नेप्से परिसूचकमा २७ अंकको सुधार, साढे ११ अर्बमाथिको कारोबार

लगातार दुई दिन घटेको नेप्से परिसूचक बिहीबार २७ अङ्कले बढेर बन्द भएको छ भने कारोबार रकम पनि वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ माथि पुगेको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन २७.१९ अंकले बढ्दै २७०८.७० बिन्दुमा उक्लिएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ४.४७ अंक, फ्लोट इन्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७५ अंकले वृद्धि भएको छ। परिसूचकका साथै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। बुधबार सात अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ कम्पनीका तीन करोड ५५ लाख ७४ हजार कित्ता शेयर ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्।

बिहीबार तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। त्यस्तै, रिडी पावर र खानीखोला हाइड्रोपावरको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ। यता, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। राधी विद्युत् र एसवाई प्यानल पनि उच्च कारोबार गर्ने कम्पनीको सूचीमा परेका छन्।

१३ उपसमूहमध्ये बिहीबार १२ वटाको परिसूचक बढेको छ। अन्य र निर्जीवन बीमा उपसमूह सर्वाधिक १.९८ प्रतिशतले उकालो लागेका छन्। जलविद्युत्, लगानी र जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्। व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।