अमेरिकाको मायामीमा आयोजित विश्व म्याराथन च्यालेन्जको समापन समारोहमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरेका थिए।
काठमाडौँ– नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेन्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन्।
जोशीले विश्व म्याराथन च्यालेन्जअन्तर्गत सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन्। उनी सात महादेशमा सात दिन लगातार सञ्चालन भएको म्याराथनमा नेपाली पोसाकमा दौडिने पहिलो धावक बनेका छन्। उनको यो विश्व कीर्तिमान गिनिज बुकमा लेखिएको छ।
शुक्रबार अमेरिकाको मायामीमा आयोजित विश्व म्याराथन च्यालेन्जको समापन समारोहमा गिनिज बुक अफ वर्ल्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे। ३१ जनवरीमा अन्टार्कटिकाबाट शुरु भएको म्याराथन शुक्रबार अमेरिकाको मायामीमा सम्पन्न भएको हो। म्याराथन च्यालेन्जअन्तर्गत उनले सात महादेशमा सञ्चालित सात वटै म्याराथनको समापनमा नेपाली र अमेरिकी झन्डा फहराएका थिए।
सन् २०१५ देखि हरेक वर्ष सञ्चालन हुँदै आएको विश्व म्याराथन च्यालेन्ज चुनौतीपूर्ण मानिन्छ। सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ। उस म्याराथनमा जोशीसहित ३२ देशका ५६ धावक सहभागी थिए।

अन्टार्टिकाबाट शुरू भएको म्याराथन, अफ्रिकाको केप टाउन, अस्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको मड्रिड, ब्राजिल हुँदै सातौँ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो। सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन्। टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेसाले बैंकर्स हुन्।
उनले विश्व म्याराथन च्यालेन्जलाई छोटो अवधिमा नेपाली सम्पदाको प्रचार गर्ने अवसरका रूपमा सदुपयोग गरेको बताए। “यो चुनौतीपूर्ण म्याराथनलाई मातृभूमि नेपाल, नेपाली सम्पदा र संस्कृति चिनाउने अवसरका रूपमा लिएको थिएँ,” उनले भने, “आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि गरिएको प्रयास सफल हुँदा खुशी लागेको छ।”
जोशीले सात दिन, सात महादेशमा सञ्चालित सात वटा म्याराथनमा फरक फरक दौरा सुरुवाल लगाएका थिए। ती सबै दौरा सुरुवाल काठमाडौँ विश्व गौतमले तयार गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
