बालेनको क्रेजले रास्वपालाई मधेशमा नयाँ उचाइ दिन सक्छ, तर त्यो क्रेज मतमा रूपान्तरण हुन्छ कि हुँदैन, अन्ततः निर्वाचनपछिको अंकगणितले मात्र प्रमाणित गर्नेछ।
राजनीतिमा नारा प्रायः चुनाव जित्न र पार्टीको मार्केटिङका लागि प्रयोग गरिन्छ। तर कहिलेकाहीँ नारा नै समयको मनोविज्ञान बन्न पुग्छ। आज नेपालमा सुनिन थालेको ‘अबकी बार बालेन सरकार’ त्यही मनोविज्ञानको संकेत हो। यो कुनै औपचारिक सत्ता–दाबी होइन, बरु दशकौँयता दोहोरिँदै आएको नेतृत्वको असफलता, दलहरूको अकर्मण्यता, जन अपेक्षाको निरन्तर उपेक्षाप्रतिको मौन विद्रोह हो। उसो त त्यसको काउन्टरमा लगत्तै 'अबकी बार गगन सरकार' पनि थालिएको छ। प्रश्न बालेन प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने होइन; प्रश्न यो हो कि किन जनता किन ‘विकल्प’ खोज्न बाध्य भए?
छोटो अवधिकै विश्लेषण गर्ने हो भने २०६२/६३ सालको जनआन्दोलनपछि पुष्पकमल दाहाल प्रचण्ड, २०७२ सालको नाकाबन्दी र नेपालमा भारतीय हस्तक्षेपविरुद्ध ओलीको सशक्त प्रतिकारपछिको केपी शर्मा ओली र हाल २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले फेरि एक पटक 'नयाँ विकल्प' को रूपमा नयाँ अनुहारप्रति जनताको मोह देखिएको छ।
जनकपुरधामबाट रास्वपाले सुरु गरेको परिवर्तन उद्घोषण सभा कार्यक्रम स्थलमा सुनिएको नारा थियो 'अबकी बार -बालेन सरकार'। रास्वपाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर, मधेशी मूलका बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेलगत्तै मधेसमा 'अबकी बार बालेन सरकार'को नारा गुन्जिन थालेको हो। (यो फरक विषय हो कि काठमाडौँको मेयर हुनुअघि र भएपछि पनि कहिल्यै उनले आफूलाई मधेसीका रूपमा चिनाएनन्। आफ्नो मधेसको 'साह' बदलेर शासकीय 'शाह'को भ्रम सर्वसाधारणमा छरेको आरोप अहिलेसम्म छ उनलाई) सोही नारा मधेस केन्द्रित निर्वाचन क्षेत्रमा मात्र नभएर, विस्तारै-विस्तारै झापातिर सरेको देखिन्छ। माघ-६ गते मनोनयन दर्ताका लागि रास्वपाबाट झापा -५ मा बालेनले निर्वाचन कार्यालय जाँदा सो नारा गुन्जिएको थियो।
आजभन्दा ठ्याक्कै १२ वर्ष पहिले भारतमा यस्तै किसिमको नारा गुन्जिएको थियो। भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को लोकसभा चुनावी अभियान अघि 'अबकी बार मोदी सरकार' मुख्य नाराको रूपमा प्रस्तुत गरेको थियो। उक्त नारा त्यहाँ एकदमै लोकप्रिय भएको थियो। दशकौँदेखि सत्ता सम्हाल्दै आएको भारतीय राष्ट्रिय काँग्रेसप्रतिको जन असन्तोष, भ्रष्टाचारका ठूला काण्डहरू र नेतृत्वको संकटबीच यो नारा केवल चुनावी प्रचार मात्र नभई व्यवस्थाप्रतिको अस्वीकृति र वैकल्पिक नेतृत्वको खोजीको प्रतीक बनेको थियो।
अन्ततोगत्वा, भारतमा सन् २०१४, २०१९ र २०२५ गरी तीन पटक नरेन्द्र मोदी प्रधानमन्त्री पदमा निर्वाचित हुँदै हालसम्म पनि यथावत् नै छन्। भारतको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताहरूको सूचीमा चौथो स्थानमा पर्छन् नरेन्द्र मोदी। नेपाली राजनीतिमा स्थापित दल र नेताहरूप्रतिको गहिरिँदो निराशाबीच बालेनको नाम वैकल्पिक राजनीतिक सम्भावनाका रूपमा उछालिन थालेको छ। यो अवस्था भारतमा नरेन्द्र मोदी उदय हुनुअघि देखिएको जनमानससँग तुलना गर्न थालिएको छ। यद्यपि, रवि नेतृत्वको रास्वपाको दलको 'वरिष्ठ नेता' बालेनले राजनीतिलाई आफू अनुकूल कसरी बनाउलान्, भविष्यको गर्भमा छ त्यो।
बालेनले माघ -५ गते जनकपुरधाममा गरेको भाषणको अन्तिम वाक्य थियो "मधेसिया छौरा प्रधानमन्त्री बनतई, ओइके लागि घण्टी मे भोट देबँके नै हई, सही लोग आबे बाला हई,ओइके लागि घण्टी मे भोट देबे के हई" ("मधेशी छोरो देशको प्रधानमन्त्री बन्दै छ भनेर मात्र घण्टी छापमा भोट दिने होइन, सही समय र सही मान्छेहरू आउनेवाला छ त्यही भएर घण्टी छापमा भोट दिने हो।)
बालेनको उम्मेदवारीले मधेस राजनीतिमा पार्ने प्रभाव र रास्वपाले चलाएको 'मधेशपुत्र'को फ्याक्टरले आउँदो निर्वाचनमा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। उनको उम्मेदवारी झापा -५ बाट भए पनि महोत्तरी, धनुषा, सिराहालगायत मधेशका जिल्लामा रास्वपाका उम्मेदवारहरूले भने बालेनकै नारा बोकेर मत मागिरहेका छन्।
मधेसमा बालेनप्रतिको आकर्षणको एउटा कारण उनको ‘काम गरेर देखाउने’ कार्यशैली हो। अवैध संरचना भत्काउने अभियानदेखि प्रशासनिक कडाइसम्म उनले देखाएको सक्रियताले मधेसका धेरै युवालाई आकर्षित गरेको विश्लेषण गरिन्छ। यसैलाई आधार बनाएर रास्वपाले ‘मधेशपुत्र’ बालेन फ्याक्टर प्रयोग गर्न खोजेको देखिन्छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा ३२ प्रत्यक्ष सिट र करिब ३३ लाख समानुपातिक मत रहेको तथ्यांकले मधेसलाई राजनीतिक रूपमा निर्णायक बनाएको छ।
मधेसमा बालेन क्रेज
माघ ५ गते जनकपुरधामको तिरुहुतिया गाछीमा भएको परिवर्तन उद्घोषण सभाअघि बालेनप्रति मधेसमा टीकाटिप्पणी हुने गर्थ्यो। कारण, उनले आफूलाई मधेस र मधेसी शब्द सँग कहिले जोडेनन्। आफू मधेशी समुदायको हो भनेर कहिल्यै भनेनन्। काठमाडौँमा मधेशी समुदायमाथि नगर प्रहरीले गरेको क्रूर व्यवहारलाई जोडेर उनीमाथि टीकाटिप्पणी भयो। काठमाडौँ केन्द्रित राजनीतिको माहौल र अवस्थाले पनि बालेनले आफूलाई मधेसीका रूपमा परिचित नगराएको हुनसक्छ। तर जनकपुर आएर उनले मैथिलीमा नै भाषण गरे। मधेसको कुर्ता र धोती लगाए। त्यसपछि मधेसमा मात्र होइन, देशव्यापी रूपमा बालेनको चर्चा ह्वात्तै बढ्यो।
बालेनले जनकपुरधाममा भने "काठमाडौँ पशुपति घुम्न मात्र जाने हो। बाँकी सबै काम जनकपुरमै हुने गरी अधिकार सम्पन्न हुनुपर्छ।" प्रदेशलाई अझ बलियो बनाउने र आफूले जिते जनकपुरधामलाई पर्यटकीय दृष्टिकोणले विकास गर्ने रोडम्याप १० मिनेट भित्रकै भाषणमा बताए। यद्यपि, यसअघि सङ्घीयतालगायत मुद्दालाई बालेन र भर्खरै बालेन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई उति स्पष्ट पारेको थिएन।
चुनावी प्रचारकै दौरान झापामा रहेका बालेनले मंगलबार आफ्ना मतदाताहरूसँग कुराकानी गर्दै प्रदेशका मन्त्री र सांसदले खाने तलब कम रहेको बताउँदै प्रदेश संरचनाको प्रतिरक्षा गरेको देखियो। उनले मतदाताको एक जिज्ञासाको प्रतिउत्तरमा भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो। त्यो पनि एक भ्रम हो। मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन।’ नेताहरूले तलब खाएका कारण नभई भ्रष्टाचारका कारण देश कमजोर भएको भन्दै बालेनले मतदातालाई आश्वास्त पार्न खोजे।
बालेनको पछिल्ला अभिव्यक्तिले कमसेकम रास्वपाभित्र कमसेकम उनले संघियता स्विकारेको देखियो। मधेस प्रदेश स्वयं संघियताको मुख्य उदाहरण भएकाले पनि बालेन र उनको पार्टीले संघियता र प्रदेश संरचना स्विकार्ने कुराले अर्थ राख्छ। यसअघि रास्वपाले प्रदेश संरचनालाई सार्वजनिक रूपमा स्विकारेको थिएन।
लामो समययता मधेसमा पहाडे संस्कृति र केन्द्र सरकारलाई गाली गर्ने, अधिकारको नाममा भावना उद्वेलित गर्ने र अन्त्यमा सत्ताको बार्गेनिङ गर्ने खेल जमिरह्यो। नेपाल सद्भावना पार्टीदेखि मधेसी जनअधिकार फोरम हुँदै सिके राउतको जनमत पार्टीसम्मको नारा अलग भए पनि शैली अलग भएनन्। तर, सोमबार जनकपुरको ऐतिहासिक भूमिमा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाह नयाँ शैली र सन्देशका साथ उदाए। उनको सम्बोधनको शैलीले मधेसमा नयाँ नेताको प्रवेश मात्र गराएन मधेसमा वर्षौँदेखि चल्दै आएको ‘गालीको राजनीति’ लाई ‘कामको राजनीति’ले प्रतिस्थापन गर्ने संकेत पनि गर्यो।
२०६४ देखि २०७९ सम्म मधेसले धेरै राजनीतिक शक्तिलाई परीक्षण गर्यो। २०६४ मा नेकपा माओवादी, २०७४ मा संघीय समाजवादी फोरम र २०७९ मा जनमत पार्टी। यी पार्टीहरूलाई विश्वास गरेर भोट दिए पनि मधेसको आर्थिक,सामाजिक र शैक्षिक अवस्था अन्य प्रदेशको भन्दा एकदमै पछाडि छ ।
२०७९ कै निर्वाचनमा सिके राउतको जनमत पार्टीलाई नयाँ दलका रूपमा बलियो गरी उदय गराएकै हुन्। तर आन्तरिक खिचातानीले तीन वर्षमै जनमत पनि पुरानो दलकै श्रेणीमा पुग्यो। गत निर्वाचनमा मधेसमा रास्वपाले प्रयास नगरेको होइन। मनिष झाजस्ता नेपाली कांग्रेसमा खाइखेली राजनीतिमा भिजेका नेता रास्वपामा थिए नै। तर उनीहरूको कुनै प्रभाव परेन। तर यस पटक मधेशमा बालेन प्रवेशले मधेसमा रास्वपा नयाँ भइकन पनि बलियो शक्तिको रूपमा उपस्थित हुने संकेत गरेको छ।
प्रचण्ड र ओली राजनीतिक संघर्षबाट आए। तर उनीहरू पनि 'नयाँ आशा'को प्रतीक बनेर उदाएका हुन्। फरक यति हो कि बालेन प्रचण्ड र ओलीहरूको असफलता र अकर्मण्यतामा टेकेर, आफ्नो र्याप गीतसंगितमार्फत युवामाझ आशा जगाउँदै उदाएका हुन्। तर यस पटकको विशेषता के हो भने यो आशा मधेसजस्तो लामो समयदेखि राजनीतिक प्रयोगशाला बनाइँदै आएको भूगोलबाट पुनः मुखरित हुँदै देशव्यापी बहसको केन्द्रमा आइपुगेको छ।
मधेसमा बालेनप्रतिको आकर्षण केवल ‘मधेशीको पहिचान’मा सीमित छैन; उनको काममुखी शैली, सिधा भाषा र केन्द्र–प्रदेश सम्बन्धलाई पुनः परिभाषित गर्ने संकेतले वर्षौँदेखि नारामै अल्झिएको मधेसी राजनीतिमा वैकल्पिक सम्भावनाको ढोका खोलेको छ। यस अर्थमा, जनकपुरधामको सभामा गुन्जिएको नारा ‘अबकी बार बालेन सरकार’ झापाबाट मतका रूपमा बालेनलाई जिताएर मान्यता पाउँछ कि पाउँदैन, त्यो चासोको विषय बनेको छ। नारा र जनभावना मात्रले सत्ता स्थायी हुँदैन। नेपालमा बालेनको क्रेजले रास्वपालाई मधेशमा नयाँ उचाइ दिन सक्छ, तर त्यो क्रेज मतमा रूपान्तरण हुन्छ कि हुँदैन, अन्ततः निर्वाचनपछिको अंकगणितले मात्र प्रमाणित गर्नेछ।
(उकालोमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
