दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सामान्य वृद्धि

नेप्से परिसूचक मंगलबार १२.५८ अंकले घटेर २,६८३.१५ बिन्दुमा कायम हुँदा आठ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ। यस दिन नेप्से १२.५८ अंकले घटेर २,६८३.१५ को बिन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.४५ अंक, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ। मंगलबारको कारोबारमा कुल ३२२ वटा धितोपत्र किनबेच हुँदा एक करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर कारोबार भएको छ। सोमबार आठ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल कारोबार रकम आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ। बजारमा जम्मा ९२ हजार ३३८ पटक कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये ६६ वटाको शेयर मूल्य बढ्दा १९० वटाको घट्यो भने तीन वटाको मूल्य स्थिर रह्यो। बजारमा गिरावट देखिए पनि केही कम्पनीको शेयर मूल्यमा भने उल्लेखनीय वृद्धि देखिएको छ। सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड अग्रस्थानमा रह्यो। यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एचएलआई लार्ज क्याप फन्डको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल अग्रस्थानमा रह्यो। यस कम्पनीको मात्र करिब ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, आँखुखोला जलविद्युत्को ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ। त्यस्तै, म्युचुअल फन्ड उपसमूहको १ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। वित्त उपसमूहको परिसूचक भने सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।