ। आफूलाई चित्रकार दाबी गर्ने एक जना हामीसँग गफिन आइपुगेको थियो। उसले हामीलाई 'सिल्हौट पोर्ट्रेट' बनाउने हो भनेर सोध्यो। हामीले त्यसको ज्याला कति पर्छ भनेर सोध्यौँ। गफगाफकै क्रममा उसले त्यसदिन मेरो जन्मदिन थाहा पाइसकेकाले उसले भन्यो "हैट्, कसैको जन्मदिनको उत्सवमा पनि म पैसा लिन्छु र? बरू एक बोतल बियर सँगै पिउँला नि त।"
उसले मलाई एक छेउतिर मुख फर्काएर 'साइड भ्यु' देखिने गरी बस्न भन्यो। अनि एउटा दुई पाने कागज र एउटा कैँची लिएर मेरो अनुहारको 'कन्टुर'मा त्यो कागज काट्यो र मलाई दिँदै भन्यो, "यही हो तिम्रो सिल्हौट पोर्ट्रेट।” तर त्यो चित्र कतै केही मिलेजस्तो लागेन। हामीसँगै बियर खाएर ऊ गयो। बेलुका होस्टलमा फर्केपछि अरू साथीहरूसँग कुराकानी गर्ने क्रममा थाहा भयो, उसले त धेरै जनाको 'पोर्ट्रेट' पो बनाइदिएको रहेछ। रमाइलो त सबैका पोर्ट्रेटहरू दुरुस्त थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
