निर्वाचन प्रयोजनार्थ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राष्ट्र बैंकले उम्मेदवार तथा राजनीतिक दलहरूका लागि चुनावी खर्च प्रयोजनार्थ छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै चुनावी अभियानको आम्दानी र खर्च व्यवस्थापनका लागि छुट्टै खाता खोल्ने व्यवस्था मिलाउन इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो। 

चुनावमा हुने चन्दा संकलन र खर्चलाई पारदर्शी बनाउन, साथै सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने वातावरण निर्माण गर्न निर्वाचन आयोगले छुट्टै खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई आग्रह गरेको थियो।

अब निर्वाचनमा सहभागी हुने प्रत्येक राजनीतिक दल, समानुपातिकसहितका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्चका लागि नेपाली मुद्रामा एउटा छुट्टै बैंक खाता खोल्न पाउनेछन्। निर्वाचन आयोगको सिफारिसमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूको समन्वयमा बैंक खाता सञ्चालनमा ल्याइने छ।

केन्द्रीय कार्यालय बालुवाटारबाट जारी निर्देशनमा एकीकृत निर्देशन, २०८२ को ‘प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने’ विद्यमान प्रावधानलाई यस प्रयोजनका लागि खुकुलो बनाइएको उल्लेख छ। निर्वाचन प्रयोजनका लागि खोलिएका बैंक खाताहरू निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ।