टी२० विश्वकप: नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

टी२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

काठमाडौँ– टी२० विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

इंग्ल्यान्डका लागि ज्याकब बेथल र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय इनिङ्स खेले। बेथलले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५५ रन बनाए भने ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडे। त्यस्तै, विल ज्याक्सले १८ बलमा ३९ रन बनाउँदा जोस बटलरले १७ बलमा २६ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लको नाममा १-१ विकेट रह्यो। अहिले नेपालले इंग्ल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै छ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन्।

त्यस्तै, इंग्ल्यान्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन्।

विश्वकपको समूह ‘सी’ मा रहेको नेपालको समूहमा इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्याण्ड रहेका छन्।