गगनका आन्तरिक र बाह्य चुनौती

पार्टीको उच्च नेतृत्व कार्यकर्ताका लागि रोल मोडल भए भने सुधारको आधा काम त त्यसैले गर्छ। नेतृत्वलाई हेरेर पनि कार्यकर्ता सुध्रिन्छन्, रूपान्तरित हुन्छन्। र, अहिले त्यो अनुकूलता छ, जुन पहिले थिएन।

ठुलो प्रयास र संघर्षपछि गत पुसमा विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिए पनि गगन कुमार थापा र उनको टिमका लागि आउने थप चुनौतीहरूको कुनै कमी छैन। मूलतः आसन्न संसदीय आम चुनाव र आगामी पन्ध्रौँ महाधिवेशनका क्रममा पार्टी भित्रैबाट आउने र पार्टी बाहिरबाट आउने अल्प र मध्यकालीन प्रकृतिका ती चुनौतीको क्रमिक सम्बोधन हुँदै गएन भने तिनले कांग्रेसका लागि थप गम्भीर र दीर्घकालीन समस्याहरू जन्माउन सक्नेछन्। 

पार्टी सञ्चालनका चुनौती
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित हुनासाथ उनले सर्वप्रथम कांग्रेस पार्टी अब परिवारवादबाट मुक्त भएको उद्घोष गरे। आफूले कहिल्यै गुट नबनाउने सन्देश प्रवाह गरे। त्यसो किन पनि आवश्यक थियो भने, देशको सबभन्दा पुरानो र विशाल पार्टी हाँक्न चाहिने क्षमता, योग्यता र योगदान खासै नभएकालाई पनि ठुला नेताका घरानाको विरासत भन्दै पार्टी सत्ता र राज्यसत्तामा महत्त्वपूर्ण हिस्सा चाहिने रोग कांग्रेसमा व्याप्त थियो। गगन र उनको टिममा कोही पनि त्यसरी पारिवारिक विरासतको आधारमा आएका नेता नहुँदा उनीहरूलाई पार्टीको सबलीकरणको लागि आवश्यक रहेको यो निर्णय लिन र लागु गराउन खासै चुनौतीपूर्ण नहोला।

सभापतिमा निर्विरोध निर्वाचित भएपछि गगनले पार्टी सुधारको अर्को पनि उद्घोष गरेका थिए–अब पार्टी गुटबन्दीको राजनीतिबाट मुक्त भयो, पार्टीमा अब गुट छैनन्। योभन्दा पूर्व संस्थापन र इतर भनिने मूलतः दुई समूहमा अनौपचारिक रूपमा विभाजित उनीहरूबीच हरेक नियुक्तिदेखि निर्वाचनका टिकटमा ६० र ४० प्रतिशतको हिसाबले भाग लगाइने गरेको अभ्यासतिर लक्षित गर्दै उनले ६०ः४० भन्ने कुरा अब सिद्धियो भनेका थिए। तर यो काम अत्यन्तै चुनौतीपूर्ण छ। उनले वा उनको टिमले चाहेर मात्र यो काम सम्पन्न हुन धेरै नै गाह्रो छ, कमसेकम निकट भविष्यमा।

उदाहरणका लागि, भर्खर केही दिन अगाडि मात्र विशेष महाधिवेशनद्वारा नेतृत्वबाट विस्थापित देउवा समूहले उक्त समूहको छुट्टै भेला गर्ने समाचार आएको थियो। सम्भवतः गुटबन्दीको प्रत्यक्ष प्रमाण हुने त्यस्तो भेलाको आयोजना प्रत्युत्पादक हुन्छ भन्ने रिपोर्ट भेला आयोजकहरूलाई चारैतिरबाट प्राप्त भएपछि होला, तीन दिनपछि त्यो समाचारको खण्डन आयो। देउवा समूहले निर्वाचन आयोग र सर्वोच्च अदालत समेत गुहारेर नेतृत्व हस्तान्तरण गर्नै नचाहेको असहज अवस्थामा सम्पन्न भएको थियो विशेष महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको कार्य। त्यसपछि नयाँ नेतृत्वको विरोधमा रहेको सो अघोषित गुटले पार्टी मुख्यालयमा प्रवेशमा नयाँ नेतृत्वलाई बाधा पुर्‍याएर तथा औपचारिक कार्यक्रमसमेत बहिष्कार गरेर आफूहरू मुठभेडको तयारीमा रहेको स्पष्ट संकेत दिइसकेको छ।

बदलिएको राजनीतिक चुनौती
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको राजनीतिको परिदृश्य पूरै फेरिएको जगजाहेर छ। अब पुरानै शैलीको नीति, कार्यशैली र नेतृत्वले पार्टी चल्न सक्दैन। पार्टी सबल र सान्दर्भिक भइरहने हो भने पार्टीमा नवीन नेतृत्व र नीति आउनै पर्छ भनेरै विशेष अधिवेशनको वैधानिक विद्रोह गरेका हुन् गगन र विश्वप्रकाशहरूको टिमले। वर्षौँदेखि पार्टीमा एकलौटी हालीमुहाली चलाइरहेका, तर आफू नसच्चिने, नसुध्रिने र समयको पदचापदेखि बेखबर जीर्णहरूको नेतृत्व मण्डलीलाई यो कुरा मन पर्ने कुरै थिएन।

उनीहरूले विशेष महाधिवेशन बोलाउने पार्टीका महामन्त्री द्वय गगन-विश्वप्रकाश लगायत नेताहरूलाई पार्टीबाट निष्कासनको कारबाही गरे। तर अनेक बाधा अवरोध झेलेरै भए पनि देशभरबाट आएका झन्डै दुई तिहाइ विशेष महाधिवेशन प्रतिनिधिहरूले गगन-विश्वहरूलाई पार्टी नेतृत्वमा पुर्‍याएरै छाडे। जुन घटनाक्रमलाई देउवा पक्षले समयको माग वा पार्टी पङ्क्ति र शुभेच्छुकहरूमा रहेको परिवर्तनको चाहनाका रूपमा बुझ्न सकेको, चाहेको छैन। पार्टी सत्तामा एकलौटी गरेर राज्यसत्ताको सुख समेत भोग गरिरहेका र वरिष्ठ भएको अहम् ग्रन्थिले ग्रस्त उनीहरू नेतृत्व परिवर्तनलाई अस्ति भर्खरका केटाहरूले बलात् पार्टी कब्जा गरेको अर्थमा बुझ्छन्, बुझाउँछन्। आफूले भोग गरी आएका शक्ति र साधन अब गुम्ने भो भन्ने छटपटीले प्रतिशोधका निमित्त आतुर रहेका उनीहरू त्यस्तो कब्जा आफ्नो गुटलाई स्वीकार्य छैन भनिरहेका छन्।

अर्कातिर, पार्टी सभापतिको आकांक्षा राखेर साबिकदेखि छुट्टै गुट चलाइरहेका र यस पाला आफू दुवै पक्षका बीच 'मध्यमार्गी'को भूमिका खेलिरहेको बताउने नेता शेखर कोइराला पनि हाल गगन टिमका विरोधीका रूपमा आफ्नो समूह चलाइरहेका छन्। यस्तो स्थितिमा पार्टीलाई गुटबन्दीबाट पूरै मुक्त राख्दै एक ढिक्का बनाउन गगन र उनको टिमले ठुलै मेहनत गर्नुपर्नेछ, सुझबुझका साथ काम गर्नु पर्नेछ। देउवा-शेखर दुवै समूहले आगामी नियमित, अर्थात् पन्ध्रौँ महाधिवेशनमा गगन नेतृत्वलाई उल्ट्याउन खोज्ने चुनौती त छँदै छ। त्यसो गर्न नसकेका खण्डमा पनि त्यसपछि पार्टी सञ्चालनका क्रममा विभिन्न किसिमबाट असहयोग गर्ने, नवीन नीति निर्माणमा अत्तो थाप्ने, हरेक नियुक्ति र टिकट वितरणमा भागबन्डा खोज्ने बलियो सम्भावना छ। यसो भएमा पार्टी सुधारका कुराहरू छिटोछरितो नहुने स्थिति हुनेछ र उनीहरूले चाहेजस्तै गरी पार्टी पङ्क्तिदेखि शुभेच्छुकसम्म 'नयाँ नेतृत्वले पनि खै केही गर्न सकेन' भन्ने निराशा उत्पन्न हुने जोखिम छ।

समाधान के त?
यो समस्याको समाधान के त? सर्वप्रथम त, गगन र उनको टिमले ठुलो छाती राखेर सबैलाई समेटेर जानै पर्छ, अर्को उपाय छैन। विशेष महाधिवेशनको क्रममा सिर्जना भएका तिक्तता बिर्सनु पर्छ; नेताले मात्र बिर्सने होइन, तल्लो तहका कार्यकर्तालाई पनि बिर्सन प्रेरित गर्नुपर्छ। उनीहरूले देउवा र शेखर समूहका सबै बाधा विरोधलाई हारको र सत्ता–शक्ति गुमाउनु परेको पीडाका रूपमा बुझ्नु पर्छ। जुन केही समय रहन्छ रहन्छ। उनीहरूको वास्ता नगरे पनि हुने सानातिना असहयोगलाई वास्ता नगरी, कुनै जबाफी उत्तेजना नदेखाई, संगठन सुधार र सुदृढीकरणको काम खुरुखुरु गर्दै जानुपर्दछ। साथै, बखत बखतमा आफ्नो स्थिति पार्टी पङ्क्तिमाझ स्पष्ट पारिरहनु पर्छ। साथै, उनीहरूका जायज माग पूरा गर्दै र मनासिब सुझावलाई ग्रहण गर्दै पनि जानुपर्छ। त्यसो गरे केही समयपछि दुईचार ठुला तर कोठे नेताबाहेक अधिकांश नेताकार्यकर्ताले आफैँ ती गुट छाड्ने छन्।  

पार्टी आयव्ययको सञ्चालनका चुनौती
हामीकहाँ राजनीतिक दलका चुनाव खर्चदेखि आयव्ययसम्म पारदर्शी छैनन्। निर्वाचन आयोगमा बुझाइने वा सार्वजनिक गरिने विवरणहरू औपचारिकतामा सीमित छन्। र, ती विश्वसनीय हुन्नन् भन्ने व्यापक जनगुनासो छ। प्रत्येक जसो पार्टीमा आयव्ययको सञ्चालन संस्थागत वा सामूहिक कार्य प्रणालीका आधारमा भन्दा पनि या त प्रमुख नेता एक्लैको तजबिजबाट चल्छ, या उनका अति विश्वासपात्र केहीले गर्छन् भन्ने व्यापक जनविश्वास छ। लेबीजस्ता पारदर्शी र खुद्रे आयको खटनपटन संस्थागत प्रबन्धबाट भए पनि ठुलठुला चन्दाको आम्दानी र खर्चबर्च दुवै सर्वोच्च नेताको तजबिजबाट चल्छ भन्ने आशंका जनजनमा व्याप्त छ।

सत्तामा बारम्बार गएका दलहरूकै यस्तो अभ्यासको दुष्प्रभावबाट राज्य सञ्चालनमा पनि भ्रष्टाचारले प्रोत्साहन पाएको छ। कांग्रेस पनि यसमा दोषमुक्त रहेन। यसमा सुधार गर्न अति आवश्यक र सामयिक छ। असल नियतले गर्ने हो भने नयाँ नेतृत्वका लागि अधिकतम पार्टी हितमा हुने गरी आयव्ययको खटनपटन कसरी गर्ने भन्ने कुरा कुनै गाह्रो काम होइन। सभापतिकै अध्यक्षतामा अत्यन्त विश्वासपात्रहरूको सानो टिम बनाएर त्यही टिमको सामूहिक खटनपटनबाट मात्र खर्च गर्ने प्रणाली लागु गरे मात्र पनि पार्टीमा ठुलो सुधार हुने थियो। र अनि, सबभन्दा पहिले अहिलेको ढुकुटीको साँचो नयाँ नेतृत्वले आफ्नो नियन्त्रणमा लिइहाल्नुपर्छ।

पार्टीको रूपान्तरणका चुनौती
पार्टीमा बाहिरबाट छड्के प्रवेश गराई विज्ञहरूलाई ल्याउने अर्थात् 'ल्याटरल इन्ट्री'का कुरा पनि गगनहरूले गरेका छन्। जुन राम्रो सुधारको कदम त हो, तर त्यो काम पनि नेता कार्यकर्ता पंक्तिमा असन्तोष उत्पन्न नहुने गरी गर्ने कुराको चुनौती छ। 'मास बेस्ड' पार्टी भनेको चाहिँ कार्यकर्तामा आधारित पार्टीजस्तो कार्यकर्ता सधैँ सक्रिय भइरहने पार्टी होइन, नाम क्रियाशील सदस्य भए पनि ती सदस्य चुनावका बेला मात्रै साँच्चै क्रियाशील भए पुग्छ भन्ने गलत सोचाइ पार्टी पंक्तिमा व्याप्त छ। बाह्रैमास संगठन जीवन्त र कार्यकर्ता सक्रिय भइरहने, जनतासँग निरन्तर जोडिइरहने पार्टी नै चुनाव जित्नदेखि समयको पदचाप सुन्न, बुझ्न सफल हुन्छ; मास बेस्ड भए पनि, कार्यकर्ता आधारित भए पनि।

अत्यन्त चुनौतीपूर्ण रहेको पार्टी रूपान्तरणको त्यो भगीरथ कार्यमा गगन-विश्वहरू कति सफल हुन्छन्, त्यो हेर्नु छ। सत्ता बाहिर बस्नु परे त राजनीतिक अवसान नै हुन्छ कि भन्ने मनोविज्ञान बोकेका र सत्तामा गएपछि भ्रष्ट भइहाल्ने प्रवृत्ति भएका नेता कार्यकर्ता पनि पार्टीमा थुप्रै छन्। उनीहरूलाई सत्तामा नहुँदा पनि दक्ष, प्रशिक्षित, समर्पित र चलायमान भइरहने बनाउन पार्टी नेतृत्वले ठुलै कसरत गर्नु पर्नेछ। नत्र हाल 'पुस्तान्तरण' भएको भनिएको पार्टीको 'रूपान्तरण' पुस्तान्तरणमै मात्र सीमित हुनेछ। तैपनि राम्रो कुराचाहिँ के छ भने रूपान्तरण हुन अहिले समय अनुकूल छ। किनकि, पार्टीको उच्च नेतृत्व कार्यकर्ताका लागि रोल मोडल हुने खालका भए भने पार्टी सुधारको आधा काम त त्यसैले गर्छ। नेतृत्वलाई हेरेर पनि कार्यकर्ता सुध्रिन्छन्, रूपान्तरित हुन्छन्। र, अहिले त्यो अनुकूलता छ, जुन पहिले थिएन।

अन्त्यमा, बाह्य चुनौती
बाह्य चुनौतीतर्फ सबभन्दा ठुलो चुनौती भनेको प्रमुख प्रतिस्पर्धी दलहरूबाट आउने नयाँ नेतृत्व वर्ग लक्षित प्रहार हो। जुन प्रहारको उद्देश्य उनीहरूलाई बदनाम गरी असफल तुल्याउनु हुनेछ। यस्तो प्रहार गगन र विश्वहरू हाल पार्टी नेतृत्वमा आउनुभन्दा धेरै अगाडिदेखि नै भइरहेको पनि हो। चौधौँ महाधिवेशनबाट महामन्त्री चुनिनु भन्दा पनि अघिदेखि कांग्रेसका अरू नेतागण भन्दा धेरै गुणा बढी विरोध, आलोचना र हिलो छ्यापिने (स्मीयर क्याम्पेन)का निशाना थिए गगन-विश्व दुवै। पहिले नेकपा एमाले र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकदेखि ट्रोलसम्मका सामाजिक सञ्जालका स्ट्याटस र ती दलका नेताकार्यकर्ताका सार्वजनिक अभिव्यक्ति अध्ययन गर्ने हो भने उनीहरू गगन-विश्वहरूप्रति कांग्रेसका अरू नेताभन्दा बढी नै आक्रामक रहेको बुझ्न गाह्रो छैन। 

लोकतन्त्र परिपक्व नभइसकेको र लोकतान्त्रिक संस्कार शैशव अवस्थामै रहेको हाम्रोजस्तो कमजोर लोकतन्त्रमा यस्तो प्रहार अनपेक्षित पनि होइन। आफ्नो प्रमुख प्रतिस्पर्धी दलको नेतृत्व वर्ग सक्षम पर्‍यो भने चुनावी र राजनीतिक प्रतिस्पर्धा कठिन हुन्छ भनेरै गगन–विश्वहरूको विरोध गर्नु उनीहरूका हकमा एक किसिमले स्वाभाविक पनि हो। कांग्रेसमा कमजोर र सम्झौता परस्त नेतृत्व मण्डली नै भइदिए हामीलाई सजिलो हुन्थ्यो भन्ने प्रतिस्पर्धी दलका नेता, कार्यकर्ता, समर्थक पङ्क्तिको सोच र व्यवहार रणनीतिक पनि हो। त्यसैले यस्ता चुनौतीको सामना गर्न गगन-विश्वको टिम तयार नै रहनु पर्छ। 

हो, तर यदि पार्टी भित्रैबाट जन्मिएको गुटले उनीहरूसँग होमा हो मिलाउन थाल्यो भने चाहिँ त्यो चुनौती कांग्रेसका लागि गम्भीर हुन सक्नेछ। आवश्यक परे उनीहरूले त्यसमा कारबाही पनि गर्नुपर्छ। माथि उल्लेखित बाह्य चुनौतीहरूको सामना गर्न गगन-विश्व नेतृत्वको कांग्रेसले आफ्ना कार्यकर्ताहरूलाई वैचारिक प्रशिक्षण दिनु पर्नेछ; पहिलेजस्तो अकर्मण्य वा बेखबर, बिन्दास भई बस्ने छुट दिनु हुँदैन। र, उनीहरूलगायत पार्टीका शुभेच्छुक, शुभचिन्तकहरूलाई परिचालन गर्ने, आफ्ना डिजिटल प्लेटफार्महरूलाई क्रियाशील बनाउने काम पनि गर्नुपर्छ। साथै, आफ्ना कामकारबाहीमा पनि सुधार ल्याई तिनलाई खोटरहित र यथाशक्य पारदर्शी बनाउनु पर्छ। आमजनता, मिडिया र पार्टीका शुभेच्छुक, शुभचिन्तकहरूबाट आउने जायज खबरदारीलाई ग्रहण र सम्मान गर्दै तदनुरूप सुधार गर्नुपर्छ। जुन काम नगरेकै कारण कांग्रेसलगायत प्रमुख दलहरूले धेरै नै हानि बेहोरी सकेका छन्।

(उकालोमा छापिएका सामग्री लेखकका निजी हुन्।)