दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

चिनियाँ नयाँ वर्षको अवसरमा आगामी जनवरी ३१ मा दशरथ रंगशालामा नेपालको राष्ट्रिय यू२० महिला फुटबल टोली र चीनको युनान युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ।

काठमाडौँ– आगामी जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू२० महिला फुटबल टोली र चीनको युनान युथ महिला टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा उक्त खेल हुन लागेको जानकारी दिइयो। खेल सम्पन्न गर्न नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्ले समन्वय गरेका छन्।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको यस खेलले नेपाली यू२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। साथै, यस्ता मैत्रीपूर्ण खेलले खेलाडीहरूलाई प्रतिस्पर्धी वातावरण प्रदान गर्नुका साथै नेपाली महिला फुटबलको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिइएको छ।
खेलअघि नेपाल र चीनको सांस्कृतिक विविधता झल्काउने विभिन्न प्रस्तुतिहरूसमेत देखाइने कार्यक्रम छ। उक्त खेलका लागि चिनियाँ टोली जनवरी २९ मा नेपाल आइपुग्ने छ। एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गर्दै आइरहेको छ।
हाल नेपाली टोली मुख्य प्रशिक्षक यामप्रसाद गुरुङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ।