पूर्वनिर्वाचन आयुक्त भन्छन्- दलहरूले मतदाताको स्वतन्त्र विवेकमाथि अंकुश लगाउने काम गरे

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीनिक दलहरूले गठबन्धन गरेर मतदाताको 'स्वतन्त्र विवेक'माथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।

काठमाडौँ- पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीनिक दलहरूले मतदाताको 'स्वतन्त्र विवेक'माथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्। उनीहरूले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदातालाई 'बाध्यात्मक स्थिति' सिर्जना गरेर मतदान गराउँदा बहुदलीय व्यवस्था बलियो हुन नसक्ने तर्क गरे।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले दलहरूले गठबन्धन गरेर मतदाताको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाए। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिमा गठबन्धन स्वभाविक भए पनि मतदानअघिको गठबन्धनले भने मतदातलाई अफ्ठ्यारोमा पार्ने बताए।

दलहरूले उम्मेदवारीमा महिला, दलित, जनजाति, अल्पसंख्यकलगायतको सहभागीलाई कम गराएर सो समुदायप्रति अन्याय गरेको उनको भनाइ छ।

"जनजातिको प्रतिनिधित्व पनि उचित तरिकाले भएन भन्नेछ। मतदाताहरूले स्वतन्त्र विकेक प्रयोग गर्नमा पनि अंकुश अहिलेको गठबन्धन, गठबन्धनलाई मैले गाली गरेको होइन। गठबन्धन त हुन सक्छन् राजनीतिमा" उनले भने, "तर, मतदान पहिलेको गठबन्धनले गर्दा उम्मेदवारीले मतदातालाई पनि अफ्ठ्यारो पारेको छ।"

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दलहरूले गठबन्धन गर्दा मतदाताको विवेकमा समेत प्रभाव पारेको भन्दै निर्वाचन प्रणाली, विधि र प्रविधिमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। मतदातालाई बाध्यात्मक स्थिति सिर्जना गरेर मतदान गराउँदैमा बहुदलीय व्यवस्था बलियो हुन नसक्ने उनको भनाइ छ।

"निर्वाचन प्रणाली, प्रक्रिया, विधि, प्रविधिमा सुधार गर्नुपर्ने आवश्यकता छ," उनले भने, "साथसाथै दलको, दलका सदस्यको अनुशासन, मतदाताको जानकारी र व्यवस्थापकले आधुनिकीरण गर्दै लिएर जानुपर्ने र यसलाई सुधार गर्दै लानुपर्ने विषयमा विशेष ख्याल गर्नुपर्ने आवश्यकता मैले ठान्दछु।"

उनले आयोगले जारी गरेको आचारसंहिता उपयुक्त भए पनि कार्यान्वयनको पक्ष भने कमजोर रहेको बताए।