टी२० विश्वकप अभ्यास खेल: यूएईमाथि नेपाल ७ विकेटले विजयी

आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको मद्दतले नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले पराजित गरेको छ।

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)माथि सात विकेटले विजयी भएको छ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेलिएको खेलमा यूएईले दिएको १४६ रनको लक्ष्यलाई नेपालले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट साझेदारीको मद्दतले नेपालले १८ बल बाँकी छँदै लक्ष्य भेटाएको हो।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय इनिङ खेले। आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतले ६१ रनको योगदान दिए। यस्तै, दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन पूरा गरे। बलिङतर्फ यूएईका मुहम्मद रोहिदले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका लागि सोएब खानले सर्वाधिक ३८ रन बनाए। हर्सिद कौशिकले ३५, आर्सन शर्माले २५, मोहमद जोएबले १९ र अलिशान सराफुलले १२ रन जोडे।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ।