जंगलमा फिरन्ते भएर बस्नुभन्दा आफ्नै झुपडीको आँगनमा बीउ रोपेर त्यसलाई संरक्षण गर्नु सुरक्षित हुन्छ भन्ने यही स्त्री–चेतना नै वास्तवमा कृषिको शुरूआती विन्दु थियो।
हामीले सधैँ पढ्यौँ-पहिले पेट भरियो, अनि मात्र मानिसले देउता सम्झियो। तर टर्कीका १३ हजार वर्ष पुराना भग्नावशेषहरूले यो भाष्यलाई नै ‘सिरान-पुछार’ बनाइदिएका छन्। मानिसलाई एक ठाउँमा बाँध्ने कडी हलो होइन, आस्था थियो भन्ने तथ्य गोबेक्ली टेपे र बोनचुकलु तारलाका खोजहरूले प्रमाणित गरिदिएका छन्। यसलाई कतिपयले 'लोकप्रिय व्याख्या' भन्दै नकार्ने गरेका छन्। १३ हजार वर्ष पुरानो ढल निकास, सजावटी गहना र ‘पियर्सिङ’ सम्मको यो यात्रा, जहाँ सभ्यताको ‘कुखुरा’भन्दा पहिले ‘आस्थाको अण्डा’ जन्मिएको थियो।

कुखुरा, अण्डा र हाम्रो भ्रम
कुखुरा पहिले आयो कि अण्डा? यो प्रश्नसँग हामी धेरै जना चिरपरिचित छौँ। तर, हामी सबै जनाले उत्तरमा सरलता खोज्दा प्राय: गलत बुझिरहेका हुन्छौँ। धेरैलाई उत्तर सहज लाग्न सक्छ: कुखुरा, किनकि कुखुराबिना अण्डाको खोल नै बन्न सक्दैन। अण्डाको बाहिरी भाग बनाउन चाहिने प्रोटिन (जस्तै ओभोक्लेडिन-१७) पोथी कुखुराको शरीरमा मात्रै पाइन्छ भन्ने हामी धेरैलाई थाहा छ। यसैलाई आधार मानेर प्रायः यस्तो निष्कर्ष निकालिन्छ–कुखुराबिना अण्डा बन्न सम्भव छैन, त्यसैले कुखुरा नै पहिले आएको हुनुपर्छ।
हामीमा भ्रम यहीँनेर रहन्छ, निष्कर्ष सहज छ, तर अपुरो हुन्छ। यो प्रश्नलाई कुनै एक क्षण अकस्मात् भएको घटनाजस्तो बुझिन्छ, तर जीवहरूको विकासक्रम लामो समयसम्म निरन्तर चलिरहेको परिवर्तन प्रक्रियाको परिणामले भएको हुन्छ।
जीव विज्ञानले फरक तर्क देखाएको छ–अण्डा कुखुराभन्दा धेरै पुरानो संरचना हो। करिब ८०-९० मिलियन वर्ष पहिले डायनोसरकै बेला, अझ त्योभन्दा धेरै पहिले सरीसृप (रेप्टाइल) जीवहरूको विकास हुँदै गर्दा नै ती जीवहरूमा अण्डा बनाउने क्षमताको विकास भइसकेको थियो। यिनै सरीसृप जीवहरूमा भएको उद्विकास (इभोल्युसन) को हजारौँ पुस्तापछि कुखुराको नजिकका पुर्खाहरू बनेका थिए।
अतः कुखुरा कुनै दिन अचानक देखा परेको जीव होइन, कयौँ पुस्तामा बिस्तारै आएका परिवर्तनको समायोजन भएर बनेको एउटा विकास क्रमको प्राप्ति मात्रै हो, जसलाई हामीले कुखुरा भनेर नाम दिएका हौँ। जैविक विकास क्रममा कुनै पनि प्रजाति स्पष्ट रेखाले छुट्टिँदैनन्। परिवर्तन सानो-सानो हुन्छ, पछि मानव जातिले नाम दिन्छन्।
भाषाको विकास र जैविक निरन्तरता
यसलाई भाषाको इतिहाससँग तुलना गर्दा अझ स्पष्ट हुन्छ। ल्याटिन भाषा कुनै दिन अचानक इटालियन बनेको थिएन। पहिला मानिसहरूले आफ्ना आमाबुबाबाट इटालियन बोल्न सिकेका थिएनन्। उनीहरूले बिस्तारै परिवर्तन हुँदै आएको ल्याटिनकै एउटा रूप बोलेका थिए। ल्याटिन बिस्तारै बदलियो, स्वर फेरियो, व्याकरण परिमार्जन भयो, शब्दहरूले नयाँ रूप लिए र एक दिन हामीले त्यो भाषालाई ‘इटालियन’ भन्न थाल्यौँ। इटालियन बोल्ने पहिलो मानिसका आमाबुबा इटालियन थिएनन्, तर तिनका सन्तानलाई हामी आज इटालियन भन्छौँ। नाम नयाँ थियो, तर पुरानै प्रक्रियाको निरन्तरता।
कुखुराको कथा पनि त्यस्तै हो। अण्डाको खोल बनाउने जैविक विधि पहिलेदेखि नै थियो। दुई ‘लगभग-कुखुरा’बीच भएको एउटा सानो जैविक उत्परिवर्तन अण्डाभित्र भयो। आमाको शरीर ‘लगभग-कुखुरा’ भइसकेको थियो, अण्डा 'लगभग–कुखुराको अण्डा' भइसकेको थियो। अण्डाको खोल पुरानै थियो, विधि पुरानै थियो, तर भित्रको भ्रूणले त्यो सानो जैविक सीमा पार गर्यो, जसलाई पछि फर्केर हामीले ‘कुखुरा’ भन्न थाल्यौँ। यस अर्थमा, अण्डा केवल जैविक संरचना मात्र होइन; निरन्तरताको भाँडो हो यो, जहाँ नयाँ कुरा पुरानैभित्र जन्मिन्छ।
सभ्यताको बहस: खेती पहिले कि धर्म?
कुखुरा पहिले आयो कि अण्डा? सभ्यताको बहसमा पनि यही तर्क लागू हुन्छ। मानव सभ्यताको सुरुवाती विन्दुमा खेती पहिले आयो कि आस्था र धर्म? कुखुरा-अण्डाजस्तै यो प्रश्नले मानवशास्त्रीहरूलाई सधैँ सताइरहेको हुन्छ। हामी प्रायः खेती, धर्म, सहरजस्ता नाम र संस्थालाई सुरुवाती विन्दु मान्छौँ। तर, सभ्यता कुनै एकै क्षण अचानक भएको आविष्कार थिएन। सभ्यताको सुरुवात पनि अण्डा र कुखुराको कथाजस्तै पुराना अभ्यास, विश्वास र जीवनशैली भित्र बिस्तारै आकार लिँदै गएको क्रमिक प्रक्रियाले सुरु भएको हो।
मानव इतिहासका परम्परागत नक्साहरूले सभ्यताको सुरुवाती विन्दु टर्कीको टरस पर्वत, टिग्रिस र युफ्रेटिस नदी वरिपरिको उर्वर क्षेत्रलाई लामो समयसम्म मानेका थिए। आजको टर्की, सिरिया, इराक र इरानको केही भागमा अर्धचन्द्राकारझैँ फैलिएको ‘फर्टाइल क्रिसेन्ट’ भनिने यो क्षेत्रमा सुरुवाती मानव बस्तीहरू बसेका थिए भनेर मान्ने गरिएको थियो। तर, पछिल्ला उत्खननहरूले यो कथालाई टरस पर्वतको उत्तरतर्फ, अहिलेको टर्कीमा पर्ने दक्षिणी एनाटोलियातिर धकेल्दै लगेका छन्।
आजभन्दा करिब १३ हजार वर्षअघि, दक्षिण-पूर्वी एनाटोलियाका पहाडी भेगहरूमा मानिसहरू फिरन्ते सिकारी मात्र थिएनन्। उनीहरूलाई अब ‘जटिल संकलक’ भनेर चिन्न थालिएको छ। उनीहरू सिकार गर्थे, जङ्गली अन्न संकलन गर्थे र मौसमसँगै बसाइसराइ गरेता पनि एउटै क्षेत्रमा पटक-पटक फर्किने गर्थे। उर्वर क्रिसेन्टको उत्तरतिर पर्ने यही भू-भागमा हामीले करिब १३,००० वर्ष (इसा पूर्व ११,००० वर्ष) अघि, खेतीपातीको सबैभन्दा पुरानो प्रमाण भेटाउँछौँ।
खेतीको आविष्कार र स्त्री-चेतनाको भूमिका
आजभन्दा करिब १२,००० वर्षअघि, संसार हिमयुगबाट तंग्रिएर भर्खरै ‘होलोसिन’ युगको सुरुवातमा प्रवेश गर्दै थियो। हिमयुगको अन्त्यसँगै, पृथ्वीको तापक्रम बढ्न थाल्यो र बरफ पग्लिएर उत्तरी गोलार्द्धका अधिकांश जमिन पहिलो पटक खेतीयोग्य बनेका थिए। यसै क्रममा सिकारी र संकलक समुदायको बीचमा अड्किएका मानिसहरूले, विशेष गरी महिलाहरूले, एउटा नयाँ कुरा याद गरे: जङ्गली बीउहरू जहाँ खसेर जम्मा भएका हुन्थे, त्यहाँ अर्को वर्ष फेरि नयाँ बिरुवा पलाउने रहेछ।
इतिहासको सामान्य ज्ञानले भन्छ: खेतीपातीको सुरुवात एकै पटक भएको होइन। मानव इतिहासको सबैभन्दा ठुलो यो परिवर्तन, कुनै प्रयोगशाला वा आकस्मिक घटनाको कारण सुरु भएको होइन। हजारौँ वर्षको सूक्ष्म अवलोकन र धैर्यको परिणाम थियो यो, जसको श्रेय मुख्यतः महिलाहरूलाई जान्छ। जब पुरुषहरू सिकारका लागि टाढा पुग्थे, महिलाहरूले बस्ती वरपर कन्दमूल र जङ्गली दानाहरू संकलन गर्ने क्रममा वनस्पतिको जीवनचक्र नजिकबाट नियाल्न थाले। उनीहरूले नै पहिलो पटक भुईँमा खसेका बीउहरू र जैविक फोहोर (मल) मिसिएको ठाउँमा बिरुवा अझ सप्रिएर पलाउँछन् भन्ने बुझाइको विकास गरेका हुन्।
जङ्गलमा फिरन्ते भएर बस्नुभन्दा आफ्नै झुपडीको आँगनमा बीउ रोपेर त्यसलाई संरक्षण गर्नु सुरक्षित हुन्छ भन्ने यही स्त्री–चेतना नै वास्तवमा कृषिको सुरुवाती विन्दु थियो। सिकारी-संकलक समूहका महिलाहरूले हजारौँ वर्षसम्म जङ्गली गहुँका ‘राम्रा र नझर्ने’ बीउहरू छानेर जङ्गली गहुँलाई घरेलु गहुँमा रूपान्तरण गरेसँगै खेतीपातीको युगलाई सुरुवात गरेका थिए। टर्कीको काराजादाग हिमालको फेदीमा झन्डै १३,००० वर्षअघिको संसारको सबैभन्दा पुरानो गहुँको डीएनए अवशेष भेटिनुले पनि यसैलाई प्रमाणित गर्छ।
यसरी, भान्साको फोहोर फालिने ठाउँबाट सुरु भएको यो सानो प्रयोगले अन्ततः मानिसलाई ‘फिरन्ते’बाट ‘किसान’ बनायो। जब मानिसले बीउ र मलको सम्बन्ध बुझ्यो, त्यहीँबाट प्रकृतिको चक्रलाई आफ्नो नियन्त्रणमा लिने मानवीय साहस सुरु भयो। सभ्यताको कुखुरा यही अण्डाबाट कोरलिएर सुरु भएको थियो भन्ने यो बुझाइ पनि अपुरो छ।
गोबेक्ली टेपे: जब आस्थाले हलोलाई डोर्यायो
लामो समयसम्म इतिहासकारहरूले एउटा भाष्यमा विश्वास गरे–पहिले मानिसहरूले खेती गर्न सिके, त्यसपछि स्थायी घर बनाए। जब अन्नको भण्डार भरिएर फुर्सदिला भए, त्यसपछि मात्र उनीहरूले मन्दिर र धर्म बनाउन सके। अर्थात्, ‘पहिले पेट भरियो, अनि मात्र देउतालाई सम्झिन थालियो।’
तर, सन् १९९४ मा जर्मन पुरातत्त्वविद् क्लास स्मिटले दक्षिण-पूर्वी टर्कीको गोबेक्ली टेपेमा उत्खनन सुरु गरेपछि हाम्रो मानव विकास क्रमको यो भाष्य जरैदेखि हल्लिएको थियो। करिब १२,००० वर्ष पुरानो यो संरचना संसारको पहिलो मन्दिर मात्र होइन, बरु यो मानव चेतनाको पहिलो ‘थ्री-डी’ अभिव्यक्ति पनि थियो।
त्यहाँ गोलाकार आकारमा ठडिएका झन्डै दश टन ठूला, ‘टी’ आकारका विशाल चुनढुङ्गाका स्तम्भहरू निराकार ढुङ्गामात्र थिएनन्, यिनीहरू अनुहारविहीन मानवरूपी देवताहरू पनि थिए। तिनमा कुँदिएका हातहरू र ध्यानस्थ मुद्राले त्यो समयको मानिस प्रकृतिलाई प्रतीकका रूपमा पूजा गर्न सक्षम भइसकेको देखाउँछ। ती स्तम्भहरूमा बिच्छी, स्याल र सिंहहरू ढुङ्गाबाट बाहिरै निस्किएलान् झैँ गरी कुँदिएका छन्, जसले त्यो समयको मानिस प्रकृतिसँग डराउने मात्र होइन, प्रकृतिलाई बुझ्ने र त्यसलाई प्रतीकका रूपमा पूजा गर्ने क्षमता राख्थ्यो भनेर देखाउँछ।
गोबेक्ली टेपेमा भेटिएका विशाल संरचनाहरू बनाउन सयौँ, हजारौँ मानिस चाहिन्थे। ती सिकारीहरूलाई एकै ठाउँमा कसले ल्यायो वा के कारणले आए? गोबेक्ली टेपेले इतिहासको एउटा ठुलो रहस्य खोलिदिएको थियो: मानिसहरू पहिले धर्म वा आध्यात्मिक अनुष्ठानका लागि एक ठाउँमा भेला भए र त्यही भेलाले खेतीपातीको आवश्यकता सिर्जना गर्यो।
गोबेक्ली टेपे बन्दै गर्दा मानिसले खेतीपाती गर्न पूर्ण रूपमा सिकिसकेका थिएनन्। त्यसको वरिपरि उत्खनन गर्दा कुनै स्थायी घर वा खेतीपातीका औजार भेटिएका छैनन्। तर, हजारौँको संख्यामा मानिसहरू मन्दिर बनाउन र उत्सव मनाउन हप्तौँसम्म त्यहाँ बस्नुपर्दा उनीहरूलाई खुवाउन जङ्गली आहारमात्र पर्याप्त हुने कुरा भएन। फलस्वरूप, त्यही भीडलाई खुवाउने दबाबमा मानिसले पहिलो अन्नहरू-गहुँ, जौ-लाई क्रमशः घरेलुकरण गर्न सुरु गरे। गोबेक्ली टेपेले नयाँ तथ्य बाहिर हामीमाझ ल्याइदियो–मन्दिर बनाउने चाहनाले नै मानिसलाई किसान बनायो।
हामीले लामो समयसम्म मानव सभ्यताको कुखुरा ‘खेतीपाती’को अण्डाबाट जन्मिएको हो भनेर विश्वास गरिरहेका थियौँ। तर गोबेक्ली टेपेको खोजले एउटा अर्कै अण्डा देखाइदियो: आस्थाको अण्डा। मानिसलाई फिरन्तेबाट स्थिर समुदायमा स्थापित बनाउने काम हलोले होइन, बरु कुनै अदृश्य शक्तिप्रतिको साझा विश्वासले गरेको थियो। गोबेक्ली टेपे ती सिकारीहरूको मन्दिर थियो, जसले गहुँ छर्नुभन्दा धेरै पहिले नै ढुङ्गामा देउता कुँद्न जानेका थिए।
बोनचुकलु तारला: नागरिक जीवनको पहिलो जग
गोबेक्ली टेपेले इतिहासलाई ११,५०० वर्ष पछाडि धकेलेको थियो। तर, टर्कीकै मर्डिन प्रान्तमा सन् २००८ मा फेला परेको मानव बस्ती, बोनचुकलु तारलाले सभ्यताको सुरुवाती विन्दुलाई अझै प्राचीन समयसम्म पुर्याइदियो। यो स्थल गोबेक्ली टेपेभन्दा झन्डै १,००० वर्ष पुरानो अर्थात् करिब १३,००० वर्ष पुरानो मानिन्छ। गोबेक्ली मुख्य रूपमा एउटा अनुष्ठान केन्द्र वा मन्दिर मात्रै थियो भने बोनचुकलु तारला एउटा पूर्णकालीन ‘मानव बस्ती’ भइसकेको थियो।

गोबेक्ली टेपेमा नभएका स्थायी बसोबासका प्रमाणहरू बोनचुकलु तारलामा भेटिएका छन्। यहाँका मानिसहरूले गोलो आकारका घरहरू बनाउन सुरु गरिसकेका थिए, जसले ‘फिरन्ते’ जीवनबाट ‘स्थायी’ जीवनतर्फको परिवर्तनको सुरुवाती चरणलाई देखाउँछ। यहाँका मानिसहरूले गोबेक्ली टेपेमा जस्तै ‘टी’ आकारका खम्बाहरूको सुरुवाती प्रारूप बनाउन सुरु गरिसकेका थिए, जसले गोबेक्ली टेपेका भव्य संरचनाहरू रातारात बनेका नभई सयौँ वर्षको मानव मिहिनेतको उपज थियो भनेर देखाएको छ।
बोनचुकलु तारलामा व्यवस्थित आवास संरचनाहरू मात्र होइन, सबैभन्दा अचम्मको कुरा, त्यहाँ व्यवस्थित ‘ढल निकास प्रणाली’ भेटिनु हो। करिब १३,००० वर्षअघि नै मानिसले आफ्नो बस्ती स्वच्छ राख्न ढुङ्गाका नालाहरू बनाउनु कुनै सामान्य कुरा थिएन। यसले के देखाउँछ भने, ती पहाडी सिकारी-संकलकहरूले खेतीपातीको पूर्ण ज्ञान हुनुभन्दा धेरैअघि नै सामुदायिक स्वास्थ्य र स्थायी बसोबासको आधार तयार गर्न थालिसकेका थिए।
पहिचान र संस्कारको आदि-विन्दु
हामी अक्सर आदिम मानिसलाई केवल बाँच्नका लागि सङ्घर्ष गर्ने प्राणीको रूपमा बुझ्छौँ, तर बोनचुकलु तारलाका बासिन्दाहरू आफ्नो ‘स्व’ वा पहिचानप्रति निकै सजग थिए। बोनचुकलु तारलाको शाब्दिक अर्थ हुन्छ: ‘चुरा पोतेको खेत’ (फिल्ड अफ् बिड्स)। नाम अनुसार नै करिब तीस एकड क्षेत्रफलमा फैलिएको यो ठाउँमा एक लाखभन्दा बढी चुनढुङ्गा, ओब्सिडियन र हड्डीबाट बनेका सजावटी गहनाहरू भेटिएका छन्।
अझ रोचक कुरा, सन् २०२४ को पछिल्लो अनुसन्धानले त्यहाँका मानिसहरूले 'पियर्सिङ' अर्थात् शरीर छेड्ने संस्कार अभ्यास गर्थे भनेर देखाएको छ। समुदायमा बस्न सुरु गर्दा मानिसलाई केवल खाना र पानीको आवश्यकता मात्र परेन, उनीहरूलाई आफ्नो पहिचान र स्थायित्वको आवश्यकता पनि उत्तिकै थियो। यहाँ भेटिएका अस्थिपञ्जरहरूमा कान र तल्लो बङ्गारा नजिकै भेटिएका ढुङ्गाका गहनाहरूले शारीरिक परिमार्जनको पहिलो प्रमाण दिएका थिए। यी केवल कला मात्र थिएनन्; बरु उरुकका पहिलो राजाहरूले मुकुट लगाउनुभन्दा कयौँ हजार वर्ष पहिले नै मानिसले आफ्नो सामाजिक दर्जा र व्यक्तिगत अस्तित्वको संकेत दिन सुरु गरिसकेका थिए।
त्यस समयका मानिसमा केवल भगवानको पूजा गर्ने ‘आदर्श’मात्र थिएन, बरु सामूहिक रूपमा सफा र व्यवस्थित भएर बस्ने ‘सिद्धान्त’ पनि विकसित भइसकेको तथ्य बोनचुकलु तारलाले प्रमाणित गरिदियो। धेरै खाना भएर हामी एकै ठाउँमा बसेका होइनौँ; बरु मानव जीवन कस्तो हुनुपर्छ भन्ने एउटा नयाँ ‘आदर्श’को खोजीमा हामीले फिरन्ते जीवन त्यागेका हौँ। हामी ती पोतेहरूको नजिक हुन चाहन्थ्यौँ, घरको भुईँमुनि गाडिएका आफ्ना पुर्खाहरूको काखमा रहन चाहन्थ्यौँ र एउटा व्यवस्थित वातावरणको सुरक्षाभित्र बाँच्न चाहन्थ्यौँ।
बोनचुकलु तारलाको उत्खननले हामीलाई नयाँ यथार्थमा पुर्याएको छ: ढल बनाउने, गहना बुन्ने र सहरको योजना कोर्ने काम अन्नको भण्डार भरिएपछि फुर्सदमा गरिएको काम थिएन। यो त मानव जीवन कस्तो हुनुपर्छ भन्ने एउटा नयाँ ‘आदर्श’को खोजी थियो, जुन खेतीपाती सुरु गर्नभन्दा धेरै पहिले सुरु भइसकेको थियो। आदिम मानिसहरूलाई गोबेक्ली टेपेमा ‘आदर्श’ को खोजले पुर्याएको थियो भने त्योभन्दा धेरै पहिले नै ‘सिद्धान्त’को अण्डा बोनचुकलु तारलामा बनिसकेको थियो।
निष्कर्ष: सभ्यताको निरन्तर रूपान्तरण
यदि गोबेक्ली टेपे धर्मको ‘शून्य विन्दु’ हो भनेर मान्ने हो भने बोनचुकलु तारला नागरिक जीवनको ‘शून्य विन्दु’ थियो भनेर मान्न सकिन्छ। मानव सभ्यताको ‘शून्य बिन्दु’ हामीले सोचेजस्तो आकस्मिक विस्फोट भएको थिएन। यो त हाम्रो चेतनाको विस्तार बोनचुकलु तारलाबाट सुरु भएर गोबेक्ली टेपेमा झाँगिएको एउटा लामो र जटिल प्रक्रियाको परिणाम हो। जसरी ल्याटिनबाट इटालियन भाषा जन्मिन सयौँ पुस्ताको ‘भाषिक परिवर्तन’ आवश्यक थियो, त्यसरी नै हजारौँ वर्षको विकासक्रम, बोनचुकलु तारलाका चुराहरू, गोबेक्ली टेपेका ढुङ्गे देवताहरू र महिलाहरूले जोगाएका गहुँका दानाहरूले सभ्यताको साझा मञ्च तयार पारेका थिए।
मानव सभ्यता विकासको सुरुवाती विन्दुमा यसै कारण कृषि, आस्था र चेतना सबै जोडिएको छ। यस अर्थमा, हामीले खोजेको ‘कुखुरा’ (सभ्यता) वास्तवमा कुनै एउटा मात्र अण्डाबाट जन्मिएको होइन। यो त भोक र आस्था, व्यक्तिगत पहिचान र सामूहिक जिम्मेवारीको धेरै अण्डाहरूको एउटा अनन्त सम्झौताको परिणाम हो। आज हामीले लगाउने गहनामा ती १३ हजार वर्ष पुराना ‘पोते’हरूको झल्को छ र आधुनिक सहरको इन्जिनियरिङमा त्यो पहिलो ढलको पदचाप छ।
यस लेखको सुरुमा सोधेको प्रश्न ‘कुखुरा पहिले आयो कि अण्डा?’ को वास्तविक उत्तर सायद यही हो: ‘परिवर्तन’ नै पहिलो हो। नामहरू (खेती, धर्म, सहर) पछि आए, तर ती बन्नका लागि चाहिने मानवीय छटपटी र सपनाहरू पहिले नै अस्तित्वमा थिए। यसरी सभ्यताको कुखुरा जन्मिएको हो, जसको आँगनमा हामी आज उभिएका छौँ। हामी आज पनि त्यही परिवर्तनको एउटा कडी हौँ, जसको यात्रा एनाटोलियाका ती पहाडहरूबाट सुरु भएको थियो र अझै जारी छ।
(कोलम्बिया युनिभर्सिटीमा पोस्टडक्टरल इम्युनोलोजीमा रिसर्च गरिरहेका खतिवडा मानव इतिहास र संस्कृतिमा समेत चाख राख्छन्। उकालोमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
